काठमाडौं । पासवर्ड म्यानेजर एप ‘लास्टपास’ का प्रयोगकर्तामाथि साइबर आक्रमण भएको छ । कम्पनीका अनुसार ह्याकरहरूले केही प्रयोगकर्ताको क्लाउडको पासवर्ड ह्याक गरेर प्रयोगकर्ताको अकाउन्टमा पहुँच लिने प्रयास गरेका थिए ।

 

यद्यपि हालसम्म कुनै पनि अकाउन्ट ह्याक भएको रेकर्ड नभेटिएको कम्पनीको दाबी छ । यस्तो आक्रमण यो हप्ताको सुरुदेखि पहिचान भएको जनाइएकाे छ ।

 

धेरै प्रयोगकर्ताले ह्याकिङको विषयमा सामाजिक सञ्जालमा शेयर गरेपछि ‘लास्टपास’ ले साइबर आक्रमण भएको स्वीकारेको थियो ।

 

यस्तो प्रकारको ह्याकिङलाई ‘क्रेडेन्सियल ह्याकिङ’ भनिन्छ, जुन विशेषगरी गेमिङ अकाउन्ट, सामाजिक सञ्जालका अकाउन्टहरू, अनलाइन शपिङ साइट लगायतमा बढी हुने गरेको पाइन्छ ।

 

यस्तो प्रकारको ह्याकिङ कुनै पासवर्ड म्यानेजर सर्भिसमा भएको यो पहिलो पटक हो । यसले विशेषगरी क्लाउड अकाउन्ट भएका ‘लास्टपास’ का प्रयोगकर्तालाई लक्षित गरेको थियो ।

 

प्रयोगकर्ताले सुरक्षित पासवर्डका लागि यस्ता पासवर्ड म्यानेजर एपको प्रयोग गर्ने गर्छन् । तर यस्तो प्रणालीमा समेत साइबर हमला हुँदा प्रयोगकर्ताको विवरण जोखिममा पर्नसक्ने देखिएको छ ।

https://www.techpana.com/2021/113637/