काठमाडौं । गुगलको ई-मेल सेवा जिमेलले आफ्ना प्रयोगकर्तालाई १५ जीबी स्टोरेज निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । तर कतिपय समय अनावश्यक ई-मेल आएर १५ जीबी स्टोरेज फुल भइदिन्छ ।

 

यस्तोमा जिमेलमा आउने ई-मेल बाउन्स अर्थात फिर्ता हुने समस्या देखिन थाल्छ । यसको अर्थ तपाईंसँग जिमेलमा कुनै पनि नयाँ ई-मेल आउन रोकिन्छ अर्थात् बन्द हुन्छ ।

 

यस किसिमको समस्या समाधान गर्न दुई ओटा विकल्प छन् । पहिलो भनेको गुगल ड्राइभमा आतिरिक्त स्टोरेज खरिद गर्नु हो । यसका लागि तपाईंले मासिक करिब २५० रुपैयाँ जति तिर्नुपर्ने हुन्छ ।

 

तर भुक्तानी प्रक्रियाको झन्झट र खर्चिलो हुने भएकाले धेरै प्रयोगकर्ताका लागि यो व्यवहारिक समाधान नहुन सक्छ । यस्तोमा अनावश्यक ई-मेल डिलिट गर्नुको विकल्प हुँदैन ।

 

तर एक-एक गरेर अनावश्यक ई-मेल छनौट गर्दै डिलिट गर्दा तपाईंको थुप्रै समय बर्बाद हुन्छ । त्यसैले आज हामी तपाईंलाई स्वचालित रुपमा अनावश्यक ई-मेल डिलिट गर्ने तरिका बताउँदै छौँ ।

 

जिमेलले आफ्ना प्रयोगकर्ताका लागि एउटा यस्तो फिचर उपलब्ध गराएको छ, जसको नाम ‘फिल्टर्स फर अटो-डिलिटेसन’ हो । जसले अटोमेटिक अर्थात स्वचालित रुपमा अनावश्यक ई-मेल डिलिट गर्न सघाउँछ ।

कसरी गर्ने प्रयोग ?

१. यसका लागि सबैभन्दा पहिला आफ्नो ल्यापटप, कम्प्युटर, एन्ड्रोइड वा आईओएसमा जिमेल खोल्नुहोस् ।

 

२. त्यसपछि सर्च बारसँगै रहेको ‘show search option’ आइकनमा थिच्नुहोस् ।

३. त्यसपछि ‘From’ बक्समा ई-मेल पठाउनेको नाम टाइप गर्नुहोस् । ४. यति गरिसकेपछि ‘Create Filter’ छनौट गरेर ‘Delete it’ बटन दबाउनुहोस् । 

यस किसिमको फिल्टरमा आउने ई-मेलेहरू स्वतः डिलिट हुनेछन् ।

(नोटः यदि माथि भनिएको आइकन फेला पार्न सक्नु भएन भने जिमेलको सेटिङमा गएर ‘Filters and blocked adress’  ट्याबमा पनि यो फिचर फेला पार्न सक्नुहुनेछ ।)

 

यसरी तपाईं अनावश्यक ई-मेलहरू आफ्नो जिमेलको इनबक्समा थुप्रिनबाट जोगाउन सक्नुहुन्छ । प्रेसकको नाम राख्दा तपाईंले आवश्यकता अनुसार एकभन्दा धेरैको नाम समेत उल्लेख गर्न सक्नुहुन्छ ।

यसबाहेक आफ्नो आवश्यकता अनुसार उपलब्ध अन्य फिल्टर समेत यसैगरी राख्न सकिन्छ । जसमा अर्काइभ, मार्क एज रिड, स्टार, फरवार्ड र मार्क एज इम्पोर्टेन्ट जस्ता फिल्टरहरू पनि रहेका छन् ।

एक पटक यस्तो फिल्टर चयन गर्ने बित्तिकै जिमेलले त्यस्तो प्रेसकको ई-मेलमा भविष्यका लागि स्वतः त्यसलाई लागू गर्दछ । 

https://www.techpana.com/2022/114641/