काठमाडौं । पछिल्लो केही महिना यता निरन्तर रुपमा बढ्दै आएको डिजिटल कारोबारको वृद्धि रोकिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुक्तानी, मोबाइल वालेट र कनेक्ट आईपीएसमार्फत हुने कारोबार संख्या र रकम दुबै घटेको हो ।

 

राष्ट्र बैंकले भर्खरमात्रै सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार २०७८ कात्तिकमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान, मोबाइल वालेट र कनेक्ट आईपीएसमार्फत हुने कारोबार संख्या अघिल्लो महिनाको तुलनमा एक लाख २७ हजार ७५४ ले घटेको छ । कारोबार रकम ७३ करोड रुपैयाँले घटेको छ ।

जसमा सबैभन्दा बढी कनेक्ट आईपीएसबाट हुन कारोबार घटेको तथ्याङ्कले देखाएको छ । एक महिनाकै अवधिमा कारोबार संख्या सात लाख ४९ हजार सात सय २३ ले घटेको छ । राष्ट्र बैंकका अनुसार असोजमा कनेक्ट आईपीएस प्रयोग गरी ३५ लाख १० हजार २ सय २६ वटा कारोबार भएको थियो । कात्तिकमा उक्त संख्या घटेर २७ लाख ६० हजार पाँच सय तीनमै सीमित भएको छ ।

 

त्यस्तै कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ । असोजमा दुई खर्ब ३९ अर्ब १४ करोड ८० लाख रुपैयाँ कारोबार भएको थियो । कात्तिकमा कराेबार रकम घटेर दुई खर्ब तीन अर्ब तीन करोड ६० लाख रुपैयाँमा सीमित भएको छ ।

 

कनेक्ट आईपीएस जस्तै क्यूआर भुक्तानीमा समेत उल्लेख्य गिरावट आएको छ । असोज महिनामा क्यूआर स्क्यान गरी १५ लाख १५ हजार तीन सय २९ ओटा कारोबारबाट ६ अर्ब रुपैयाँको ९ करोड भन्दा बढी कारोबार भएको थियो । उक्त कारोबार कात्तिकमा घटेर पाँच अर्ब ३६ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ । यो अवधिमा कूल १३ लाख ८७ हजार पाँच सय ८४ पटक क्यूआर स्क्यान गरी भुक्तानी भएको छ ।

 

त्यसैगरी, मोबाइल वालेटबाट हुने कारोबार संख्या तथा कारोबार रकममा पनि कमी आएको छ । असोजको तुलनामा कात्तिकमा पाँच लाख ३४ हजार दुई सय ५० ओटा कारोबार घट्दै एक करोड ३० लाख ३० हजार आठ सय चार ओटामा सीमित भएको छ । कारोबार रकम १३ अर्ब ९४ करोड ९० लाख रुपैयाँमात्रै भएको छ । जुन असोजको तुलनामा एक अर्ब २३ करोड ८० लाख रुपैयाँ कम हो । 

यसअघि असोजमा एक करोड ३५ लाख ६५ हजार ५४ वटा कारोबारबाट १५ अर्ब १८ करोड ७० लाख रुपैयाँ वालेटबाट कारोबार भएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख गरिएको छ । यस्तै, मोबाइल बैंकिङबाट हुने कारोबार संख्या र रकम पनि घटेको छ ।

असोजमा मोबाइल बैंकिङ प्रयोग गरी एक करोड ३७ लाख ६४ हजार ९८२ वटा कारोबारमार्फत ८७ अर्ब ७३ करोड २० लाख रुपैयाँ कारोबार भएकोमा कात्तिकमा ७८ अर्ब १५ करोड ७० लाख रुपैयाँ मात्रै कारोबार भएको छ । यो अवधिमा कूल एक करोड २६ लाख १५ हजार ६३७ ओटा कारोबार भएको छ ।

https://www.techpana.com/2021/112132/