काठमाडाैं । सामान्यतया कारमा हुने दुर्घटनाबाट बच्न ड्राइभर र ड्राभरसँगै सिटमा बस्ने यात्रुका लागि एयरब्याग राखिएको हुन्छ । पछिल्ला केही नयाँ गाडीमा पछाडि सिटमा बस्नेहरूको लागि पनि एयरब्याग उपलब्ध गराइएको छ ।

 

एयरब्याग नभएको अवस्थामा सिटबेल्ट बान्दा पनि दुर्घटनामा घाइते हुने सम्भावना हुन्छ । तीव्र गतिमा गुडिरहेको गाडीमा सवार भएको यात्रुको शरीरलाई १०० मिलिसेकेन्डभित्र कमभन्दा कम क्षति हुने गरी रोक्न इन्जिनियरिङका लागि एउटा चुनौती नै थियो ।

 

यस्तो प्रविधिले आज धेरैको ज्यान जोगाएको छ । आजको लेखमा हामी एयरब्यागले कसरी काम गर्छ भनेर कुरा गर्नेछौं । 

 

के हो त एयरब्याग ?

 

सामान्य भाषामा भन्दा एयरब्याग एउटा हावा भरिएको कुसन जस्तै हो, जसले दुर्घटनाको समयमा गाडीको गतिसँगै मानव शरीर हुत्तिँदाको गति कम गर्ने काम गर्छ ।

 

हुन त सिट बेल्टको प्रयोगले पनि दुर्घटनाको समयमा शरीरको गतिलाई स्थिर राख्ने काम गर्छ । यद्यपि सिट बेल्टको पकड एकदमै बलियो हुने हुँदा गाडी अचानक कतै ठोक्किँदा यसको पकडको कारण छातीमा असर पर्नसक्छ ।

यसर्थ सिटबेल्टले तपाईंको घाँटीभन्दा माथि र घुँडाभन्दा माथिको भागलाई मात्र स्थिर गर्ने काम गर्छ । यसरी उच्च गतिको दुर्घटनामा सवार यात्रुको घाँटी अगाडितिर झुकेर टाउको ठोक्किने अथवा अन्य कुनै गम्भीर चोट लाग्नसक्ने सम्भावना हुन्छ ।

यही जोखिमलाई कम गर्ने सोचमा इन्जिनियरहरूले एयरब्यागको अवधारणा अगाडि ल्याएका हुन् । एयरब्याग कुसन जस्तो हुने हुँदा यसले टाउको र शरीरलाई उच्च गतिको दुर्घटनामा स्थिर राख्न मद्दत गर्छ ।

 

सबैभन्दा सुरुमा ‘कम्प्रेस्ड एयर म्यानेजमेन्ट’ प्रणालीमा आधारित एयरब्याग निर्माण गरिएको थियो । यो प्रणालीमा हावालाई एयरब्यागमा खाँदेर राखिएको हुन्छ ।

गाडी दुर्घटनामा परेको एयरब्यागको स्प्रिङले डिटेक्ट गर्नेवित्तिकै सो खाँदिएको हावा ब्यागमा भरिएर आउँछ र यात्रुको अगाडि कुसन जस्तैगरी रहन्छ ।

यद्यपि यो एयरब्याग सफल हुन सकेन । किनभने एयरब्यागमा भएको स्प्रिङले गाडी कतै ठोक्किँदा अथवा कुनै दुर्घटना भएको ठ्याक्कै पत्ता लगाउन सकेन भने अर्कोतिर दुर्घटना हुनेवित्तिकै खाँदिएको हावा एयरब्यागमा भरिन समय लाग्यो ।

यसले जोखिमलाई झन् उच्च बनायो । यसरी यो बजारमा नै नआई स्थगित भयो ।

 

यसलगत्तै जोयसन सेफ्टी सिस्टमका फाउन्डर एलन के ब्रिड यो समस्यालाई सम्बोधन गर्दै एयरब्यागका फिचरहरूमा परिवर्तन गरे । उनले सबैभन्दा पहिले ‘बल एण्ड ट्युब सेन्सर’ प्रयोग गरेर एयरब्यागको सेन्सरमा सुधार गरे ।

