काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आईपीएसमार्फत् विभिन्न किसिमका भुक्तानी कारोबार गर्न सकिन्छ । गत आर्थिक वर्षमा मात्रै यस प्रणालीबाट १४ खर्ब आठ अर्ब ४ करोड ८० लाख रुपैयाँको कारोबार भएको थियो ।

 

यसपछि पनि हरेक महिना कनेक्ट आईपीएसबाट हुने कारोबार संख्या र रकम बढेको देखिन्छ । यसैबीच एनसीएचएलले कनेक्ट आईपीएसको कारोबार शुल्क घटाएको छ ।

नयाँ कारोबार शुल्कअनुरुप बैंक/वित्तीय संस्था तथा भुक्तानी सेवाप्रदायकका ग्राहकले अब कारोबार रकमबमोजिम दुईदेखि आठ रुपैयाँसम्मको प्रतिकारोबार शुल्कमा भुक्तानी गर्न सक्नेछन् ।

 

रु. ५०० सम्मको भुक्तानीमा प्रतिकारोबार शुल्क दुई रुपैयाँ, रु. ५०० भन्दामाथि रु. ५,००० सम्म प्रतिकारोबार शुल्क चार रूपैयाँ र रु. ५,००० भन्दामाथिको भुक्तानी रकममा कारोबार शुल्क आठ रुपैयाँ लागू हुने भएको छ ।

 

यसले ग्राहकलाई एनसीएचएलका कनेक्टआईपीएस वेब/मोबाइल एप, बैंक/वित्तीय संस्थाका मोबाइल/इन्टरनेट बैंकिङ्ग वालेटमा फण्ड लोड/विथड्र लगायतका विभिन्न भुक्तानी गर्न थप सहज हुने विश्वास गरिएको छ ।

 

कनेक्ट आईपीएसबाट सरकारी राजस्व भुक्तानीमा भने पहिले नै प्रति कारोबार शुल्क दुईदेखि पाँच रुपैयाँ कायम रहेको छ ।

नेपाल राष्ट्र बैंकको मार्गनिर्देशन बमोजिम डिजिटल भुक्तानीको थप प्रवर्द्धनका निम्ति एनसीएचएलले समय–समयमा यथोचित रुपमा कारोबार शुल्क परिवर्तन गर्ने गरेको छ ।

हालै नेपाल राष्ट्र बैंकबाट बैंक/वित्तीय संस्थाको मोबाइल बैंकिङ्गमा कारोबर शुल्क रु १० देखि अधिकतम रु ३० सम्म तोकिएको थियो । चालु आर्थिक वर्षको पहिलो चार महिनामा नै कनेक्ट आईपीएसमा कारोबार संख्या तथा कारोबार रकमको आधारमा २२५ प्रतिशत वृद्धि भएको छ ।

 

त्यसैगरी उक्त प्रणालीमा हाल दैनिक औषत कारोबार संख्या ११७,०१२ तथा रकमको आधारमा दैनिक औसत रु ८.३ अर्ब बराबरको रहेको छ । कारोबार शुल्कमा गरिएको यस परिवर्तनले वैकल्पिक च्यानलहरु मार्फत गरिने रियल टाइम भुक्तानीलाई थप टेवा पुग्ने विश्वास गरिएकाे छ ।

https://www.techpana.com/2021/110752/