प्रत्येक दिन सामाजिक सञ्जालमार्फत ठगीका दुईवटा उजुरी दर्ता, सबैभन्दा धेरै अपराध भारत र दुबईबाट 

पछिल्लो समय नेपालमा सामाजिक सञ्जालमार्फत हुने ठगीका घटनामा वृद्धि भएको छ । खासगरी यस्ता अपराध सबैभन्दा धेरै भारत र दुबईबाट हुँदै आएको प्रहरी अनुसन्धानमा देखिएको छ । तर, प्रभावकारी कानुन नहुँदा अन्तरदेशीय ठगीधन्दाका ‘मास्टर माइन्ड’ पक्राउ गर्न प्रहरी असफल हुँदै आएको छ । 

महानगरीय अपराध महाशाखाका अनुसार सामाजिक सञ्जालको प्रयोगबाट ठगिएको भन्दै प्रत्येक दिन कम्तीमा दुईवटा जाहेरी दर्ता हुँदै आएका छन् । महाशाखामा दर्ता हुने सामान्य ठगीको जाहेरीभन्दा यो ७५ प्रतिशत धेरै हो । यस्ता घटनाका मुख्य योजनाकार भारत वा दुबईमा बस्ने गरेका छन् । आरोपी पहिचान भएर पनि कानुनकै अभावमा उनीहरू पक्राउ पर्न सकेका छैनन् ।

महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले सामाजिक सञ्जालमार्फत हुने अन्तरदेशीय ठगीधन्दालाई समेट्ने प्रभावकारी कानुन नहुँदा मुख्य योजनाकार पक्राउ गर्न नसकिएको बताए । ‘सामाजिक सञ्जालमार्फत ठगीका मुद्दा हामीकहाँ आउँछन् । दर्ता हुने समग्र ठगीका घटना विश्लेषण गर्दा साधारण ठगीका भन्दा यो ७५ प्रतिशतले धेरै छ । अनुसन्धान गर्दै जाँदा ठगीधन्दाका मुख्य योजनाकार कि भारतमा कि दुबईमा बसेको देखिन्छ । हामीकहाँ त्यस्ता अभियुक्त पक्राउ गर्ने कानुन नबनेकाले उनीहरू सधैँ उम्किँदै आएका छन्,’ उनले भने ।

ठगीधन्दाका लागि अपराधीले फेसबुक र ह्वाट्स एप सबैभन्दा धेरै प्रयोग गर्दैै आएको प्रहरीको भनाइ छ । वेलाबखत भाइबर, इमोलगायतका सञ्जाल पनि प्रयोग हुने गरेका छन् । चिट्ठा, गिफ्ट, प्रेम, गरगहना, डलर, जागिरलगायतलाई अपराधीले हतियार बनाएको महाशाखाले जनाएको छ । ‘सामाजिक सञ्जालबाट हुने ठगीका अधिकांश घटनामा चिट्ठा, गिफ्ट, प्रेम, गरगहना, डलर, जागिरलगायतका पक्षलाई हतियारका रूपमा प्रयोग गरेको भेटिएको छ । सामान्य मात्र होइन, पढलेखेका पनि ठगिएको भेटेका छौँ,’ महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले भने ।

प्रहरीका अनुसार यस्ता धन्दामा संलग्न हुनेहरू जति पक्राउ परेका छन्, ती सबै भरिया मात्रै भएको र जो ठगीपछिको रकम असुल्न प्रयोगमा आएको अनुसन्धानमा भेटिएको छ । बैंक खाता प्रयोग गरी जम्मा भएको रकम असुल्न यस्ता व्यक्ति प्रयोग हुने गरेका छन् । ‘यस्ता घटनमा विशेष गरी नेपाली नागरिक प्रयोग भएका छन् । विभिन्न प्रलोभनमा मुख्य योजनाकारले यस्ता व्यक्तिको बैंक खाता प्रयोग गर्छन् । र, उसैबाट रकम असुल्छन् । पक्राउ पर्ने त्यस्तै व्यक्ति हुन्,’ एसएसपी खापुङले भने ।

एसएसपी चन्द्रकुवेर खापुङ, प्रमुख महानगरीय अपराध महाशाखा

सामाजिक सञ्जालमार्फत ठगीका मुद्दा हामीकहाँ आउँछन् । दर्ता हुने समग्र ठगीका घटना विश्लेषण गर्दा साधारण ठगीका भन्दा यो ७५ प्रतिशतले धेरै छ । अनुसन्धान गर्दै जाँदा ठगीधन्दाका मुख्य योजनाकार कि भारतमा कि दुबईमा बसेको देखिन्छ । हामीकहाँ त्यस्ता अभियुक्त पक्राउ गर्ने कानुन नबनेकाले उनीहरू सधैँ उम्किँदै आएका छन् ।

