काठमाडौं । नागरिक एपमा वैदेशिक रोजगार सम्बन्धी सेवा समेत थप भएको छ । नागरिक एपको पछिल्लो अपडेटमार्फत स्टिकर नम्बरका आधारमा पूर्व श्रम स्वीकृति विवरणसँगै वैदेशिक रोजगारी खोजी गर्न सकिने भएको हो ।

 

सम्भव भएसम्मका सबै सरकारी सेवा सुविधा एउटै एपमार्फत उपलब्ध गराउने उद्देश्यका साथ सरकारले नागरिक  एप सञ्चालनमा ल्याएको थियो । जसअन्तर्गत वैदेशिक रोजगार विभागबाट प्रवाह हुने अनलाइन सेवाहरू समेत थपिने क्रम सुरु भएको हो ।

नागरिक एपले आगामी दिनमा श्रम स्वीकृतीका लागि आवेदन दिन सक्ने गरि काम अगाडि बढाइएको जानकारी समेत दिएको छ । श्रम स्वीकृतिका लागि अत्यधिक भिडभाड हुने र जनगुनासो समेत धेरै आउने गरेको छ ।

 

यस्तोमा  नागरिक एपबाटै आधिकारिक व्यक्तिले नै आवेदन दिनसक्ने र नागरिकता, राहदानी, जस्ता श्रम स्वीकृति जस्ता धेरै जसो व्यक्तिगत कागजात समावेश गर्नुपर्ने झन्झट समेत नपर्ने बताइएको छ । एपबाटै आवेदन दिँदा नागरिकलाई सहज हुने, खर्च जोगिने, एपमा भएका विवरणहरू स्वतः भरिने हुँदा कार्यालयसम्म जाने समय जोगिनुका साथै कम समय मै आवेदन भर्न सकिनेछ ।

 

यसैगरी विभागले आधिकारिकता जाँच गर्न थप श्रोत साधन समेत खर्च गरिरहनु नपर्ने नागरिक एपले जनाएको छ ।

 

यसका साथै यातायात व्यवस्था विभागको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणालीको महसुल तिर्ने, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको राष्ट्रिय परिचयपत्र, भौतिक पूर्वाधार विकास मन्त्रालय (बागमती प्रदेश) को भेहिकल रजिष्ट्रेसन सिस्टम, नेपाल स्वास्थ्य व्यवसायी परिषदको अनलाइन सेवा र नेपाल इन्जिनियरिङ परिषदका अनलाइन सेवा पनि नागरिक एपमा थपिँदैछ ।

यसैगरी, नेपाल मेडिकल परिषद्का अनलाइन सेवा, नेपाल नर्सिङ परिषद्का अनलाइन सेवा, वैदेशिक रोजगार विभागको श्रम स्वीकृतिका लागि आवेदन तथा पुनः श्रम स्वीकृति लागायतका थप सेवाहरू समेत नागरिक एपमा आवद्ध गर्ने काम चलिरहेको छ ।

त्यसका लागि सम्बन्धित निकायहरूमा आवश्यक समन्वय गर्ने भइरहेको तर ती प्रणालीहरूसँग अन्तरआवद्ध गर्न आवश्यक प्राविधिक डकुमेन्ट तथा एपीआई उपलब्ध नभएको नागरिक एपले जनाएको छ । त्यसका लागि पुन: ताकेता गरिएको नागरिक एपमा अधिकारीले बताएका छन् ।

https://www.techpana.com/2021/110852/