काठमाडौं । एप्पलले अहिलेसम्मकै सस्तो फोन ‘आईफोन एसई थ्री’ ल्याउने तयारी गरेको छ । परीक्षण उत्पादन सुरु भइसकेको यो आईफोन सन् २०२२ को दोस्रो त्रैमाससम्म विश्वबजारमा सार्वजनिक हुने अनुमान गरिएको छ ।

 

कम्पनीकै ए१५ बायोनिक एसओसीमा आधारित हुने फोन ३ र ४ जीबी र्‍याम भेरियन्टमा उपलब्ध हुनेछ । साथै यो फोनले फाइभजी सपोर्ट गर्ने जनाइएको छ ।

 

फाइभजी कनेक्टिभिटी र कम्पनीको आफ्नै चिपसेट ए१५ मा आधारित आईफोन हुने चर्चासँगै यसले करोडौं एन्ड्रोइड प्रयोगकर्ता आफूतिर तान्ने विश्लेषण गरिएको छ ।

 

हालसम्म प्राप्त जानकारीअनुसार यो फोनमा ४.७ इन्चको रेटिना एचडी एलसीडी डिस्प्ले हुनेछ । होम बटनमै फिंगरप्रिन्ट सेन्सरका साथ आउने फोनमा फेस लक लगायतका सुरक्षा फिचर उपलब्ध हुनेछन् ।

 

फोनमा १२ मेगापिक्सेलको मुख्य क्यामेरा रहनेछ । यो फोनले क्वालकम स्न्यापड्रागन एक्स६० फाइभजी मोडियम चिपसमेत सपोर्ट गर्नसक्ने अनुमान गरिएको छ ।

 

यो चिप हाल आईफोन १३ सिरिजमा प्रयोग गरिएको छ । यस हिसाबले पनि यो फोनले मिडरेन्जमा नयाँ बजार सिर्जना गर्नसक्ने अनुमान गरिएको छ ।

विशेषगरी उच्च मूल्य र प्रविधिका कारण छुट्टै पहिचान बनाएको एप्पलको सस्तो मूल्यमा आईफोन ल्याउने तयारीसँगै एन्ड्रोइड स्मार्टफोनको व्यवसायमा धक्का पुग्ने आँकलन गरिएको छ ।

यो आईफोन नेपाली ५० हजार रुपैयाँको हाराहारीमा उपलब्ध हुने अनुमान छ । 

https://www.techpana.com/2021/112634/