काठमाडौं । बजारमा लामो समयदेखि विद्युतीय गाडीलगायत अन्य विभिन्न उत्पादन ल्याइरहेको टेस्लाले अब स्मार्टफोन ल्याउने चर्चा चलिरहेको छ । यद्यपि टेस्लाको फोनबारे अनगिन्ति प्रश्न उठिरहेका छन् ।

 

पहिलो कुरा त हल्ला चलेजसरी के साँच्चिकै सार्वजनिक होला त फोन प्रश्न नै छ । यदि फोन ल्याएको खण्डमा कस्ता फिचर समावेश होलान् त ?एउटा कार उत्पादक कम्पनीले बनाएको स्मार्टफोनको विशेषता के हुन सक्ला ?

बजारमा भएका केही अनुमानहरूको बारेमा आज हामी यहाँ चर्चा गर्नेछौं ।

 

कहिले सार्वजनिक होला टेस्लाको फोन ?

 

प्रायजसो टेस्लाले बजारमा विभिन्न अपत्यारिला उत्पादन ल्याउने गर्छ । जस्तो कि बच्चाहरूका लागि पूर्ण विद्युतीय गाडी, टेस्लाको लोगो भएको छाता । यो बीचमा कम्पनीले स्मार्टफोन पनि बजारमा नल्याउला भन्न सकिन्न ।

 

टेस्लाको स्मार्टफोन सार्वजनिक हुनसक्ने अनुमानबारे केही बलिका आधार छन् । पहिलो आधार हो, बजारमा चलेका फोनको फिचरको चर्चा ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सार्वजनिक भएको सूचनाअनुसार टेस्लाको स्मार्टफोनले न्युराेलिंक सपोर्ट गर्नेछ र यसले मंगल ग्रहमा कनेक्ट गर्नसक्ने क्षमता राख्नेछ । यद्यपि पहिलो चरणमै सार्वजनिक हुँदा यी फिचर उपलब्ध नहुन पनि सक्छ ।

टेस्लाले आफ्नो स्मार्टफोन सार्वजनिक गर्ने कुराको अनुमानको अर्को आधार हो २०२१ को सुरुवाततिर युट्युवमा सार्वजनिक भएको एडीआर स्टुडियो डिजाइनको युट्युव च्यानलमा सार्वजनिक भएको भिडिओ ।

 

सो भिडिओमा टेस्ला फोनको डिजाइन कस्तो हुनसक्ला भन्ने विषयमा बताइएको छ । सो भिडिओ विश्वासिलो स्रोतको सूचनाको आधारमै बनाइएको चर्चा छ ।

टेस्ला फोनको मूल्य
टेस्ला फोनको फिचरलाई मूल्याङ्कन गरेर हेर्ने हो भने यसको मूल्य तुलनात्मक रुपमा महँगो हुने अनुमान गरिएको छ । विस्तारै पछिका संस्करणहरूमा भने फोनको मूल्य घट्नसक्छ ।

यदि बजारमा चलेको चर्चाअनुरुप टेस्ला फोनमा फिचरहरू उपलब्ध भयो भने यसको मूल्य ८०० डलरदेखि १२०० डलर अर्थात् ९६ हजार रुपैयाँदेखि एक लाख ४५ हजार रुपैयाँसम्म पर्नसक्ने अनुमान गरिएको छ ।

प्रि-अर्डरको सूचना

 

कुनै पनि उत्पादन सार्वजनिक भइसकेपछि बजारमा आउनुभन्दा अगाडि प्रि-बुकिङ गर्ने प्रचलन बढेको छ । टेस्लाले पनि आफ्नो फोन सार्वजनिक गरेपछि प्रि-अर्डर दिने अनुमान हामी गर्न सक्छौं । तर यसको सार्वजनिक हुने मितिबारे भने कुनै चर्चा भएको छैन ।

फोनको फिचर
टेस्लाका विद्यमान उत्पादनमा भएका फिचर जस्तै साइबरट्रकको बुलेटप्रुफ झ्याल र तिनीहरूका अन्य सवारी साधनहरूमा बायोवेपन डिफेन्स मोड फिचरहरूलाई हेर्ने हो भने कम्पनीले बनाउने स्मार्टफोनको फिचरको विषयमा बजारमा चलेको हल्लालाई लिएर अचम्म मानी हाल्नुपर्ने स्थिति छैन ।