प्रत्येक दिन ठगीका दुई घटना दर्ता 
अपराध महाशाखाको तथ्यांकअनुसार प्रत्येक दिन सामाजिक सञ्जालबाट हुने ठगीका सरदर दुईवटा घटना दर्ता हुन्छन् । सबैभन्दा धेरै पीडित हुनेमा २० देखि ३५ वर्ष उमेरसमूहका छन् । तथ्यांकअनुसार पछिल्लो पाँच महिनामा सामाजिक सञ्जालबाट पाँच करोड १९ लाख रुपैयाँ ठगी भएको छ, जसमा पीडित हुनेमध्ये ६५.३५ प्रतिशत २० देखि ३५ वर्ष उमेरसमूहका थिए । त्यसपछि ३५ देखि ४५ वर्ष उमेरसमूहका छन् । 

अर्थले रोक्यो साइबर नीति 
साइबरमार्फत हुने ‘हाइटेक’ अपराधलाई हेर्न सरकारको कुनै नीति बनेको छैन, जसका आधारमा ऐन, कानुन, नियमावली, निर्देशिका बन्न सकोस् । सञ्चार मन्त्रालयले तीन वर्षअघि तयार गरेको मस्यौदा अहिले अर्थ मन्त्रालय पुगेर अड्किएको छ । मन्त्रालयका प्रवक्ता सिंहले साइबर नीतिको मस्यौदा तयार भएको, तर अर्थमा पुगेर रोकिएको बताए । ‘साइबर नीतिको मस्यौदा धेरै अघि तयार भएको हो । अहिले अर्थ मन्त्रालयमा पुगेर रोकिएको सूचना पाएका छौँ,’ उनले भने । सामाजिक सञ्जालको प्रयोगबाट विश्व जति लाभान्वित हुन सकेको छ, त्यति नै क्षति व्यहोर्नुपरेको छ । साइबर हमला, साइबर थेप्ट जस्ता ‘हाईटेक’ अपराध सामाजिक सञ्जालसँगै विकास भएका हुन् । यस्ता अपराधबाट जोगिन विभिन्न देशले बलियो कानुन बनाइसकेका छन् । सञ्चार मन्त्रालयका प्रवक्ता विनोदप्रकाश सिंहले साइबर अपराधलाई नियन्त्रण गर्ने उद्देश्यले बनाइएको विधेयक संसद् पुगेर रोकिएको बताए । ‘सामाजिक सञ्जालबाट हुने ठगीलगायतका साइबर अपराध नियन्त्रण गर्ने उद्देश्यले तीन वर्षअघि नै विधेयक बनेको थियो । विकास समिति हुँदै संसद्मा समेत पेस भएको छ । त्यसपछि विधेयक अघि बढ्न नसकेको हामीले थाहा पाएका छौँ,’ उनले भने ।

सामाजिक सञ्जालमार्फत हुने ठगीका केही प्रतिनिधि घटना

सजिलै उम्किए सवा करोड ठगीका मुख्य योजनाकार 

काठमाडौंकी अप्सरा शर्मा (परिवर्तित नाम) संयुक्त राष्ट्रसंघ मातहतको एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्थिन् । फेसबुकमा डाक्टर बेन्जामिन फ्रांकलिन नामको एक व्यक्तिसँग उनको चिनजान भयो । केही महिना दुईबीच कुराकानी चल्यो । बेन्जामिन लन्डन बस्ने बताउँथे । तार्किक कुराकानी गर्न सक्ने उनको गफमा अप्सरा प्रभावित भइन् । यहीक्रममा दुईबीच विवाह गर्नेसम्मको योजना बन्यो । 

thagi21.jpg'_'.2022-01-07.jpg

आफूलाई प्लास्टिक सर्जन बताउने बेन्जामिनले विशेष कोर्स अध्ययन गर्न भारतको गोवा आउने बताए । भेटभाट हुने लोभमा अप्सरा खुसी भइन् । केही दिनपछि नै बेन्जामिनले आफू गोवा आइपुगेको बताए । झोलासहित सबै कागजात र रकमसमेत चोरी भएकाले तत्काल २० लाख रुपैयाँ आवश्यक परेको र लन्डन पुगेर सबै रकम फिर्ता गर्ने वाचा अप्सरासँग गरे । अप्सराले केही नसोची भनेजति रकम उनैले दिएको बैंक खातामा जम्मा गरिन् । केही दिनपछि गोवामा कोर्स अध्ययन गर्न नसकिने र सोही कोर्स अध्ययनका लागि आफू मलेसिया जाने खबर बेन्जामिनले अप्सरालाई पठाए । थप रकम अवश्यक परेको भन्दै माग गरे । 

अप्सराले मागेजति रकम पुनः पठाइन् । यस अवधिसम्म बैंकमा रहेको उनको एक करोड २२ लाख रुपैयाँ रित्तिसकेको थियो । जब बेन्जामिनले पुनः रकम माग गरे, अनि मात्रै अप्सरा झस्किन पुगिन् । शंका लागेपछि अप्सरा महानगरीय अपराध महाशाखा पुगिन् । नभन्दै उनी ठगिएको पुष्टि भयो । प्रहरीले घटनामा संलग्न कास्की पोखरा महानगरपालिका–१० का राजेन्द्र भणडरी र ताहचलका रोजन भुजेललाई पक्राउ गर्‍यो । तर, घटानाका मुख्य योजनाकार बेन्जामिनलाई पक्राउ गर्न सकेन । 

