काठमाडौं । तपाईँ आफ्नो मोबाइल इन्टरनेट (डेटा) को स्पिड सुस्त भएकोमा चिन्तित हुनुहुन्छ ? वास्तवमा स्लो डेटा कनेक्सन निकै दिक्क लाग्दो हुन्छ, एन्ड्रोइड चलाउनुहोस् वा आईफोन ।

 

चाहे तपाईं भिडिओ हेर्न खोज्नुहोस् वा आफ्नो फोनमा फेसबुक चलाउन नै किन नखोज्नुहोस्, आफ्नो अपेक्षा अनुरूपको सेवा नपाउँदा दुखित तुल्याउँछ । धेरैजसो अवस्थामा स्लो डेटा कनेक्सन केवल अस्थायी प्रकारको समस्या हुन्छ ।

 

यसमा लोकेसन वा नेटवर्क कन्जेसन (नेटवर्कमा आएको चाप वा बढी लोडका कारण आउने समस्या) कारकको रुपमा रहेको हुन्छ । अन्य समयमा घण्टौँसम्म वा कयौँ दिनसम्म यस्तो समस्याको सामना गर्नु परिरहेको हुनसक्छ ।

 

आफ्नो मोबाइल सेवाप्रदायकमा प्राविधिक सहयोगका लागि कल गर्नु अघि आफ्नो स्लो मोबाइल डेटाको समस्या समाधानमा केही सामान्य चरणहरू पूरा गर्नुहोस् । ता कि तपाईं स्वयम् मोबाइल इन्टरनेट स्लो हुने समस्या समाधान गर्न सक्नुहोस्  । 

 

१. आफ्नो फोन रिस्टार्ट गर्नुहोस्

 

झट्ट सुन्दा यो सुझाव तपाईंलाई अति नै सामान्य लाग्न सक्छ । तर कतिपय समय यसले काम गर्छ । तपाईंले आफ्नो फोन रिस्टार्ट गर्दा तपाईंको स्लो डेटा स्पिडको समस्या समाधान हुन सक्छ, खासगरी लामो समय मोबाइल अफ नगरेको अवस्थामा ।

तर यदि तपाईं एकदमै हतासमा हुनुहुन्छ भने सुरुमा आफ्नो फोनलाई एयरप्लेन मोडमा राख्न पनि सक्नुहुन्छ । यद्यपि पूर्ण रुपमा मोबाइल रिस्टार्ट गर्नु नै सदैव बुद्धिमानी उपाय हुन्छ । मोबाइल रिस्टार्ट गर्ने समान्य तरिका छन् ।

यदि तपाईंसँग होम बटन नभएको आईफोन छ भने साइड बटनलाई केहीबेर दबाइ राख्नुहोस् । यस अलावा ‘स्लाइड टु पावर अफ’ नदेखिए सम्म ‘भोलुम अप’ अथवा ‘भोलुम डाउन’ बटनलाई थिचिरहनु होस् ।

 

तपाईंको आईफोनको पावर अफ भइसकेपछि अन गर्न पुनः ‘साइड बटन’लाई केहीबेर दबाइराख्नुहोस् । तर यदि तपाईंसँग होम बटन भएको आईफोन छ भने ‘स्लाइड पावर अफ’ नदेखिएसम्म साइड बटनलाई दबाउनुहोस् (सामान्यतया यस्तो बटन फोनको दायाँतर्फ हुने गर्छ ।

तर यदि पुरानो आईफोन हो भने माथि सिरानी भागमा पनि हुनसक्छ) । अधिकांश एन्ड्रोइड फोनहरूमा भने पावर अप्सन नदेखिएसम्म पावर बटन थिच्नुहोस् र रिस्टार्टमा ट्याप गर्नुहोस् ।

यदि तपाईंले ‘रिस्टार्ट’ देख्नु भएन भने ‘पावर अफ’ रोज्नुहोस् र फोनलाई अन गर्न पुनः ‘पावर’ बटन थिचेर राख्नुहोस् । यस्तोमा तपाईंको फोन जुनसुकै भए पनि केही मिनेटसम्म अफ राखेर अन गर्दा राम्रो हुन्छ । 

