काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा नेपाल टेलिकमका अध्यक्ष बैकुण्ठ अर्यालले टेलिकमको सेवा गुनासो व्यक्त गरेका छन् । कम्पनीको १८ औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा बोल्दै उनले बेलाबेला काठमाडौंमै टेलिकमको मोबाइलले काम नगर्ने गरेको भन्दै गुनासो व्यक्त गरेका हुन् ।

यति मात्र होइन, उनले करिब आठ महिनादेखि परीक्षण सञ्चालनमा रहेको कम्पनीको भीओएलटीई सेवाको बारेमा समेत आफू राम्रोसँग जानकार नरहेको बताए । ‘भीओएलटीई के हो भन्ने कुरा नै कम्पनीले बुझाउन सकेको देखिँदैन,’ उनले भने ।

‘म आफैँ कम्पनीको अध्यक्ष छु । तर भीओएलटीई के हो भन्ने कुरा आज मात्रै बुझ्दैछु । कम्पनीको बजारिकरण कतिसम्म कमजोर छ भन्ने कुरा यहीँबाट थाहा हुन्छ ।’

 

सचिव अर्यालले ग्राहक सङ्ख्या बढेको आधारमा कम्पनीको प्रगति भइरहेको देखिए पनि गुणस्तरीय सेवा, सक्रिय प्रयोगकर्ता र त्यसबाट हुने आम्दानी महत्त्वपूर्ण हुने बताए ।

 

‘कम्पनीको सेवा भनेको बेला पाइँदैन । ग्राहक आधार बढाउदै जाने तर गुणस्तर नहुने हो भने मानिसहरूले सेवा लिँदैनन्,’ उनले भने, ‘यति धेरै पूँजी भएको, सरकारी संरक्षण र सहयोग पाउँदा पनि आवश्यक स्थानमा सेवा नपुग्नु राम्रो होइन । काठमाडौंमा पनि बेलाबेलामा फोन लाग्दैन, भद्रकालीको मोडमै पनि फोन नलागेको अनुभव मैले थुप्रै पटक गरेको छु ।’

 

प्रतिस्पर्धामा कम्पनी कति खरो उत्रिएको छ भन्ने कुरा महत्त्वपूर्ण हुने भन्दै सचिव अर्यालले दूरसञ्चारको अग्रणी संस्था भए पनि अझै पनि परम्परागत रुपमा सेवा दिइरहेको बताए ।

‘यसका लागि पूर्वाधार निर्माण महत्त्वपूर्ण हुन्छ । अझै फोरजीको १४० ओटा टावर बनाउन बाँकी छ । यसमा गम्भीर भएर लाग्नुपर्ने देखिन्छ,’ उनले भने, ‘अप्टिकल फाइबरको दुई वर्षभित्र २० हजार किलोमिटर बिच्छ्याउने भनेका छौँ, तर अहिले त्यसअनुरूप काम हुन सकेको छैन ।’

कम्पनीसँग पर्याप्त पूँजी भए पनि त्यसको लगानी सही किसिमले हुन नसकेको प्रति सचिव अर्यालको चासो थियो । बैंकिङ ब्याजबाट प्रतिफल कमाउने भन्दा पनि लगानीको रुपमा पूँजी उपयोग गरेर प्रतिफल लिने तर्फ विचार गर्नुपर्ने उनको जोड थियो ।

https://unelma.io/hRH0w