व्यापार बढाउन कम्पनीहरूले उच्च गतिको इन्टरनेट प्याकेज सस्तोमै बेच्ने उद्घोष गर्दै आएका छन् । तर पैसा तिरिसकेपछि दाबी गरिए जति एमबीपीएस उपलब्ध नहुने ग्राहकको गुनासो छ ।

काठमाडौँ — मैतीदेवीका रमन श्रेष्ठले लामो समय ५० एमबीपीएस गतिको इन्टरनेट चलाएका थिए । करिब एक महिनाअघि इन्टरनेट स्पिड १५० एमबीपीएसमा अपग्रेड गराए । तर सुस्त हुने समस्या उस्तै रहेपछि उनी अचम्मित छन् । 

‘१५० एमबीपीएसको इन्टरनेट ५० एमबीपीएसको भन्दा फरक छैन,’ सफ्टवेयर कम्पनी क्रिएटु डेभलपर्समा कार्यरत उनले भने, ‘ससानो फाइल डाउनलोड गर्न पनि धेरैबेर कुर्नुपर्छ, गेमिङ पिङ बढेर झ्याउ हुन्छ । यस्तो बेला कहिले राउटर रि–स्टार्ट गर्छु, कहिले वर्ल्डलिंकलाई कम्प्लेन गर्ने गरेको छु ।’

रमन प्रायः फेसबुक र युट्युब चलाउन र गेमिङका लागि इन्टरनेट प्रयोग गर्छन् । ल्यापटप, मोबाइल गरी उनीकहाँ ५ वटा डिभाइसमा वाइफाई जोडिएको छ । दिदीहरूको मोबाइलमा वाइफाई नटिप्ने समस्या भएपछि इन्टरनेट स्पिड बढाएर हालसालै नयाँ राउटरसमेत राखेको श्रेष्ठले बताए ।

‘अहिले सबै डिभाइसमा वाइफाई कनेक्ट हुन्छ । तर स्लो हुन छाडेको छैन,’ उनले भने, ‘कम्प्लेन गर्दा जहिले पनि राउटर र डिभाइस टाढा भएर स्लो भएको हो भन्छन् । जबकि राउटरकै अगाडि बसेर चलाइरहेको हुन्छु । सातामा एकचोटि कम्प्लेन गर्नैपर्छ ।’

श्रेष्ठ मात्र होइन, उच्च गतिको इन्टरनेट सेवा लिए पनि गुणस्तर नसुध्रिएको भन्दै धेरै प्रयोगकर्ताले गुनासो गर्ने गरेका छन् । पछिल्लो समय एकपछि अर्को इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरूले उच्च गतिको सेवा दिन प्रतिस्पर्धा गरिरहेका छन् । किफायती मूल्यमा उच्च गतिको सेवा दिने घोषणाको प्रतिस्पर्धा गरिरहँदा आईएसपीहरूले गुणस्तरलाई ध्यान दिन चुकेका छन् ।

व्यापार बढाउन कम्पनीहरूले उच्च गतिको इन्टरनेट प्याकेज सस्तोमै बेच्ने उद्घोष गर्दै आएका छन् । तर पैसा तिरिसकेपछि दाबी गरिए जति एमबीपीएस उपलब्ध नहुने ग्राहकको गुनासो छ । ‘हाम्रो टोलमा सबैभन्दा धेरै एमबीपीएसको इन्टनेट हाम्रै घरमा छ । तर पनि बेला–बेलामा स्लो भइरहन्छ,’ बूढानीलकण्ठ–१ की समिना दाहाल भन्छिन्, ‘महिनामा एकचोटि फोन गरेर दह्रै थर्काएपछि केही समय राम्रै चल्छ । तर फेरि उस्तै हुन्छ ।’

समिनाले सुबिसुको १५० एमबीपीएसको इन्टरनेट लिएकी छन् । गुनासो गर्न फोन गर्दा धेरै पैसा सकिने गरेको उनले बताइन् । ‘फोन लागेपछि ‘अपरेटरहरू अहिले व्यस्त छन्’ भनिदिन्छ, तर झ्याम–झ्याम फोनको पैसा काटिन्छ,’ उनले भनिन्, ‘इन्टरनेट फास्ट भएको भए फोन गर्नै पर्दैनथ्यो ।’