२. फरक स्थानमा जानुहोस्

 

थुप्रै भौतिक कारणले गर्दा तपाईंको फोरजी एलटीई वा अन्य मोबाइल सेवा स्लो भइदिन सक्छ । यसमा मौसम, नेटवर्क कन्जेसन र सोलार गतिविधिहरू पनि पर्दछन् ।

तर यस मध्ये भूबनौट र भवनहरू नै मुख्य कारण हुने गर्दछन् । यदि तपाईं दुर्गम क्षेत्रमा हुनुहुन्छ, अथवा तपाईं रहेको स्थानमा अनेक किसिमका प्राकृतिक अवरोधहरू (उदाहरणको लागि हिमाल, पहाड र उपत्यका), यस्तोमा सम्भवतः तपाईंले कमजोर सिग्नलको अनुभव गरिरहनु भएको हुनसक्छ ।

यस्तोमा आफू रहेको स्थानबाट अलिक फरक स्थानमा जानुहोस् । तपाईं कुनै अग्लो भवन भित्र हुनुहुन्छ भने पनि यस्तै किसिमको नियम लागु हुन्छ । हुन सक्छ, तपाईं एकदमै घना बस्ती रहेको सहरी क्षेत्रमा हुनुहुन्छ, जहाँ तपाईंको मोबाइलका लागि पूर्ण किसिमको अवरोध बनेको हुनसक्छ ।

यस्तोमा कुनै निश्चित संरचनाभित्र प्रवेश गर्दा किन मोबाइल नेटवर्क स्लो हुन्छ भन्ने लाग्न सक्छ । अन्डरग्राउन्डमा हुँदा अथवा भुइँ तल्ला जस्तो स्थानमा कङ्क्रिटका संरचनाले घेरिएर रहँदा तपाईंको मोबाइल डेटा सिग्नलमा नकारात्मक असर पर्न सक्छ ।

यदि कुनै निश्चित स्थानमा मात्र तपाईंले डेटा स्पिडको समस्या भोगिरहनु भएको छ भने कुनै अन्य स्थानमा जानुहोस् । यस्तोमा तपाईंले आफू रहेको बिल्डिङबाट बाहिर जानुपर्ने वा केही किलोमिटर टाढा जानुपर्ने पनि हुनसक्छ ।

जब तपाईंलाई यसो गर्न अनुपयुक्त हुन्छ, त्यस्तोमा आफ्नो स्पिड सम्बन्धी समस्या समाधान गर्नुको विकल्प हुँदैन । यस्तोमा तपाईंलाई प्राविधिक सहायता आवश्यक पर्ने हुन्छ ।

दुर्भाग्य नै भन्नुपर्छ, वर्तमान नेटवर्क प्रविधिले सम्पूर्ण क्षेत्रमा पूर्ण किसिमको पहुँच दिन सक्दैन । त्यसैले स्लो डेटा स्पिडमा लोकेसन एउटा ठूलो कारक हुने गर्छ । 

३. नेटवर्क धेरै खपत गर्ने एप अपडेट वा डिसेबल गर्नुहोस्

कहिलेकाहीँ तपाईंको डेटा कनेक्सनलाई कुनै एपले ओगटेर राखेको हुनसक्छ । जसले गर्दा अन्य एपहरूका लागि थोरै मात्र ब्यान्डविथ बाँकी रहन पुग्छ ।

यस्तो अवस्थामा तपाईंले मोबाइलमा के भइरहेको छ भन्ने कुरा थाहा पाउन सानो खोजबिन गर्नुपर्ने हुन्छ, कतै तपाईंको ब्यान्डविथ अनावश्यक रुपमा कसैले खाइरहेको त छैन । यदि त्यहाँ त्यस्तो कुनै समस्या छ भने त्यस्तो एपको सेलुलर डेटा कनेक्सनलाई डिसेबल गर्न वा त्यसलाई अनइन्स्टल गर्न सक्नुहुन्छ ।

