काठमाडौं । पाल्पाको तानसेन नगरपालिकाले क्यूआर कोडसहितको फेमिली कार्ड (पारिवारिक लगतसहितको परिचयपत्र) वितरण सुरु गरेको छ । अनलाइनमा डेटा इन्ट्री गरेपछि यस्तो कार्डको वितरण थालिएको नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले बताएका छन् ।

 

यसका लागि तानसेन नगरपालिकाभित्रका सबै घरपरिवारको विवरण सङ्कलन गरिएको छ । नगरपालिकाले सबै वडामा गणकहरू परिचालन गरेको थियो ।

 

पहिलो चरणमा वडा नम्बर ६ बाट फेमिली कार्ड वितरण सुरु गरिएको हो । नागरिक र परिवारको पूर्ण विवरण राखेर नगरपालिकालाई नै पूर्ण प्रविधिमैत्री बनाउन तथ्याङ्क सङ्कलन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख पिताम्बर पाण्डेले जानकारी दिए ।

 

नागरिक र नगरपालिका दुवैलाई कागजरहित बनाउँदै लैजाने योजना समेत नगरपालिकाको रहेको उनले जनाए ।

 

‘फेमिली कार्डमा डिजिटल माध्यमबाट अध्ययन गर्न सकिने क्यूआर कोड, फेमिली आईडी नम्बर, घर नम्बर समावेश गरिएको छ,’ पाण्डेले भने ।

 

नगरपालिकाका सूचना प्रविधि अधिकृत प्रकाश गैरेका अनुसार नाता प्रमाणित, व्यक्तिगत घटना दर्ता, नागरिकता सिफारिस लगायतका वडा कार्यालयबाट दैनिक रुपमा लिने सेवा सुविधाका लागि यो फेमिली कार्ड प्रभावकारी हुनेछ । फेमिली कार्डमा नागरिकता विवरण, परिवारका सबै सदस्यको विवरण लगायतका जानकारी समावेश गरिएको छ ।

पारिवारिक स्वास्थ्य अवस्था, चर्पीको प्रयोग, वैदेशिक रोजगारी विवरण, घरजग्गाको विवरण, आर्थिक विवरण, नगरपालिकाबाट पाएका सेवा सुविधा लगायत पञ्जीकरण लगायतका जानकारी क्यूआर कोड स्क्यान गरी हेर्न मिल्नेछ ।

नगर सूचना व्यवस्थापन प्रणाली अन्तर्गत नगरपालिकाले फेमिली कार्ड वितरण थालेको हो । व्यक्तिगत विवरण हुने भएकाले त्यसको गोपनीयतालाई समेत ख्याल गरिएको गैरेले बताए ।

https://unelma.io/ORrdQ