काठमाडौं । हरेक वर्षजस्तै एप्पलले सन् २०२१ का उत्कृष्ट एपहरुको सूची सार्वजनिक गरेको छ । एप्पलको एप स्टोर सम्पादकीय समूहले हरेक वर्षजस्तै यो वर्ष पनि विभिन्न विधामा उत्कृष्ट एपहरुको सूची तयार पारेकाे हो ।

 

एपको गुणस्तर, नवीन अन्वेषण, प्रविधि, डिजाइन र एपले पार्ने सकारात्मक प्रभावका आधारमा यी एप छानिएकाे एप्पलले उल्लेख गरेकाे छ । यो वर्ष आईफोन एप अफ दी इयरको अवार्ड ‘टोका लाइफ वर्ल्ड’ ले जितेको छ ।

बालबालिकाका लागि तयार पारिएको याे एपले बालबालिकालाई आफ्नो संवेग व्यक्त गर्न सहयोग गरेको कम्पनीको दाबी छ । यो एप १० वर्षअघि नै एप स्टोरमा सार्वजनिक भएको थियो ।

 

यस्तै, भिडिओ इडिटिङ गर्ने एप ‘लुमाफ्युजन’ ले आईप्याड एप अफ दी इयरको अवार्ड पाएको छ । यो एपले भिडिओ इडिटिङलाई छिटो र सहज बनाएको एप्पलले जनाएको छ ।

 

कलाकारहरुले प्रयोग गर्ने एप ‘क्राफ्ट’ ले यो वर्षको म्याक एप अफ दी इयरको अवार्ड पाएको छ । यो एपले कलाकारहरुलाई आफ्नो कला प्रष्फुटनमा सघाएको एप्पलकाे भनाइ छ ।

 

अमेरिकामा हुने विभिन्न खेलका लाइभ स्ट्रिमिङ गर्ने एप डीएजेडएनले एप्पल टिभी एप अफ दी इयरको अवार्ड पाएको छ । यो एपले विभिन्न स्थानीय खेलको प्रवर्द्धनमा सहयोग गरेको एप्पलको दाबी छ ।

मौसमको पूर्वानुमान गर्ने एप क्यारोट वेदरले एप्पल वाच एप अफ दी इयरको उपाधि जितेको छ । यो एपले मौसम पूर्वानुमानलाई विश्वसनीय बनाउन भूमिका खेलेकाले यो अवार्ड दिइएको कम्पनीले जनाएको छ ।

‘लिग अफ लिजेन्ड’ ले यो वर्षको आईफोन गेम अफ दी इयरको अवार्ड पाएको छ । स्टोरी टेलिङ र ग्राफिक्सको उत्कृष्टता कारण यो एपले अवार्ड पाएको हो ।

 

आईप्याड गेम अफ दी इयरको अवार्ड भने मार्बल फ्युचर रिभ्योल्युसन एपले पाएको छ भने माइस्टी एपले म्याक गेम अफ दी इयरको अवार्ड पाएको छ । स्पेश मार्सल थ्रीले एप्पल टीभी गेम अफ दी इयरको उपाधि पाएको छ ।

टिम वर्कमार्फत विभिन्न व्यक्तिहरुलाई नजिकिन सघाउने अमङ अस, डेटिङ एप बम्बल, डिजाइनमा सघाउने एप क्यानभा एपले पनि उत्कृष्ट एपको अवार्ड पाएका छन् । 

https://www.techpana.com/2021/111024/