बैतडी । घाम लागेको दिन फोरजी सेवा चले पनि बादल लागेको दिन बैतडीका अधिकांश स्थानीय तहमा मोबाइल सेवा बन्द हुन थालेपछि प्रयोगकर्ताको गुनासो बढ्दै गएको छ ।

 

बत्ती नहुँदा सौर्य ऊर्जाबाट सञ्चालनमा रहेका नेपाल टेलिकमका टावरले काम नगर्दा बैतडीको पुरचौडी नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र डिलासैनी गाउँपालिकाको टेलिफोन सेवा अवरुद्ध हुने गरेको हो ।

 

‘घाम लागेको दिन त फोरजी पनि चल्छ,’ पुरचौडी नगरपालिकाका स्थानीय लोक साउद भन्छन्, ‘बादल लागेको दिन भने नेटवर्क नै आउँदैन । मोबाइल थन्क्याउनुपर्छ ।’

 

बैतडीमा सञ्चालित नेपाल टेलिकमका ३० वटा टावरमध्ये १३ वटा टावर सोलार पावरबाट चल्ने गरेको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रमराम टमाटाले बताएको आजको गोरखापत्रमा उल्लेख छ ।

 

‘अधिकांश स्थानीय तहमा बिजुली पुगेको छैन । टेलिकमले सौर्य ऊर्जा जडान गरेर सेवा दिनुपरेको छ । बादल लागेको दिन सेवा अवरुद्ध हुने गरेको छ ।’

 

नेपाल टेलिकमले स्थानीय तहमा सञ्चार सुविधा दिन पुरचौडी नगरपालिकाको कुवाकोट, विजयपुर, महराज, शिवनाथ गाउँपालिकाको शर्माली, पञ्चेश्वर गाउँपालिकाको रोडिदेवल, गिरेगाडा र पञ्चेश्वरमा टावर निर्माण गरेको छ ।

त्यसैगरी, मेलौली नगरपालिकाको दुर्गास्थान, डिलासैनी गाउँपालिकाको कोटपटरा र सिगास गाउँपालिकाका सिमास, गाँजरी र शिखरपुरमा टावर निर्माण गरेको छ । बिजुली नहुँदा यी सबै १३ वटा टावर सौर्य ऊर्जाबाट सञ्चालनमा रहेका छन् ।

बैतडीका ७० प्रतिशत गाउँमा विद्युत् सेवा नहुँदा बादल लागेको दिन मोबाइल चार्ज गर्न पनि समस्या हुने गरेको स्थानीयहरूको गुनासो छ । बादल लागेको दिन फोन सेवा बन्द हुने गरेको दुर्गास्थानका स्थानीय प्रदीप भट्टले बताए ।

 

सदरमुकाम नजिकैको दशरथचन्द नगरपालिका-७ ऐचेकाँडामा रहेको नेपाल टेलिकमको टावरले बादल लागेको दिन काम नगर्ने उनको अनुभव । टेलिफोन सेवा अवरुद्ध भएको गुनासो आए पनि नेपाल टेलिकम बैतडीसित स्रोत नहुँदा थप ब्याट्री र सोलारपाता थप्न नसकेको नेपाल टेलिकम बैतडी प्रमुख टमाटाले बताए ।

क्षेत्रीय निर्देशनालयबाटै सौर्य पाता र थप ब्याट्रीको व्यवस्था गरेको खण्डमा मात्रै सेवा सञ्चालन हुने उनको भनाइ छ ।

https://www.techpana.com/2022/114381/