काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) लिमिटेडले आगामी ६ महिनाभित्र फाइभजी परीक्षण गर्ने तयारी गरेको छ । दुई साताअघि फाइभजी परीक्षणका लागि अनुमति पाएको टेलिकमले यसका लागि प्राविधिक प्रक्रिया सुरु गरेको छ ।

 

टेलिकम स्रोतका अनुसार हालै भेन्डरसँगको छलफलपछि ६ महिनाभित्र परीक्षण सुरुवात गर्ने गरी कार्ययोजना बनाइएको छ । याे अवधिमा आवश्यक हार्डवेयर/सफ्टवेयर आयात तथा जडानको काम सकी परीक्षण प्रारम्भ गर्ने कम्पनीकाे याेजना छ ।

परीक्षण अवधिमा प्रयोगकर्ताबाट कुनै शुल्क असुल गर्न नपाउने प्रावधान राखिएको छ । यसरी परीक्षणका लागि उपलब्ध गराइएको फ्रिक्वेन्सी परीक्षणको अवधि समाप्त भएसँगै फिर्ता हुने ‘फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८’ मा उल्लेख छ ।

 

फाइभजी परीक्षणका लागि प्राधिकरणले टेलिकमलाई २६०० मेगाहर्ज ब्याण्डमा ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ ।

 

यसअघि टेलिकमले फाइजभी परीक्षणका लागि सरकारसँग २६०० मेगाहर्ज ब्याण्डमा सय मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराउन माग गरेको थियो ।

 

साथै ८०० मेगाहर्ज ब्याण्डमा समेत फाइभजी परीक्षणका लागि स्वीकृति प्रदान गर्न आग्रह गरिएको थियो । तर, प्राधिकरण बोर्डले भने ६० मेगाहर्ज फ्रिक्वेन्सी मात्रै उपलब्ध गराउने निर्णय गरेको छ ।

हाल आफूसँग उपलब्ध रहेको अन्य कुनै पनि फ्रिक्वेन्सीबाट समेत टेलिकमले फाइभजी परीक्षणका लागि प्राधिकरणसँग समन्वय गर्नुपर्ने निर्णय भएको छ ।

यसको अर्थ टेलिकमले आफूसँग रहेको ८०० मेगाहर्ज ब्याण्डमा आधारित भएर फाइभजी परीक्षण गर्न चाहेको खण्डमा प्राधिकरणसँग समन्वय गरेर प्रयोगमा ल्याउन सक्नेछ ।

 

साथै यसरी परीक्षणका लागि उपलब्ध गराएको फ्रिक्वेन्सी परीक्षण अवधि पश्चात प्राधिकरणलाई नै फिर्ता गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

कार्यविधि अनुसार सेवाप्रदायकले पहिलो चरणमा नयाँ प्रविधिको परीक्षण गरिने स्थान, परीक्षणका लागि आवश्यक फ्रिक्वेन्सी, नेटवर्क जडान र सञ्चालनको समय तालिका सहितको मोडालिटी प्राधिकरणमा पेस गर्नु पर्नेछ ।

साथै त्यस्तो नयाँ प्रविधिको परीक्षण गर्दा ग्रामीण र सहरी दुवै क्षेत्रलाई समेट्नुपर्ने प्रावधान राखिएको छ ।

https://www.techpana.com/2021/110446/