टेस्ला फोनमा विभिन्न उल्लेखित फिचरहरू उपलब्ध हुने अनुमान गरिएको छ ।

स्याटेलाइट इन्टरनेट
एलन मस्क स्पेस एक्सका पनि सीईओ भएका कारण उनले स्पेस एक्सको अन्तरिक्षमा आधारित स्टारलिंकको सेवालाई टेस्ला फोनमा पनि उपलब्ध गराउन सकिने अनुमान गरिएको छ ।

यसको अर्थ टेस्ला फोनमा स्याटलाइट इन्टरनेट उपलब्ध हुने अनुमान गर्न सकिन्छ । सोलार चार्जिङस् टेस्लाले सोलार प्यानेल उत्पादनमा पनि काम गरिरहेको हुदाँ सोलारबाट हुने चार्जिङमा काम गर्न कम्पनीलाई त्यति असहज नहोला ।

फोन सोलार चार्जिङमा मात्रै आधारित भने नहुन सक्छ तर सोलार चार्जिङको फिचर भने उपलब्ध हुनसक्छ ।

सवारी नियन्त्रण गर्न सक्ने फिचर
टेस्लाले मोबाइल एप प्रयोग गरेर गाडी लकर अनलक गर्न सक्ने सुविधा अहिले पनि दिइरहेको छ । यसको अर्थ हो टेस्लाको स्मार्टफोनमा सवारी साधन नियन्त्रण गर्न सक्ने थप परिष्कृत फिचरहरू उपलब्ध हुन सक्छ ।

एस्ट्राे फोटोग्राफी
अहिले बजारमा भएको स्मार्टफोनहरूले रातीको समयमा आकाशको फोटो खिच्न आर्टिफिसियल इन्टेलिजेन्स अथवा शक्तिशाली क्यामेराहरूको प्रयोग गर्ने गरेको छ ।

टेस्ला र स्पेसएक्स दुवैमा आवद्ध एलन मस्कले टेस्लाको फोनमा अन्तरिक्षलाई लिएर नयाँ फिचर पक्कै पनि राख्ने अनुमान गरिएको छ ।

क्रिप्टो माइनिङ
बजारमा चलेको अर्को चर्चा भनेको टेस्लाको फोनले क्रिप्टोकरेन्सी माइनिङमा सहयोग गर्न सक्छ । एलन मस्कको क्रिप्टोकरेन्सीसँगको लगावलाई हेर्ने हो भने यो फोन यस्ता फिचर पनि आउनु सामान्य हुनेछ ।

यति मात्र होइन मस्कले आफ्नो फोनमा आफ्नै नयाँ क्रिप्टोकरेन्सी ‘मार्सकोइन’ को प्रयोग गर्ने पनि चर्चा चलेको छ ।

न्युरालिंक सपोर्ट

कम्प्युटरले मानव मस्तिष्कसँग अन्तर्क्रिया गर्ने ‘सोच’ अझै पनि एउटा साइन्स फिक्सनकै रुपमा रहेको छ, जसका लागि काम गरिरहेको कम्पनीमध्ये एक हो टेस्ला ।

न्यूराेलिंकमा काम गर्ने कम्पनीहरूको अनुसार उनीहरू अहिले यस्तो डिजाइनमा काम गरिरेका छन्, जहाँ मान्छेहरूले आफू जहाँ भएपनि आफ्नो कम्प्युटर र मोबाइल फोन नियन्त्रण गर्न सक्नेछन् । यस्तो प्रकारको फिचर पनि टेस्ला फोनमा उपलब्ध हुने अनुमान गरिएको छ ।

हार्डवेयर
हुन त टेस्ला फोनको विषयमा धेरैजसो कुरा अनुमानित नै छ । यद्यपि उचित तर्कसहितको अनुमानले टेस्ला फोनलाई उच्च स्तरको प्रविधियुक्त फोन हुने अनुमान गर्न सकिन्छ ।

यस्तोमा टेस्ला फोनमा एकदेखि दुई टीबीको स्टोरेजसहित १६ जीबीभन्दा माथिको र्‍याम हुने अनुमान छ । त्यसैगरी ६.५ इन्चको एमोलेड डिस्प्ले पनि उपलब्ध हुने अनुमान गरिएको छ ।

https://www.techpana.com/2021/112205/