जब तपाईंको आईफोनको इन्टरनेट स्पिड स्लो हुन्छ, सेटिङबाट सेलुलर हुँदै कुनै पनि एपको सेलुलर डेटा कनेक्सनको पहुँचलाई डिसेबल (बन्द) गर्न सक्नुहुन्छ । त्यसैगरी एन्ड्रोइडमा सेटिङबाट ‘नेटवर्क एन्ड इन्टरनेट’ हुँदै ‘मोबाइल नेटवर्क’ पछि ‘एप डेटा युजेज’ मा जानुहोस् ।

अब त्यसमा कुनै एपमा ट्याप गर्नुहोस् र त्यसपछि ‘ब्याकग्राउन्ड डेटा’ स्लाइडरलाई अफ गरिदिनुहोस् । ता कि त्यस्तो एपले ब्याकग्राउन्डमा डेटा प्रयोग गर्न नसकोस् । यस बाहेक तपाईंले एप स्टोर वा प्ले स्टोरमा गएर एपको अपडेट चेक गर्न पनि सक्नुहुन्छ ।

एप डेभलपरहरूले समय समयमा त्यसमा रहेका ‘बग’ (कमजोरी) सुधार गर्न अपडेटहरू प्रकाशित गरिरहेका हुन्छन् । जसमा स्लो नेटवर्क वा अत्यधिक ब्यान्डविथ खपत गर्ने विषय समेत समावेश हुन सक्छ । 

४. ‘डेटा सेभर’ अथवा ‘लो डेटा मोड’ निष्कृय पार्नुहोस्

आईफोन र एन्ड्रोइड दुवैमा तपाईंको डेटा प्रयोगलाई किफायती गर्ने मोड समेत दिइएको हुन्छ । यदि तपाईंसँग सीमित मात्रामा मात्रै डेटा उपलब्ध छ भने यो फिचर उपयोगी हुन्छ ।

तर यदि तपाईंले अनावश्यक रुपमा त्यसलाई सक्रिय बनाउनु भएको छ भने तपाईंको मोबाइल इन्टरनेट स्पिड स्लो हुन सक्छ । त्यसैले यस्तो मोड निष्क्रिय पार्नु भयो भने तपाईंको डेटा स्पिड फास्ट हुनसक्छ ।

एन्ड्रोइडमा ‘सेटिङ’बाट ‘नेटवर्क एन्ड इन्टरनेट’ हुँदै ‘डेटा सेभर’मा जानुहोस् । यदि तपाईंसँग आईफोन छ भने ‘सेटिङ’बाट ‘सेलुलर’ हुँदै ‘सेलुलर डेटा अप्सन’मा  गएर ‘लो डेटा मोड’ भेट्न सक्नुहुनेछ ।

यदि आफूले कति डेटा प्रयोग गरेँ भन्ने विषयमा तपाईं चिन्तित हुनुहुन्छ भने केही समयपछि यसलाई अन गर्न पनि सक्नुहुन्छ । यसरी यो सेटिङले तपाईंको डेटा स्पिड स्लो बनाइरहेको छ कि छैन भन्ने यकिन गर्न सक्नुहुन्छ ।

यस्तो मोडमा राख्दा तस्वीरमा ट्याप नगरेसम्म लोड हुँदैन अथवा कुनै एप नखोलेसम्म त्यसको ब्याकग्राउन्ड सिङ्क निष्क्रिय हुन्छ । 

५. आफ्नो डेटा कति छ, विचार गर्नुहोस्

आफ्नो मोबाइलमा कति एमबी वा जीबी डेटा छ भन्ने कुरा विचार गर्नुहोस् । यदि मोबाइलमा रहेको डेटा समाप्त भइसकेको छ भने तपाईंको मोबाइल सेवाप्रदायकले डेटा स्पिड स्लो बनाइदिने अथवा अचानक धेरै ब्यालेन्स समाप्त पारिदिन सक्छन् ।

