काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्रका लागि ४७ लाख बढी नागरिकको विवरण संकलन गरेको छ । हरेक नागरिकलाई वितरण गर्ने लक्ष्यअनुरुप देशव्यापी रुपमा विवरण संकलन भइरहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

 

यसअघि विभागले २०२२ को जनवरीदेखि कार्ड वितरण गर्ने तयारी गरेको थियो । तर कार्ड आइनसक्दा अझै छपाईको काम सुरु हुन सकेको छैन । डिसेम्बर महिनाको अन्त्यसम्ममा कार्ड आइसक्ने र फेब्रुअरीसम्ममा कार्डको नमुना परीक्षण सम्पन्न गर्ने विभागका निर्देशक सुवास ढकालले बताए ।

सकेसम्म चाँडै कार्ड वितरणको तयारी भइरहेको बताउँदै उनले कोभिड-१९ को प्रभाव नपरे दुईदेखि तीन महिनामा कार्ड छापी वितरण गर्ने जनाए ।

 

साथै अब आउन लागेको कार्डमा फन्ट साइज केही बढेर आउने उनले जानकारी दिए । साथै नयाँ कार्डमा क्यूआर कोड फिचरसहित लेआउट र डिजाइन केही अप्टिमाइज हुने पनि जनाइएको छ ।

 

सूचना प्रविधिमा आधारित राष्ट्रिय परिचयपत्रका लागि ४७ लाखभन्दा बढीको विवरण संकलन भइसकेको छ । तीमध्ये ४२ लाखको विवरण प्रमाणीकरण गरिएको छ भने करिब पाँच लाखको विवरण प्रमाणीकरणको प्रक्रियामा छ ।

 

देशभरका जिल्ला प्रशासन कार्यालय तथा विभिन्न १७ वटा इलाका कार्यालयमार्फत परिचयपत्र बनाउन पाइने सुविधा उपलब्ध गराएर अभियानलाई तीव्र पारिएको विभागले जनाएकाे छ ।

पछिल्लो समय नेपालले अन्तर्राष्ट्रिय स्तरको विद्युतीय राहदानी जारी गरेसँगै राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिने नागरिकको संख्या बढ्दो छ ।

यस वर्ष एक करोड नागरिकको व्यक्तिगत विवरण सत्यापन गरिने लक्ष्य विभागले लिएको छ । साथै पहिलो चरणमा ३० लाख नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने योजना छ । कार्डको क्वालिटी कन्ट्रोल गरी एक दिनमा १५ देखि १८ हजार कार्ड उत्पादन गर्न सकिने अनुमान गरिएको छ ।

 

विभागका अनुसार प्रत्येक जिल्लामा जनसङ्ख्याको चापका आधारमा एकदेखि चारवटासम्म परिचयपत्र डेस्क स्थापना गर्ने व्यवस्था गरिएको छ । राहदानी विभाग परिसरमा राष्ट्रिय परिचयपत्र वितरण कार्य जारी राखिएको छ । यसबाहेक औपचारिक सेवाअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा गएर दर्ता गर्न सकिनेछ ।

यसैबीच विभागले राष्ट्रिय परिचयपत्रलाई लक्षित गर्दै वेबसाइटबाटै नागरिकले आफ्नो परिचयपत्र नम्बर हेर्नसक्ने सुविधा ल्याउन लागेको छ । वेबसाइटमा दिइएको नम्बरमा सम्पर्क गरी भाइबर तथा ह्वाट्सएपमा कार्डको जानकारी (स्टेटस) लिन सकिन्छ ।

अहिले विभागले एसएमएस मार्फत सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्रको जानकारी उपलब्ध गराइरहेको छ ।

https://www.techpana.com/2021/111531/