काठमाडौं । सम्भव भएसम्मका सबै सरकारी सेवा एउटै एपबाट उपलब्ध गराउने उद्देश्यका साथ ल्याइएको नागरिक एपमा डिजिटल वालेट इन्टिग्रेट (जोडिने) हुने क्रम सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतका अनुसार हाल ई-सेवा, खल्ती, आईएमई पे र कनेक्ट आईपीएस नागरिक एपमा जोडिएका छन् ।

 

त्यसो त नागरिक एपमा आवद्ध हुन भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकको गरी १० ओटा आवेदन परेका थिए । बाँकी कम्पनीको आवेदन तथा पूर्वशर्त हेर्ने र आवश्यक मापदण्ड पूरा भए/नभएको जानकारी गराउने काम भइरहेको छ ।

 

यसरी क्रमशः आवेदन दिएका बाँकी भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकलाई समेत नागरिक एपमा इन्टिग्रेट गरिने बताइएको छ । डिजिटल भुक्तानीका लागि आवश्यक सिस्टम तयार भए पनि नागरिक एपमार्फत भुक्तानी गर्न सकिने सेवा भने उपलब्ध हुन सकेका छैनन् ।

 

सेवा दिने कार्यालयले बेवास्ता तथा ढिलाई गर्दा नागरिक एपमा भुक्तानी सेवा लाइभ गर्न नसकिएको मन्त्रालय स्रोतले जनाएको छ ।  हाल यातायातको विवरण हेर्ने सुविधा नागरिक एपमा उपलब्ध छ ।

 

बागमती प्रदेश सरकारले अनलाइनबाटै यातायातको नवीकरण गर्न सकिने सेवा सुरु गरिसकेको छ । तर उक्त सेवा नागरिक एपमा उपलब्ध गराउन भने प्रदेश सरकारले कन्जुस्याईँ गरिरहेको मन्त्रालयका एक कर्मचारीले बताए ।

 

‘सिस्टम तयार भइसकेको अवस्थामा पनि नागरिक एपमा राख्ने कुरामा स्वीकृति दिन नमानिरहेको अवस्था छ,’ ती कर्मचारीले भने, ‘सकेसम्म छिटो नागरिक एपमार्फत यातायातको भुक्तानी गर्न सकिने सुविधा दिने प्रयास भने जारी छ ।’

त्यसो त नागरिक एपमा आवद्ध हुने सबै डिजिटल भुक्तानीका माध्यमबाट त्यसमा उपलब्ध सेवाको भुक्तानी गर्न भने सकिने छैन । सम्बन्धित सेवा कार्यालयसँग सम्झौता गरेका डिजिटल भुक्तानीका माध्यमलाई मात्रै भुक्तानीको रुपमा स्वीकार गरिनेछ ।

यातायात बाहेक शिक्षा मन्त्रालयको नो अब्जेक्सन लेटर, लोकसेवाको आवेदन दस्तुरको भुक्तानी सुविधा नागरिक एपमा निकट भविष्यमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

 

त्यस्तै सरकारलाई राजस्व भुक्तानी गर्नुपर्ने अन्य सेवाहरू समेत यसमा थप गर्दै लगिने सञ्चार मन्त्रालयले जनाएको छ । तर त्यसका लागि सञ्चार मन्त्रालयले पत्र पठाउँदा समेत सम्बन्धित मन्त्रालय र कार्यालयले त्यसलाई बेवास्ता गर्दै आएका छन् ।

https://www.techpana.com/2021/113987/