कथित ‘अनलिमिटेड’ प्लानमा समेत तपाईंले नेटवर्क कन्जेसन भएको बेलामा अथवा डेटा प्रयोगमा निश्चित सीमा पार गरेको अवस्थामा स्लो डेटा स्पिडको समस्या झेल्नुपर्ने हुनसक्छ । यस्तोमा तपाईंले थप डेटा लिनुपर्ने वा निश्चित समय कुर्नुपर्ने हुनसक्छ ।

त्यसैले आफ्नो मोबाइल डेटा स्पिड स्लो भएको छ भने तपाईंले कति डेटा प्रयोग गर्नु भयो, विचार गर्नुहोस् । यदि तपाईं निश्चित हुनुहुन्न भने मोबाइल सेवाप्रदायकको मोबाइल एप अथवा वेबसाइट प्रयोग गर्नुहोस् । त्यसपछि मोबाइल डेटाको खपत कम कसरी गर्ने भन्ने विषयमा ध्यान दिनुहोस् । 

६. भीपीएनबाट डिसकनेक्ट गर्नुहोस्

भीपीएनले तपाईंलाई अतिरिक्त स्तरको गोपनीयता प्रदान गर्दछ र भौगोलिक रुपमा निषेध गरिएका सामग्रीमा पहुँचको माध्यम पनि बन्ने गर्छ । तर भीपीएनमा कनेक्ट हुँदा त्यसले तपाईंको मोबाइल डेटा स्पिडलाई कम गरिदिन सक्छ ।

त्यसैले यदि तपाईंको फोन भीपीएनमा कनेक्ट छ र तपाईंलाई मोबाइल डेटा स्पिड धेरै चाहिएको छ भने सुरुमा भीपीएनबाट डिसकनेक्ट गर्नुहोस् । भीपीएनबाट डिसकनेक्ट गर्ने बित्तिकै तपाईंले परिवर्तन अनुभव गर्न सक्नुहुन्छ । 

७. नेटवर्क डाउन भए/नभएको चेक गर्नुहोस्

त्यसो त मोबाइल सेवाप्रदायकहरू आफ्नो सेवा प्रतिको विश्वसनीयतालाई बढावा दिन चाहिरहेका हुन्छन् । तर बेलाबेलामा नेटवर्क अवरुद्ध भइरहन्छ ।

जसले गर्दा इन्टरनेटको स्पिडमा समस्या आउनेदेखि कनेक्सन नै अवरुद्ध हुने सम्मको समस्या देखिन सक्छ । माथि उल्लेखित सबै विषय चेक जाँच गर्दा समेत तपाईंले स्लो मोबाइल डेटाको समस्या भोगिरहनु भएको छ भने नेटवर्क डाउन भएको छ कि छैन भन्ने कुरा पनि विचार गर्नुहोस् ।

यदि वाई-फाई कनेक्सनमा हुनुहुन्छ वा अर्को सेवाप्रदायकको नेटवर्कमा समेत हुनुहुन्छ भने सामान्य किसिमको खोजबिन गर्नुहोस् । यसका लागि डाउन डिटेक्टर जस्ता वेबसाइटको सहयोग लिन पनि सक्नुहुन्छ ।

यदि यस किसिमको समस्या फराकिलो क्षेत्रमा देखिएको हो भने त्यस अघि नै अन्य कसैले रिपोर्ट गरिसकेको हुनसक्छ । यस बाहेक तपाईंले सामाजिक सञ्जालबाट समेत यसको जानकारी लिन सक्नुहुन्छ ।

यस्तोमा ट्वीटर सबैभन्दा उपयुक्त हुन्छ, किन भने प्रयोगकर्ताले यसमा प्रायः आफ्नो कनेक्सन सम्बन्धी समस्याको विषयलाई लिएर ट्वीट गरिरहेका हुन्छन् ।