भारतीय बैंकमै पुगेर रकम जम्मा 
झापाकी सरिना लिम्बू (परिवर्तित नाम)को मकायु पिटरसँग फेसबुकमा परिचय भयो । दुईबीच महिनौँसम्म कुराकानी चल्यो । लन्डननिवासी बताउने मकायुसँग सरिना यति अन्धभक्त भइन् कि उनले मागेजति रकम भरतमै पुगेर जम्मा गरिदिइन् । यसक्रममा उनले एबिआई बैंक, महेन्द्र बैंक, एचडिएफ बैंक, आइसिआइसी बैंक, युनाइटेड बैंक, सेन्ट्रल बैंक, वनारस बैंकलगायत १३ भन्दा धेरै बैंकमा रकम जम्मा गरेकी थिइन् । उनलाई पनि मकायुले ‘बहुमूल्य गिफ्ट’ पठाएको प्रलोभनमा पारेका थिए । तर, मकायुबाट सरिनाले ठगिएको महसुस त्यसवेला गरिन्, जब उनको बैंक खातामा रकम रित्तिसकेको थियो । उनी पनि घटना अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा पुगिन् । प्रहरीसँग गुहार मागिन् । तर, कानुन नहुँदा प्रहरीले घटनाको अनुसन्धान नै गर्न सकेन । 

दुई मिलियन अमेरिकी डलर पाउने लोभमा ७५ लाख गुम्यो 
पोखराकी सृजना गुरुङ (परिवर्तित नाम)लाई सामाजिक सञ्जालमा बेलायतबाट ह्वाट्स एपमा सन्देश आयो, ‘सन् २०१९ मा मेरी श्रीमती कुवेत थिइन् । आतंककारी हमलामा उनी मारिइन् । राहतस्वरूप कुवेत सरकारले मलाई ४ दशमलव ७ मिलियन युएस डलर दियो । यसमध्येबाट दुई मिलियन युएस डलर म नेपालका अनाथ बालबालिकाको सहयोगमा खर्च गर्न चाहन्छु । मलाई सहयोग गरिदिनुहोला ।’ सृजना विदेशी नागरिकसँग गफिन थालिन् । समाजसेवामा यति ठूलो रकम खर्च गर्ने पवित्र मनप्रति उनी अनुग्रहित हुन थालिन् । यही क्रममा विदेशीले बैंक खाता मागे । उनले सहजै खाता नम्बर दिइन् । साथमा इमेल ठेगाना पनि दिइन् । पछि विदेशीले भन्यो, ‘रकम ठूलो भएको हुँदा ब्रिटिस सरकारलाई ट्याक्स बुझाउनुपर्छ ।’ विश्वासकै भरमा सृजनाले आफ्नो खातामा रहेको ७५ लाख रुपैयाँ पठाइन् । तर, उनले दुई मिलियन अमेरिकी डलर कहिल्यै पाइनन् । प्रहरीको अनुसन्धानपछि खुल्यो, ठगीमा संलग्न विदेशी नागरिक पनि भारतमै थिए । 

साढे १९ लाख सकियो तर, घटनाका मुख्य योजनाकार उम्किए 
काठमाडौंकी नवीना राई (परिवर्तित नाम)लाई ह्वाट्स एपमा बधाई उल्लेखित सन्देश आयो । आश्चर्यमा परेकी उनलाई ह्वाट्स एपमै केही समयपछि लन्डनबाट फोन भयो । फोनमा भनियो, ‘बहुमूल्य सामग्री लटरी परेकोमा बधाई ! तपाईंको सामग्री लन्डनबाट सिपिङ गरी पठाइनेछ ।’ केही बेरमा बहुमूल्य सामग्री प्याकिङ गरिएको फोटो पनि आयो । नवीना चुपचाप नै थिइन् । दुई दिनपछि भारतको गोवास्थित भन्सार कार्यालयबाट नवीनालाई भारतीय नम्बरबाट फोन आयो । भनियो, ‘तपाईंको नाममा बहुमूल्य सामग्री आएको छ, भन्सार तिर्नुपर्ने भयो । तुरुन्तै रकम पठाउनुहोला ।’ नभन्दै नवीनाले भनेजति रकम उनैले भनेको बैंक खातामा पठाइदिइन् । तर, सामग्री आएन । दुई दिनपछि ‘सिपिङ गरिएको सामग्री बहुमूल्य रहेको र भन्सार रकम अझ धेरै लाग्ने’ भन्दै पुनः फोन आयो । नवीनाले पुनः भनेजति नै रकम पठाइदिइन् । यसवेलासम्म उनको १९ लाख ६० हजार रुपैयाँ गइसकेको थियो । तर, सामग्री आएन । शंका लागेपछि नवीना महानगरीय अपराध महाशाखा पुगिन् । प्रहरीले शंकास्पद रुकुम रन्मामैमकोट गापा–३ का २३ वर्षीय विकास गुरुङलाई पक्राउ गर्‍यो । अनुसन्धानपछि धन्दाका मुख्य योजनाकार भारतमै लुकेको खुल्यो । 

https://unelma.io/xBLea