काठमाडौं । इजरायली कम्पनी एनएसओ ग्रुपले निर्माण गरेको ‘स्पाइवेयर सफ्टवेयर’ थप नौ जना अमेरिकी अधिकारीको मोबाइलमा फेला परेको छ । यूएस स्टेट विभागमा कार्यरत ती अधिकारीहरूको मोबाइल ह्याक गरी उक्त सफ्टवेयर इन्स्टल गरिएको पाइएको हो ।

 

उनीहरु सबै आईफोन प्रयोगकर्ता रहेको जनाइएको छ । आईफोनमा सफ्टवेयर अपडेटको रुपमा उक्त स्पाइवेयर पठाइएको जनाइएको छ ।

त्यतिमात्रै नभएर कतिपय प्रयोगकर्ताको हकमा आईम्यासेजमार्फत सफ्टवेयर पठाएर प्रयोगकर्ताको जानकारी बिनै पनि इन्स्टल गरिएको उल्लेख छ ।

 

त्यसरी प्रयोगकर्ताको मोबाइलमा सफ्टवेयर इन्स्टल गरी सम्बन्धित व्यक्तिले गरेका सम्पूर्ण कुराकानी रेकर्ड भइरहेको अध्ययनले देखाएको हो । जसमार्फत सम्बन्धित व्यक्तिले को सँग के कुरा गरेको छ भन्ने कुराको निगरानी गर्ने काम भएको जनाइएको छ ।

 

हुन त यसअघि गएको सेप्टेम्बरमा एप्पलले आफ्ना डिभाइसमा रहेको उक्त कमजोरीहरूको समाधान सहित नयाँ अपडेट पठाएको थियो । तर, ती नौ जना अधिकारीको मोबाइलमा भने सेप्टेम्बरदेखि नै उक्त सफ्टवेयर इन्स्टल भइसकेको जनाइएको छ ।

 

एनएसओ ग्रुपले उक्त स्पाइवेयर सफ्टवेयर आफैले प्रयोगकर्ताको मोबाइल निगरानी गर्ने काम भने गर्दैन । कम्पनीले सम्बन्धित देशको सरकार तथा सुरक्षा निकायलाई आग्रहमा उक्त सफ्टवेयर उपलब्ध गराउँदै आएको दावी गर्दै आएको छ ।

यसको अर्थ सुरक्षा निकायलगायत सरकारी निकायबाटै उनीहरूमाथि निगरानी भइरहेको हुनसक्ने आँकलन गरिएको छ ।

यसअघि पनि अमेरिकाका धेरै उच्च अधिकारीको मोबाइलमा यो सफ्टवेयर फेला परेको थियो । त्योसँगै अमेरिकाले एनएसओ ग्रुप तथा कम्पनीले निर्माण गरेको सफ्टवेयर माथि प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ ।

 

भने, एप्पलले पनि आफ्नो डिभाइसमा अनैतिक रुपमा त्यस्तो सफ्टवेयर इन्स्टल गरेको भन्दै एनएसओ ग्रुप विरुद्ध मुद्दा दायर गरिसकेको छ ।

https://www.techpana.com/2021/111091/