८. आफ्नो फोनको नेटवर्क रिसेट गर्नुहोस्

कतिपय समयमा फोनको नेटवर्क सेटिङ रिसेट गर्दा समेत स्लो डेटाको समस्या समाधान हुने गर्छ । तर यो अलिक झन्झटिलो प्रक्रिया हुन्छ । यसमा वाई-फाई एक्सेस प्वाइन्टदेखि ब्लुटुथ डिभाइस र यस्तै अन्य प्रकारका एक्सेस प्वाइन्टहरू रिमुभ गर्ने कार्य पर्दछन् ।

यस्ता चिजहरू हटाउनु भनेको कुनै ठूलो कुरा त होइन, तर तपाईंले वाई-फाई नेटवर्कमा पुनः कनेक्ट गराउने र ब्लुटुथ डिभाइसमा पनि पुनः पेयर गराउनुपर्ने हुन्छ । आईफोनमा नेटवर्क रिसेट गर्नका लागि सेटिङबाट जनरल हुँदै ट्रान्सफर अर रिसेट आईफोन भित्र रहेको रिसेट भएर रिसेट नेटवर्क सेटिङ्समा जानुहोस् ।

त्यहाँ तपाईंले पासकोड राख्नुपर्ने हुन्छ । यति गरेसँगै तपाईंको आईफोनको नेटवर्क सेटिङ रिसेट हुन थाल्छ । यसैगरी एन्ड्रोइड फोनमा तपाईंले सेटिङ्सबाट कनेक्सन एन्ड शेयरिङ भित्र रहेको  रिसेट वाई-फाई, मोबाइल नेटवर्क्स एन्ड ब्लुटुथमा पुग्नुहोस् र अन्तिममा रहेको रिसेट बटन दबाउनुहोस् ।

यद्यपि यो सेटिङ तपाईंको मोबाइल निर्माता कम्पनी र एन्ड्रोइड भर्सन अनुसार फरक स्थानमा पनि हुन सक्छ । त्यस्तोमा सेटिङ सर्च बारमा गएर खोज्न पनि सक्नुहुन्छ ।

यद्यपि मोबाइल रिस्टार्ट गरेपछि तपाईंले नेटवर्क रिसेट गरिरहनु पर्ने आवश्यकता त त्यति हुँदैन । तर पनि रिसेट गर्दा उचित हुन्छ । 

९. सिमकार्ड झिकेर पुनः राख्नुहोस्

यति गर्दा पनि भएन भने आफ्नो मोबाइलबाट सिमकार्ड झिक्नुहोस् र त्यसलाई पुनः राख्नुहोस् । यसो गर्दा तपाईंको फोन र मोबाइल सेवाप्रदायक बीचको सम्पर्कमा असर पुर्‍याइरहेका समस्या समाधान हुन सक्छन् । 

१०. आफ्नो सेवाप्रदायकलाई सम्पर्क गर्नुहोस्

माथि सुझाइएका कुनै पनि उपायले तपाईंको स्लो डेटा कनेक्सनको समस्या समाधान भएन भने प्राविधिक सहायताका लागि कल गर्नुहोस् । गुगल सर्च वा मोबाइल एपबाट सेवाप्रदायकको सम्पर्क नम्बर फेला पार्न सक्नुहुन्छ ।

तर एउटा कुरा दिमागमा के राख्नुहोस् भने प्राविधिकले माथि सुझाइएकै उपायहरू अपनाउन लगाउन सक्छन् । 

आखिर किन स्लो छ डेटा स्पिड ? तपाईंले थाहा पाइसक्नु भयो होला

आशा गरौँ तपाईंले आफ्नो सेवाप्रदायकलाई कल नगरिकनै डेटा स्पिडको समस्या समाधान गर्न सक्नुहुन्छ । तर माथि उल्लेखित उपायहरूले काम गरेनन् भने तपाईंको सेवाप्रदायकमै कुनै समस्या हुनसक्छ ।

जसलाई तपाईं स्वयम्‌ले समाधान गर्न भने सक्नुहुन्न । त्यसैले तपाईंका लागि आफ्नो सेवाप्रदायकलाई कल गर्नु बाहेक अरु विकल्प नहुन सक्छ । 

https://www.techpana.com/2021/112417/