नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानी रहेको नमस्ते पेमा भिसा र मास्टरकार्डबाट समेत रकम लोड गर्न सकिने भएको छ । नेपाल डिजिटल पेमेन्ट कम्पनीका सीईओ केपी भण्डारीले यसका लागि अन्तिम तयारी चलिरहेको जानकारी दिएका हुन् ।

उनका अनुसार हाल कनेक्ट आईपीएस र केही बैंकहरू नमस्ते पेमा रकम लोड गर्न आवद्ध गर्ने काम सकिएको बताए । ‘हामी अहिले इन्टरनेट, हवाइजहाज र बसको टिकेट,, कलेज फी तिर्न सकिने गरी द्रुत गतिमा काम गरिरहेका छौँ,’ उनले भने ।

नेपाल टेलिकमको १८ औँ वार्षिकोत्सवको अवसरमा आयोजित अर्धभर्चुअल कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले नमस्ते पे सुरु भएको पाँच महिनासम्म पनि रकम लोड गर्ने सुविधा दिन नसक्नु दुःखद कुरा भएको बताए ।

‘जब बैंकबाट वालेटमा पैसा नै राख्न मिल्दैन भने त्यसको के काम ?,’ टेलिकमको पदेन अध्यक्ष समेत रहेका उनले भने, ‘टेलिकमका आयोजना कसरी पछाडि परिरहेका छन् भन्ने कुराका लागि यो एउटा उदाहरण हो । आशा गरौँ, केही दिनमा नमस्ते पेमा रकम लोड गर्न सकिएला ।’
https://unelma.io/nUuX0