काठमाडौं । गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले विद्युतीय राहदानी लिनका लागि प्रदेश अनुसार स्थान तोकेको छ । विद्युतीय राहदानी जारी गर्दा त्यसको विवरण भिडाई एकिन गर्ने कार्य हाल राष्ट्रिय परिचयपत्र सूचना प्रणालीबाट हुने गरेको छ  ।

 

यसलाई व्यवस्थित गर्न विभागले आइतबारबाट लागू हुने गरी स्थान तोकेको हो । विभागका अनुसार हाल ७७ जिल्ला प्रशासन कार्यालय, १७ वटा इलाका प्रशासन कार्यालय तथा नारायणहिटी दरबारमा रहेका स्टेसनहरूमा लाइभ इनरोलमेन्ट (विवरण प्रविष्ट) मार्फत विवरण एकिन गरी राष्ट्रिय परिचय नम्बर लिन सकिन्छ ।

 

यस्तोमा विद्युतीय राहदानी आवश्यक पर्ने व्यक्तिले आफ्नो जिल्लाबाटै विवरण प्रविष्ट गरी राष्ट्रिय परिचय पत्र नम्बर लिन सक्ने छन् । उक्त राष्ट्रिय परिचय पत्र नम्बरका आधारमा विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट गर्ने कार्य हाल काठमाडौंको त्रिपुरेश्वरमा रहेको राहदानी विभाग, काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका जिल्ला प्रशासन कार्यालयबाट भइरहेको छ ।

 

विभागका अनुसार लाइभ इनरोलमेन्ट स्टेसन विस्तारै अन्य जिल्लामा समेत विस्तार हुँदै जानेछ । यस्तोमा विभागले तत्काल राहदानी आवश्यक नपर्नेले राष्ट्रिय परिचयपत्र नम्बर नलिन समेत आग्रह गरेको छ ।

 

साथै भिडलाई व्यवस्थित गर्न विद्युतीय राहदानीका लागि आवश्यक लाइभ इनरोलमेन्टका लागि प्रदेश अनुसार स्थान तोकेको छ । नयाँ व्यवस्था अनुसार अब बागमती प्रदेशका ललितपुर र भक्तपुर बाहेक सबै जिल्ला तथा प्रदेश नम्बर २ का सबै जिल्लाका आवश्यक सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सेवा लिन सक्नेछन् ।

 

त्यस्तै ललितपुर जिल्ला, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका सबै जिल्लाका सेवाग्राहीले ललितपुर जिल्ला प्रशासन कार्यालयबाट लिन सक्ने उल्लेख छ ।

बाँकी रहेका प्रदेश १ र गण्डकी प्रदेशका सबै सबै जिल्लाका सेवाग्राहीले नारायणहिटी दरबार परिस (साविकको राहदानी विभाग) बाट सेवा लिन सक्ने जनाइएको छ ।

https://www.techpana.com/2021/112759/