काठमाडौं । यतिबेला नेपालको इन्टरनेट बजारमा ‘स्पिड वार’ चलिरहेको छ । एकपछि अर्को गर्दै सेवाप्रदायक इन्टरनेटको स्पिड बढाएर ग्राहकलाई आकर्षित गर्न लागिपरेका छन् ।

 

चौधरी समूह अन्तर्गतको सीजी कम्युनिकेसन्सले इन्टरनेट सेवा सुरू गरेसँगै स्पिड वार सुरू भएकाे हाे । इन्टरनेट बजारमा भित्रिँदा एकैपटक १२० एमबीपीएस गतिको इन्टरनेटसहित ग्राहकमाझ भित्रिएको सीजी इन्टनेटमा नयाँ आयाम सिर्जना गर्न सफल भएको छ ।

हुन त सीजीअघि नै डिशहोमले १०० एमबीपीएस इन्टरनेट उपलब्ध गराएको थियो । तर, सीजीको प्रवेश नेपालको इन्टरनेट बजारमा स्पिडका लागि ‘टर्निङ प्वाइन्ट’ सावित भयाे ।

 

सीजीसँगै अर्को इन्टरनेट सेवाप्रदायक सुबिसुले १५० एमबीपीएस गतिको इन्टरनेट ग्राहकलाई उपलब्ध गरायो । त्यसपछि बजारमा वर्ल्डलिंक भित्रियो । वर्ल्डलिंकले मेस राउटर सहितको ३०० एमबीपीएस गतिको इन्टरनेट प्याकेज ल्यायो ।

 

त्यतिमात्रै नभएर वर्ल्डलिंकले हिजो बुधबार इन्टरनेटको स्पिड वारमा थप नयाँ आयाम थपिदियो । वर्ल्डलिंकले मेस राउटरसहित १५०, २०० र ३०० एमबीपीएसका साथै ६०० एमबीपीएससम्मको इन्टरनेट ग्राहकलाई उपलब्ध गराउने निर्णय गर्‍यो ।

 

साथै आफ्ना सम्पूर्ण प्रयोगकर्तालाई थोरैमा १५० एमबीपीएस गतिको इन्टरनेट उपलब्ध गराउने घाेषणासमेत कम्पनीले गरेको छ ।

यसले इन्टरनेट बजारमा थप रौनक ल्याएको छ । अघिल्लो सातामात्रै नेपालको तेस्रो ठूलो इन्टरनेट सेवाप्रदायक भायानेट १७५ एमबीपीएस गतिको इन्टरनेटसहित प्रस्तुत भएको छ ।

हुन त कम्पनीले दशैं अफरको रुपमा १०० एमबीपीएसको इन्टरनेट यसअघि नै सुरु गरिसकेको थियो । यतिसम्म कि भायानेटले आफ्ना सम्पूर्ण ग्राहकलाई थोरैमा पनि १०० एमबीपीएको इन्टरनेट उपलब्ध गराउन थाल्यो ।

 

पुराना ग्राहकको हकमा समेत त्यही लागू भएको कम्पनीले जनाएको छ । यसअघि अर्को इन्टरनेट सेवाप्रदायक क्लासिक टेकले पनि १०० एमबीपीएस गतिको इन्टरनेट प्याकेज बजारमा ल्याइसकेको छ ।

त्यतिले नपुगेर अब मेस राउटरसहित ५०० एमबीपीएस र टाकियन प्रविधिमा आधारित भएर १ जीबीपीएस सम्मको इन्टरनेट उपलब्ध गराउने तयारी गरिरहेको जनाएको छ ।

यसरी एकपछि अर्को गर्दै सेवा प्रदायकबीच ‘स्पिड वार’ सुरु हुँदा सरकार स्वामित्वकाे दूरसञ्चार कम्पनी नेपाल टेलिकम भने गुमनाम जस्तै भएको छ ।

कम्पनीले आफ्ना ग्राहकलाई अहिले २५, ४० र ८० एमबीपीएसस गतिको फाइबर इन्टरनेट उपलब्ध गराएको छ । तर, त्योभन्दा माथिको प्याकेज छैन ।

 

साथै बजारमा डुअल ब्याण्ड राउटर भित्रिसक्दा समेत टेलिकमले आफ्ना प्रयोगकर्तालाई उपलब्ध गराएको छैन । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले स्पिड वारमा कम्पनीको कुनै तयारी नभएको बताए ।

उनले भने, ‘बजारमा धेरै एमबीपीएसको इन्टरनेटभन्दा पनि गुणस्तरको खाँचो छ । त्यो हुँदा तत्कालै स्पिड वारमा जाने तयारी छैन । तर, ग्राहकलाई नयाँ प्रविधि उपलब्ध गराउन डबल ब्याण्ड राउटर भित्र्याउने काम अघि बढिसकेको छ ।’

पहिलो चरणमा ५० हजार डबल ब्याण्ड राउटर ल्याउन माग भइसकेको जानकारी दिँदै उनले थप राउटरमा समेत डबल ब्याण्ड राउटर नै हुने समेत जनाए ।

‘डबल ब्याण्ड राउटर भित्रिएसँगै ग्राहकको आवश्यकता अनुसार उच्च गतिको इन्टरनेट उपलब्ध गराउन सकिने उनकाे भनाइ छ । ‘त्यसपछि आवश्यक परेको खण्डमा स्पिड वारमा जानसक्ने अवस्था पनि कम्पनीसँग उपलब्ध हुनेछ,’ उनले थपे ।

https://www.techpana.com/2021/112061/