भायानेट कम्युनिकेसन्सले हालै फेसबुक पेजमा राखेको न्यु इयर मिनी प्याकसम्बन्धी पोस्टमा राज महर्जनले लेखेका छन्, ‘जतिसुकै ठूलो एमबीपीएस भए पनि के गर्नु, नेट जतिखेर पनि स्लो नै हुन्छ । फोन गरे मरिगए उठ्दैन, के गर्नु त्यस्तो नेट ?’ सय एमबीपीएस भनिए पनि आफूकहाँ आइपुग्दा १० एमबीपीएसमा झर्ने भन्दै अर्का प्रयोगकर्ताले व्यंग्य गरेका छन् ।

फेसुबकको सीजी नेट युजर्स ग्रुपमा सुमित भोमीले सीजी नेटको सेवाबारे राखेको जिज्ञासामा धेरैजसोले झुर रहेको प्रतिक्रिया दिएका छन् । ‘पीडामाथि पीडा, सस्तो मात्रै भएर नहुने रहेछ,’ विदुर नेपालले लेखेका छन् । डुअल ब्यान्ड राउटर राख्दाचाहिँ अलि सहज हुने गरेको निशान्त दवाडीको अनुभव छ । कस्टमर सर्भिसलाई लिएर पनि धेरैले गुनासो पोखेका छन् ।

कम्पनीहरूले स्पिडलाई लिएर अस्वस्थ प्रतिस्पर्धा गरेको स्विकार्दै अब यस्तो नगर्ने इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान) का अध्यक्षसमेत रहेका सुबिसु केबलनेटका अध्यक्ष सुधीर पराजुलीले बताए । ‘यसो गर्नु हुँदैनथ्यो, गरिहाल्यौं, अब दूरसञ्चार प्राधिकरणले पनि कडाइ गर्न खोज्दै छ,’ उनले भने, ‘प्राधिकरणले के–कसो गर्छ, प्याकेजहरू फिर्ता लिन लगाउँछ कि भन्ने छ ।’

आफूसँग हुँदै नभएको स्पिड दिएको भनेर गुनासो आएकोबारे आफूहरू सचेत रहेको पराजुलीको भनाइ छ । ‘अहिले असाध्यै अस्वस्थ प्रतिस्पर्धा छ,’ उनले भने, ‘यसलाई हामी निजी क्षेत्रले भन्दा पनि नियमनकारी निकाय दूरसञ्चार प्राधिकरणले नै रोक्नुपर्छ ।’

नेपालमा खपत हुने ब्यान्डविथमध्ये ७० प्रतिशत स्थानीय कन्टेन्टमा आधारित र अन्तर्राष्ट्रिय कन्टेन्टमा २०–२५ प्रतिशत ब्यान्डविथ खपत हुने आईस्पानका पूर्वअध्यक्ष भोजराज भट्टले बताए । ‘स्थानीय कन्टेन्टलाई बढी प्राथमिकतामा राखेर दबाब कम गर्न सकिएला कि भन्ने आस छ,’ उनले भने, ‘नेपालीहरूले हेर्ने फेसबुक, टिकटक, युट्युब आदिका लोकल सर्भर नेपालमै छन् । यिनको क्षमता बढाउन सकिन्छ । राउटर र डिभाइसहरूमा अलिकता लगानी गर्दा स्पिड पनि बढ्ला । तर सबैभन्दा चिन्ताको कुरा, मूल्य घटेको छ ।’

यस्तोमा जतिसुकै लोकल कन्टेन्ट दिए पनि २०/२५ प्रतिशत इन्टरनेसनल ब्यान्डविथ खपत हुने भएकाले थप ब्यान्डविथ भित्र्याउन खर्च लाग्छ । ब्यान्डविथ किनिरहने, ग्राहक घट्ने, आम्दानी नहुने, घाटामा व्यापार गर्दा आईएसपीहरू डुब्ने भट्टको भनाइ छ ।

स्वीकृतिबिनै गति बढाउने होडबाजी

डिसहोमले १०० एमबीपीएस, सीजीले १२०, सुबिसुले १५०, भायानेटले १७५, वर्ल्डलिंकले २००, ३०० र ६०० एमबीपीएस गतिका इन्टरनेट उपलब्ध गराउने भन्दै विज्ञापन गरिरहेका छन् । ‘छोयो कि चल्यो’, ‘तुफान’, ‘इन्टरनेट छ कमाल स्पिड सुपर बबाल’ नारासहित एमबीपीएसले नपुगेर अब चाँडै १ जीबीपीएस गतिको इन्टनेटसमेत उपलब्ध गराउने उनीहरूको दाबी छ ।

