काठमाडौं । प्रयोगकर्तालाई डिजिटल बैंकिङ सम्बन्धी जानकारी दिने उद्देश्यले नेपाल बैंकले सुरु गरेको ‘डिजिटल बैंकिङ वित्तीय साक्षरता अभियान’ अन्तर्गत कर्णाली प्रदेशको कार्यक्रम सम्पन्न भएको छ । विगत दुई वर्षदेखि नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले डिजिटल बैंङ वित्तीय साक्षरता अभियान सञ्चालन गर्दै आएको छ ।

 

पछिल्लो समयमा अन्य प्रदेशहरूमा अभियान सक्रिय रुपमा सञ्चालन भइरहेको भए पनि कर्णाली प्रदेशमा भने खासै कार्यक्रमहरू सञ्चालन हुन सकेको थिएन । ‘अन्य प्रदेशहरूमा यो अभियान सक्रिय रुपमा सञ्चालन भइरहे पनि कर्णालीमा भने सुस्ताएको थियो ।’

 

‘यद्यपि यो वर्ष भने कर्णालीमा पनि यो कार्यक्रम राम्रोसँग सञ्चालन भएको छ,’ बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले भने । उनका अनुसार यो वर्ष कर्णाली प्रदेशको सुर्खेत र जुम्लाका विभिन्न स्कुलहरूसँग मिलेर बैंकले आफ्ना स्थानीय शाखाहरूमार्फत यो कार्यक्रम सम्पन्न गरेको हो ।

 

विश्व नै डिजिटाइज भइरहेको समयमा बैंकिङ क्षेत्रमा उपलब्ध भएका डिजिटल सुविधाहरूको बारेमा मानिसहरूलाई बुझाउन र प्रयोग गर्ने तरिका सिकाउन बैंकले यो अभियान सुरु गरेको हो । अभियान अन्तर्गत विभिन्न विद्यालय, कलेज तथा अन्य संस्थाहरूसँग समन्वय गरेर बैंकले डिजिटल वित्तीय साक्षरता, डिजिटल बैंकिङ प्रविधिको महत्त्व र प्रविधिको प्रयोग, लगायत नेपाल बैकका विभिन्न सेवा सुविधाहरूको बारेमा जानकारी दिने गरिएको छ ।

 

‘अबको आवश्यकता भनेकै डिजिटल बैंकिङ हो । त्यसैले यस विषयमा हरेक जनताले बुझ्नुपर्छ भन्ने उद्देश्यका साथ हामीले यो अभियान सुरु गरेका हौँ,’ उनले थपे । 

https://www.techpana.com/2021/112959/