यो सेन्सरमा दुईवटा चुम्बकमा स्टिलबाट बनेको बल राखिएको हुन्छ । गाडी ठोक्किँदा सो बल हुत्तिएर अगाडि जान्छ र इन्फ्लेटर (हावा भर्ने वस्तु) मा ठोकिन्छ र ब्यागमा हावा भरिन्छ ।

त्यस्तै उनले खादिएको हावाको ठाउँमा सोडियम एजाइड नामक रसायन प्रयोग गरेर ‘केमिकल एक्सप्लोसिभ’ को प्रयोग गरे । सोडियम एजाइड ३०० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा परेपछि यो स्वतः ग्यासको रुपमा परिणत हुन्छ ।

५० ग्राम सोडियम एजाइडले ७० लिटर नाइट्रोजेन ग्यास उत्पादन गर्नसक्छ । यो रसायन गाडीको स्टेरिङभित्रको एयरटाइट सिलिन्डरमा भरिएको हुन्छ । 

यसरी सो स्टिलको बले पठाएको इलेक्ट्रिक सिग्नल पाइरोटेक्निक डिभाइसमा पुग्छ । पाइरोटेक्निक डिभाइस भनेको एउटा पातलो वायर हो, जसले स्टिल बलबाट सिग्नल आउनेवित्तिकै ३०० डिग्री सेल्सियसभन्दा माथिको तापक्रम उत्पादन गर्छ ।

यसले गर्दा सिलिन्डरमा भएको सोडियम एजाइड ग्यासमा परिणत हुन्छ र सो ग्यास एयरब्यागमा भरिन्छ । यो सम्पूर्ण प्रक्रिया ३० मिलिसकेन्डको समयमा पुरा भइसकेको हुन्छ ।

ब्रिडले गरेको यो दुई सुधारले गर्दा एयरबजार व्यावसायिक रुपमा बजारमा आयो र आज यो प्रचलनमा छ । सबैभन्दा सुरुमा यो एयरब्याग सन् १९९८ मा क्रिसलरको डज डेटोना मोडेलको कारमा प्रयोग गरिएको थियो ।

यसले ठूलो सफलता पायो र सो पश्चात थुप्रै कार उत्पादक कम्पनीहरूले यसको प्रयोग गर्न थाले ।

यद्यपि यो एयरब्यागमा पनि केही कमजोरी थिए । जस्तो कि सोडियम एजाइडमा उत्पन्न भएको ग्याँस मानव शरीरका लागि विषालु थियो । यसले मानवलाई असर गर्न सक्थ्यो ।

हाल बजारमा भएको एयरब्यागमा सोडियम एजाइडको ठाउँमा ग्वानडिन नाइट्रेट प्रयोग गरिन्छ । यसले पनि ग्याँस उत्पादन गर्न सक्छ र कम विषालु पनि हुन्छ । 

यो सबैका बावजुद पनि एयरब्याग पूर्ण भइसकेको थिएन । साना-तिना खाल्डोहरूमा पनि एयरब्याग खुल्ने समस्या हुन थाल्यो । यसको अर्थ हो, एयरब्यागको सेन्सरले खाल्डो र दुर्घटना पत्ता लगाउन सकेन ।

यो समस्यालाई सामाधान गर्न आजभोलि ‘एमईएमएस’ सेन्सर प्रयोग गरिन्छ । यसमा प्रयोग गरिएको अल्गोरिदमले कुन अवस्था कतिको जोखमपूर्ण भनेर पत्ता लगाउन सक्छ  र २० देखि ३० मिलिसेकेन्डमा एयरब्याग ओपन हुन्छ ।

यसरी एयरब्यागले कुनै पनि दुर्घटनामा हाम्रो जोखिमलाई कम गर्न मद्दत गर्छ ।   

https://www.techpana.com/2021/112487/