काठमाडौं । सरकारले ‘सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि, २०७५’ जारी गर्दै सामाजिक सञ्जाललाई अनिवार्य बनायो । उक्त कार्यविधिमा सबै सरकारी निकायले ट्विटर, फेसबुक, भाइबरलगायत सामाजिक सञ्जालमा एकाउन्ट खोलेर सञ्चालन गर्नुपर्ने र त्यसैमार्फत गुनासा सम्बोधन र सूचना तथा जानकारीहरू सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

 

सामाजिक सञ्जाल नभएका सरकारी निकायको हकमा फेसबुक, ट्विटरमा खाता खोलेर प्रयोगमा ल्याउनुपर्ने तथा सामाजिक सञ्जाल सञ्चालन गर्न आवश्यक जनशक्ति खटाउन सकिने व्यवस्था समेत उक्त कार्यविधिले गरेको थियो । जसको उद्देश्य जनतासँग संवाद बढाउन तथा सरकारका सूचनाहरू तीव्र गतिमा आदानप्रदान गर्न र जनगुनासाहरू शीघ्र सम्बोधन गर्न सहयोग पुर्‍याउनु थियो ।

 

तर, उक्त कार्यविधि मन्त्रालयहरू बाटै अनुसरण नगरिएको पाइएको छ । कुनै समय प्रधानमन्त्री कार्यालयले जनताको गुनासो सुन्ने माध्यमको रुपमा रहेको ‘हेलो सरकार’ को सामाजिक सञ्जाल सन् २०२० देखि निष्क्रिय छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको समयमा सरकारका आधिकारिक निर्णय तथा सूचनामा प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्यान्डल, व्यक्तिगत ट्वीटर ह्यान्डल र प्रधानमन्त्रीका प्रेस सल्लाहकारको ह्यान्डल सक्रिय रहँदा ‘हेलो सरकार’ ओझेलमा परेको थियो ।

 

ओली सरकारपछि अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार छ । तर, देउवा सरकार सामाजिक सञ्जालमा त्यति सक्रिय भएको पाइदैन । प्रधानमन्त्रीको ट्वीटर तथा फेसबुक पेज पनि त्यति धेरै अपडेट भएको देखिँदैन् । यस्तोमा ओझेलमा परेको ‘हेलो सरकार’ पूनः सक्रिय हुन सक्ने ठाउँ भएता पनि अझै निष्क्रिय नै छ ।

 

देउवा सरकारमा हाल २४ ओटा मन्त्रालय छन् । त्यसमध्ये धेरै अधिकांश मन्त्रालयको सामाजिक सञ्जाल निष्क्रिय छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको फेसबुकमा आज भन्दा चार महिना अघि अर्थात सेप्टेम्बर १७ मा अन्तिम पटक जानकारी राखिएको छ । त्यसैका अघिल्लो दिन अर्थात सेप्टेम्बर १६ मा भएको ट्वीट नै मन्त्रालयको अन्तिम हो ।

 

सामाजिक सञ्जालसँग सबैभन्दा नजिक रहेको मन्त्रालयको रुपमा हेरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पनि पछिल्लो समय सुस्ताएको छ । मन्त्रालयको फेसबुक पेजमा अगस्ट अघिसम्म विभिन्न सार्वजनिक सूचना तथा जानकारी राख्दै आएको देखिन्छ । त्यसपश्चात् भने साप्ताहिक हुने पत्रकार सम्मेलनको लाइभ कार्यक्रम भन्दा थप कुनै जानकारी उपलब्ध छैन् । ट्वीटर त सेप्टेम्बर देखि पूर्ण रुपमा निष्क्रिय छ ।

मन्त्रालय अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सामाजिक सञ्जाल भने सबैभन्दा सक्रिय छ । बिहीबार सार्वजनिक बिदा भएता पनि मन्त्रालयको फेसबुक तथा ट्वीटर भने सक्रिय नै छ । बिहीबार मात्रै धेरैओटा पोस्ट भएका छन् । सँगै गृह मन्त्रालय पनि सामाजिक सञ्जाल निरन्तर अपडेटमा छ । बिहीबार तमु ल्होसारमा दिइने सार्वजनिक बिदाको जानकारी बुधबार मन्त्रालयको सामाजिक सञ्जालमा राखिएको छ ।

त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ट्वीटरमा बढी सक्रिय रहेको देखिन्छ । मन्त्रालयको ट्वीटरमा बुधबारमात्रै नवप्रवर्तक साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ राखिएको छ । तर, फेसबुकमा भने गएको डिसेम्बर १० तारिखदेखि कुनै अपडेट भएको छैन । यो बिचमा ट्वीटरमा पाँच ओटा पोष्ट आइसकेको छन् ।

