काठमाडौं । दूरसञ्चार क्षेत्रको नयाँ प्रविधि ‘फाइभजी’ ले विमानको विद्युतीय उपकरणमा नकारात्मक असार पार्ने भन्दै विमान निर्माता कम्पनीहरूले अमेरिकालाई तत्काल लागू नगर्न आग्रह गरेका छन् । विश्वका दुई ठूला विमान निर्माता कम्पनी बोइङ र एयरबसले अमेरिकी सरकारलाई पत्र लेखेर यस विषयमा जानकारी गराएको बीबीसीले जनाएको छ ।

 

उनीहरूले फाइभजी प्रविधिले नागरिक उड्यन उद्योगमै नकारात्मक प्रभाव पार्ने चेतावनी समेत दिएका छन् । ‘फाइभजीले विमानको विद्युतीय उपकरणको कामलाई प्रभावित पार्न देखिएको छ,’ उनीहरूले आग्रह गर्दै भनेका छन्, ‘फाइभजीले विमानको सुरक्षित उडान गर्ने क्षमतालाई नकारात्मक असर पार्न सक्छ । त्यसैले तत्कालै फाइभजी प्रविधि लागू गर्न हतार नगर्न आग्रह गर्दछौं ।’

 

अमेरिकाका दुई ठूला दूरसञ्चार कम्पनी एटीएन्डटी र भेरिजनले सन् आउँदा जनवरी ५ देखि फाइभजी प्रविधि लागू गर्ने तयारी गरिरहेका छन् । दुई ठूला कम्पनीले एकै पटक फाइभजीको व्यवसायीक सुरुवात गर्ने तयारी गरिरहेको अवस्थामा विमान निर्माता कम्पनीहरूले यस्तो आग्रह गरेका हुन् ।

 

बोइङका डेभ कल्हन र एयरबस अमेरिकाका जेफ्री निटलले अमेरिकी यातायातमन्त्री पीट बूटजेजलाई पत्र पठाएर यस्तो जानकारी दिएका हुन् । उनीहरूले पठाएको पत्रमा अध्ययन प्रतिवेदन सहित समावेश रहेको जनाइएको छ । उक्त अध्ययनले विमानको उचाइ मापन यन्त्रजस्ता महत्वपूर्ण उपकरणलाई फाइभजीले असर गर्न सक्ने देखाएको छ ।

 

यो विषयमा अमेरिकी दूरसञ्चार सेवा प्रदायकले भने तथ्य बंग्याएर त्रास उत्पन्न गर्ने काम गरेको आरोप लगाएका छन् । उनीहरूले फाइभजी प्रविधि पूर्ण रुपमा सुरक्षित रहेको दावी समेत गरेका छन् । 

https://www.techpana.com/2021/112606/