काठमाडौं । वाई-फाई अझ धेरै प्रभावकारी हुँदैछ । बजारमा आउने धेरै फोन तथा ल्यापटप वाई-फाईको अपग्रेडेड भर्सनसहित उपलब्ध हुँदैछन् । हालसम्म २.४ र ५ गिगाहर्ज गरी दुई वेभमा आधारित वाईफाई अब ६ गिगाहर्जमा उपलब्ध हुँदैछ ।

 

यसैबीच वैज्ञानिकहरु वाई-फाई सेभेनको तयारीमा जुट्दैछन् । वाई-फाईको यो नयाँ प्रविधिबाट इन्टरनेटको गति ठूलो मात्रामा वृद्धि हुने बताइएकाे छ । त्यस्तै वाईफाई कनेक्सन पनि अझ विश्वसनीय हुनेछ र वाईफाई वेभको दूरी पनि निकै फराकिलो हुने चर्चा छ ।

फाइभजीजस्तै वाई-फाई सेभेनले लाइभ स्ट्रिमिङ र गेमिङलगायतका काममा ल्याटेन्सी घटाउने छ । ल्याटेन्सी भन्नाले राउटर वा एक्सेस प्वाइन्टबाट तपाईंको डिभाइससम्म र डिभाइसबाट राउटरसम्म यात्रा गर्न सिग्नलले लिएको समयलाई बुझाउँछ ।

 

वाई-फाई सेभेनको नयाँ ३२० मेगाहर्ज च्यानलहरूले वाई-फाई सिक्स र यसका सात १६० मेगाहर्ज च्यानलहरूमा उल्लेखनीय गति दिने बताइएको छ ।

 

यद्यपि प्रत्येक डिभाइसले यी फराकिलो च्यानलहरूलाई सपोर्ट नगर्न पनि सक्छन् । वाई-फाई सेभेनले स्पासियल स्ट्रिमहरूको संख्या १६ सम्म बढाउनेछ ।

 

त्यस्तै यो वाई-फाई प्रविधिले ४६ जीबीपीएससम्मको अधिकतम डेटारेट प्रदान गर्ने अनुमान इन्टेलले गरेको छ, जुन वाईफाई सिक्सभन्दा पाँच गुणाले बढी हो ।

वाई-फाई सेभेनको तीव्र गति, कम ल्याटेन्सी र सुधारिएको इन्टरफेरेन्स ह्यान्डलिङ क्षमताले यसलाई निकै अघि राख्ने अपेक्षा गरिएको छ । तर प्रयोगकर्तालाई सामान्य प्रयोजनको लागि भने यो खासै उपयोगी नहुन पनि सक्छ ।

एआर/भीआर र गेम स्ट्रिमिङजस्ता नयाँ प्रविधिमा वाई-फाई सेभेनमार्फत कम ल्याटेन्सी र स्थिर कनेक्सनको लाभ उठाउन सकिनेछ ।

 

‘वाई-फाई सिक्स ई’ को अन्तिम तयारी भएको एक वर्ष भइसक्दा पनि धेरै देशहरूले सार्वजनिक प्रयोगका लागि नयाँ ६ गिगाहर्ज स्पेक्ट्रमलाई अबलम्बन गर्न बाँकी छ ।

यस सन्दर्भमा पनि वाईफाई सेभेन सबै प्रयोगकर्तामाझ आउन केही वर्ष लाग्ने अनुमान लगाउन सकिन्छ ।

https://www.techpana.com/2021/112193/