 

अर्थ मन्त्रालयले आफ्नै फेसबुक पेज भने सञ्चालन गरेको छैन । ट्वीटर समेत गएको डिसेम्बर १० तारिख देखि अपडेट भएको देखिँदैन । फेसबुकको स्थानमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगको फेसबुक पेज कनेक्ट गरिएको छ । त्यसै गरी खानेपानी मन्त्रालयको फेसबुक पेजमात्रै रहेको देखिन्छ । तर, उक्त फेसबुक पेज पनि सन् २०१८ देखि नै निष्क्रिय छ । वेबसाइटमा फेसबुक, ट्वीटर, युट्युबको लोगो राखिएको भएता पनि त्यसमा कुनै सामाजिक सञ्जाल लिंक गरिएको छैन ।

परराष्ट्र मन्त्रालय पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय जस्तै ट्वीटरमा बढी सक्रिय रहेको देखिन्छ । ट्वीटरमा यही सोमबार अन्तिम पोष्ट भएको छ । तर, फेसबुक भने गएको मे महिना देखी निष्कृय रहेको छ । अर्कोतर्फ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको फेसबुक पेज भएता पनि त्यो सन् २०१५ देखि निष्क्रिय छ ।

ट्वीटरमा भने कुनै ह्याण्डल फेला पर्न सकेन । तर, यस मन्त्रालय अन्तर्गत रहेको यातायात विभागको सामाजिक सञ्जाल भने निकै सक्रिय छ । त्यसैमार्फत यातायात कार्यलयको जानकारी दिने हुँदा पनि मन्त्रालय अन्तर्गतका विभाग सामाजिक सञ्जालमा सक्रिय छन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको सामाजिक सञ्जाल भने सक्रिय नै छ । फेसबुक तथा ट्वीटर दुवैमार्फत सोमबार अन्तिम जानकारी सार्वजनिक गरिएको छ । अर्कोतर्फ कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको फेसबुक तथा ट्वीटर नै नभएको पाइयो ।

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय गएको सेप्टेम्बरमा फेसबुक पेजको कभर फोटो परिवर्तन गरेर गायब भएको छ । ट्वीटरमा ह्याण्डल भएता पनि हालसम्म कुनै ट्वीट गरिएको छैन् । अर्को कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत सेप्टेम्बरसम्म ट्वीटरमा कुनै जानकारी राखेको छैन । अर्को सामाजिक सञ्जाल फेसबुकमा त मन्त्रालयको पेज नै डिलिट गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सामाजिक सञ्जाल फेसबुकमा बढी सक्रिय रहेको देखिन्छ । फेसबुकमा आइतबार सम्म पोष्ट भएको छ । तर, ट्वीटरमा भने नोभेम्बर यता कुनै अपडेट भएको छैन् । भूमि व्यवस्था, सकारी तथा गरिबी निवारण मन्त्रालयको कुनै सामाजिक सञ्जाल भेटिएन । कुनै समय ट्वीटर ह्याडल भएको भएतापनि अहिले उक्त ह्याडल समेत डिलिट भएको छ ।

त्यस्तै, शहरी विकास मन्त्रालयले फेसबुक पेज सञ्चालनमा ल्याएको भएता पनि प्रयोगमा भने छैन् । सन् २०१५ मा खोलिएको उक्त फेसबुक पेजमा खोलेको भोलिपल्ट राखिएको एउटा पोस्ट भन्दा थप कुनै जानकारी उपलब्ध छैन । ट्वीटरमा भने मन्त्रालय देखिएन ।

अर्को मन्त्रालय वन तथा वातावरण भने ट्वीटरमा अलि बढी सक्रिय देखिन्छ । मन्त्रालयको ट्वीटर ह्याडलमार्फत यही डिसेम्बर २० मा अन्तिम पोष्ट भएको छ । तर, फेसबुकमा भने जुन ४ मा भएको पोष्ट नै अन्तिम हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पनि पछिल्लो लामो समयदेखि सामाजिक सञ्जालमा निष्क्रिय देखिन्छ । मन्त्रालयको ट्वीटर ह्याण्डलमा नोभेम्बर १६ यता कुनै अपडेट भएको छैन । भने, फेसबुक पेज डिलिट गरिएको छ ।

युवा तथा खेलकुद मन्त्रालय भने सामाजिक सञ्जालमा निरन्तर सक्रिय रहेको देखिन्छ । मन्त्रालयको दुबै सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमार्फत बुधबारमात्रै सूचना जारी गरिएको छ ।

https://www.techpana.com/2021/113979/?