काठमाडौं । सरकारले १६ वर्ष भन्दा माथिका विद्यार्थीलाई निःशुल्क सिमकार्ड उपलब्ध गराउने योजना अघि बढाएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को बजेट कार्यक्रम मार्फत सरकारले यो योजना घोषणा गरेकाे थियो ।

 

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले घोषणा गरेको उक्त कार्यक्रमलाई तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले समेत अघि बढाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका थिए । सामुदायिक तथा सरकारी विद्यालयमा अध्ययनरत १६ वर्षभन्दा माथिका विद्यार्थीका लागि लक्षित गर्दै सरकारले यो योजना अघि बढाएको थियो ।

 

विशेष गरी कोभिड–१९ का कारण अनलाइन पठनपाठन गर्नुपर्ने बाध्यतालाई मध्यनजर गरेर सरकारले यो योजना अघि बढाएको थियो । तर, आर्थिक वर्ष पहिलो ६ महिना सकिनै लाग्दा पनि यो परियोजनामा कुनै उपलब्धि भने हुन सकेको छैन ।

 

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार यसका लागि कार्यविधि भने तयार भइसकेको छ । ‘हामीले यसका लागि आवश्यक कार्यविधि तयार पारेर मन्त्रालयमा पठाएका छौं,’ प्राधिकरणले जारी गरेको उपभोक्तासँग सम्बन्धी बुलेटिनमा उल्लेख छ ।

 

करिब चार महिना अघि मन्त्रालयमा पठाइएको उक्त कार्यविधिमा हालसम्म पनि कुनै प्रगति भने भएको छैन । मन्त्रालयमा मन्त्री तथा सचिव परिवर्तन हुँदा त्यो परियोजना त्यसै अड्किएकाे मन्त्रालय स्रोतले जनाएको छ । 

https://unelma.io/qDwax