काठमाडौं । ट्राफिक प्रहरीको कारबाहीमा परे जरिवाना तिरेर आफ्नो कागजपत्र फिर्ता लिन ट्राफिक प्रहरी महाशाखामा नै जानुपर्ने बाध्यता हटेको छ ।

 

सवारी चालकले ट्राफिक नियम उल्लंघन गरेपश्चात ट्राफिक प्रहरीले जारी गर्ने २४ घण्टे पुर्जीबापत नियमानुसार तिर्नुपर्ने जरिवाना रकम अब तत्कालै कारबाही स्थलबाटै भुक्तान गरी आफ्नो कागजपत्र फिर्ता लिन सकिने भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले आज एक कार्यक्रमका बीच प्रविधिमा आधारित ‘पे फाइन अन द स्पोर्ट-इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’ अर्थात तत्काल ट्राफिक जरिवाना भुक्तान गर्ने प्रणालीको सुरुवात गरेका छन् ।

 

सो अवसरमा एसएसपी भट्टराईले ट्राफिक सेवा आधुनिक तथा प्रविधियुक्त हुँदै गएको बताउँदै अबदेखि चिट काटेपछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा गई कागजात फिर्ता लिने झन्झट हटेको र जरिवाना रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिने प्रणालीको सुरुवात गरेको बताए ।

 

पहिलो चरणमा गौशाला, दरबारमार्ग, थापाथली, जाउलाखेल र जनसेवा गरी पाँच वटा ट्राफिक कार्यालयबाट सुरु गरेको यो सेवालाई क्रमशः अन्य कार्यालयमा समेत विस्तार गर्ने महाशाखाले जनाएको छ ।

 

यद्यपि यो व्यवस्था सबै प्रकारको नियम उल्लंघनमा भने लागू हुने छैन ।

महाशाखाका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाएको, लेन अनुशासन पालना नगरेको र रातो बत्ति उल्लंघन गरेका चालकले भने ट्राफिक जनचेतनामूलक प्रशिक्षण लिएपछि मात्र ट्राफिक प्रहरी महाशाखाबाट आफ्नो कागजात फिर्ता लिन सक्नेछन् ।

https://www.techpana.com/2021/111324/