सीजीले गत जेठमा १ हजार रुपैयाँमै १२० एमबीपीएस गतिको इन्टरनेट प्याकेज ल्याएयता अन्य सेवा प्रदायकले धमाधम सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट दिने होडबाजी थाले । यसलाई लिएर सञ्चारमाध्यमले ‘स्पिड वार’ सम्बन्धी समाचार लेखेका छन् । यसबारे धेरै प्रश्न उठेपछि प्राधिकरणले पुस २ मा सूचना जारी गर्दै इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार सेवाको शुल्क/महसुल दर प्राधिकरणबाट स्वीकृत गराउन ध्यानाकर्षण गराएको थियो ।

‘कुनै पनि अपरेटरले १०० एमबीपीएसभन्दा बढी स्पिडका लागि स्वीकृति पाएका छैनन्,’ प्राधिकरणको उपभोक्ता हित संरक्षण महाशाखाका उपनिर्देशक झलकबहादुर थापाले भने, ‘सुरुमा लाइसेन्स लिने बेला उनीहरूले लो प्याकेजको इन्टरनेटका लागि स्वीकृति लिएका थिए, अहिले हाई प्याकेजको इन्टरनेट उपलब्ध गराउने भनिरहेका छन् ।’ बीचमा एकाध सेवा प्रदायकले मौखिक जानकारी गराए पनि हाल सबै सेवा प्रदायक एक्कासि प्रतिस्पर्धामा उत्रिएर स्पिड बढाउन र मूल्य घटाउन थालेको उनको भनाइ छ । एउटाले तीन सय एमबीपीएस स्पिडको इन्टरनेट प्याकेज ल्यायो भने अर्कोले चार सयको ल्याउने गरेका छन् । तसर्थ यो ‘स्पिड र प्राइस वार’ नै भएको थापाको दाबी छ ।

आईएसपीको व्यापारमा सीजीको प्रवेशपछि स्पिड बढाउने र मूल्य घटाएर भए पनि ग्राहक तान्ने परिस्थिति आएको आईस्पानका पूर्वअध्यक्ष भट्टले बताए । सेवा प्रदायकहरू दबाबमा परेर यस्तो गरेको उनको भनाइ छ । ‘सीजीले बजार प्रवेशका लागि मात्रै त्यसो गरेको हो कि भनेर केही समय वर्ल्डलिंकलगायत आईएसपीहरू कुरेर बसे,’ उनले भने, ‘सीजीले (सस्तोमै उच्च गतिको इन्टरनेटलाई) निरन्तरता दिएपछि अरूले आफ्ना ग्राहक गुमाउन थाले । र, बाध्य भएर उनीहरू प्रतिस्पर्धामा उत्रिए ।’

अहिले ‘नर्मल बिजनेस प्राक्टिस’ नभइरहेको उनी बताउँछन् । यसले दुर्घटना निम्त्याउनेतर्फ उनले सचेत गराए । ‘पहिला १४ सय रुपैयाँमा ५० एमबीपीएस दिँदा हामीलाई प्रतियुनिट २ सय रुपैयाँ नाफा हुन्थ्यो,’ उनले भने, ‘अहिले ७/८ सयमा बेचेपछि के बाँकी रह्यो ? आयल निगमको जस्तो घाटाको व्यापार गरिरहेका छौं ।’ यो होडबाजी कायम रहे नेपाल टेलिकमसहित एक/दुई आईएसपीबाहेक कोही पनि बाँकी नरहने, सबै डुब्ने उनको आकलन छ ।

‘प्राधिकरणले सेवा प्रदायकलाई बोलाएर कुरा गर्नुपर्छ,’ उनले भने, ‘किन यस्तो भइरहेको छ, साँच्चै दिन सक्छौ भने देऊ, दिन सक्दैनौ भने किन दिन्छु भनेर दाबी गर्‍यौ भनी सोध्नुपर्‍यो । दिन्छु भनेर नदिनेलाई कारबाही गर्नुपर्‍यो । कसैले पनि ग्राहक झुक्याउन, ठगी गर्न पाइएन ।’ अहिले सूचनामार्फत चेतावनी दिइएको प्राधिकरणका उपनिर्देशक थापाले जानकारी दिए । ‘उहाँ (कम्पनी) हरू आफैं होडबाजी गरेर आफैं कारबाही गरिएन भन्दै हुनुहुन्छ,’ उनले भने ।

 

https://unelma.io/iyfc3