चुइँक्क नबोल्नुस् 
कुनै आवाज ननिकाल्नुस् 

प्रधानमन्त्री ध्यानमा हुनुहुन्छ 
प्रधामन्त्री सूर्य–स्नानमा हुनुहुन्छ 

चुप,
हल्ला नगर्नुस् !

प्रहरी–हिरासतमा तपाईंको आफन्त मारिएकोमा यत्रो बबण्डर नमच्चाउनुस् । यसरी रुवाबासी नगर्नुस् । बरु शोक–काव्य लेख्नुस् । शोक–सभाको आयोजना गर्नुस्–

मौन धारण गर्नुस् 
मृतकलाई श्रद्धाञ्जलि अर्पण गर्नुस् 
आफू स्वयम्‌लाई समवेदना प्रकट गर्नुस् 

अनि
किरिया बस्न 
चुपचाप किरिया–घर जानुस् 

किन्तु
फिराद–पत्र 
लिई सिंहदरबार नआउनुस् 
प्रधानमन्त्रीको मुड नखलबल्याउनुस् 
प्रधानमन्त्री ध्यानमा हुनुहुन्छ 
प्रधानमन्त्री सूर्य–स्नानमा हुनुहुन्छ 

चुप,
हल्ला नगर्नुस् । 

०००

इलम खोसिएर 
तपाईं बेइलमी भएको न हो ! 
भोक र इच्छाहरूको अब कलमी गर्नुस्– 

शेयर बजारमा 
जिन्दगी लिलामी भएको न हो ! 

आफ्नो दिवंगत भाग्यको 
अब आफैँ मलामी जानुस्–

आइन्दा
यता नआउनुस् 
झिनामसिना काम लिएर 
घरि–घरि सिंहदरबार नधाउनुस् 

प्रधानमन्त्री 
ध्यानमा हुनुहुन्छ 
प्रधानमन्त्री 
सूर्य–स्नानमा हुनुहुन्छ 

चुप,
हल्ला नगर्नुस् ! 

०००

श्री ३ महाराज चन्द्रशमशेर जबराले बनाइदिएको दरबार हो सिंहदरबार । यो दरबारमा बस्ने सरदारको आत्मामा जबराकालीन शासकहरूको प्रेतात्मा घुसेको छ भन्ने अनर्गल प्रचार नगर्नुस्– 

सिंहदरबार 
गाउँ–गाउँमा पुगेन भनेर 
धुरु–धुरु नरुनुस् 

आलाप–विलाप नगर्नुस् 
हाय–तौबा–विलौना नगर्नुस्

प्रधानमन्त्री
ध्यानमा हुनुहुन्छ 
प्रधानमन्त्री 
सूर्य–स्नानमा हुनुहुन्छ 

चुप,
हल्ला नगर्नुस् !

०००

प्रधानमन्त्रीलाई 
जुन जोगी आए पनि 
खरानी घसेको / कानै चिरेको 

भनेर– 

तपाईं तमाम
जोगीहरूको अपमान गर्दै हुनुहुन्छ 
जोगीहरूको बदनाम गर्दै हुनुहुन्छ 

प्रधानमन्त्रीलाई जोगी नभन्नुस् 
प्रधानमन्त्रीलाई रोगी नभन्नुस् 
प्रधानमन्त्रीलाई भोगी नभन्नुस् 

खबरदार ! 
प्रधानमन्त्रीलाई  मनोरोगी नभन्नुस् 

प्रधानमन्त्री
ध्यानमा हुनुहुन्छ 
प्रधानमन्त्री 
सूर्य–स्नानमा हुनुहुन्छ 

चुप,
हल्ला नगर्नुस् !

०००

तपाईं 
सभ्य देशको/सभ्य नागरिक 
नागरिक भएर नागरिकको हैसियतमा बस्नुस् 
नागरिक आन्दोलनमा गएर 
अनागरिकहरूको विषयमा बोल्दै नबोल्नुस् 

कलेज/विश्वविद्यालयका
अध्यापक/प्राध्यापकहरूलाई 
कुटिएको 
पिटिएको 
चुटिएको न हो ! 

जे भयो बुरा भयो 
किन्तु यो कुन ठूलो कुरा भयो ? 

उपल्लो जातकी प्रेयसीसित प्रेम गर्दा 
ऊ–पल्लो जातको प्रेमीलाई 
नाङ्गेझार पार्दै/पाता कसी 
कुटिएको 
पिटिएको 
चुटिएको न हो ! 

प्रेमीको शवलाई 
नदीमा फ्याँकिएको मात्र न हो ! 

जे भयो बुरा भयो 
परन्तु कुन ठूलो कुरा भयो ? 

जाबो 
यत्ति कुरामा 
बखेडा नझिक्नुस् 

नारा जुलुस
जोर–जुलुम नगर्नुस् 

प्रधानमन्त्री
ध्यानमा हुनुहुन्छ 
प्रधानमन्त्री 
सूर्य–स्नानमा हुनुहुन्छ 

चुप,
हल्ला नगर्नुस् !

०००

हुरीले तपाईंको छाप्रो उडायो त उडायो ! हुरीको कामै हो उडाउने । बाढीले तपाईंको खेतबारी बगायो त बगायो ! बाढीको कामै हो बगाउने । नदीले तपाईंको जहान–परिवार डुबायो त डुबायो । नदीको कामै हो डुबाउने । 

आफू 
नियतिसँग हार्ने
यत्तिका निम्ति प्रधानमन्त्री गुहार्ने ? 

बरु गाउँको 
बुढो आँपगाछीमुनि 
आँखा चिम्लेर आत्म–मन्थन गर्नुस् 
प्रधामन्त्रीसित व्यर्थमा गनगन/गन्थन नगर्नुस् 

प्रधानमन्त्री
ध्यानमा हुनुहुन्छ 
प्रधानमन्त्री 
सूर्य–स्नानमा हुनुहुन्छ 

चुप,
हल्ला नगर्नुस् !

०००

खाडी गएको लोग्ने 
कफिनमा फर्केको न हो ! 

यसमा 
के–को शोक ? 

अरब गएको छोरो 
रातो बाकसमा आएको न हो ! 

यसमा 
सरकारको के–को दोष ? 

हिन्दु भए शव–दहन गर्नुस् 
मुस्लिम/क्रिश्चियन भए शव–दफन गर्नुस् 

चुपचाप 
काजकिरिया गर्नुस् 

तर यता नआउनुस् 
घरि–घरि सिंहदरबार नधाउनुस्–

०००

चुइँक्क नबोल्नुस्
कुनै आवाज ननिकाल्नुस् 

प्रधानमन्त्री ध्यानमा हुनुहुन्छ 
प्रधानमन्त्री सूर्य–स्नानमा हुनुहुन्छ 

चुप,
हल्ला नगर्नुस् !

 

https://unelma.io/JVuvJ