प्रयोगकर्ता र आम्दानी दुबै घटेको प्रतिवेदन सार्वजनिक भएको केही समयमै फेसबुकका मालिक मार्क जुकरबर्गको सम्पत्ति २९ अर्ब अमेरिकी डलर अर्थात ३४ खर्ब ८२ अर्ब ३२ करोड रुपैयाँले घटेको छ ।

फेसबुकको मातृ कम्पनी मेटाले बिहिबारमात्रै सन् २०२१ को चौथो अर्थात् अन्तिम त्रैमासिकको प्रतिवेदन सार्वजनिक गरको थियो । उक्त प्रतिवेदन अनुसार फेसबुकको दैनिक सक्रिय प्रयोगकर्ता एक अर्ब ९२ करोड ९० लाखमा झरेका छन् ।

जबकि तेस्रो त्रैमासिकको अन्त्यसम्ममा दैनिक सक्रिय प्रयोगकर्ता एक अर्ब ९३ करोड प्रयोगकर्ता थिए । टिकटक, युट्युवजस्ता प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धाको सामना गरिरहेको फेसबुकले पहिलो पटक यसरी प्रयोगकर्ता गुमाएको हो ।

विशेषगरी बजारमा आक्रामक रुपमा व्यवसाय गरिरहेको शर्ट भिडिओ शेयरिङ एप टिकटकले फेसबुकलाई निरन्तर धक्का दिइरहेको छ । मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले युवा प्रयोगकर्ताहरू अन्य प्लेटफर्ममा सिफ्ट हुँदा फेसबुकलाई असर पुगेको बताएका थिए ।

यसरी प्रयोगकर्तासँगै आम्दानीमा देखिएको गिरावटको असर शेयर बजारमा देखिएको हो । एकै दिन फेसबुकको शेयर मूल्य २० प्रतिशतले घटेको छ । जसको असर स्वरुप मार्क जुकरबर्गले एक रातमै ३४ खर्ब ८२ अर्ब ३२ करोड रुपैयाँ गुमाएका हुन् ।

एकै पटक ठुलो मात्रामा आफ्नो सम्पत्ति गुमाएपनि जुकरबर्ग अझै पनि विश्वको धनी व्यक्तिहरूको सूचीमा सातौं स्थानमा छन् । ब्लुमबर्ग बिलिनियर्सका अनुसार हाल उनको सम्पत्ति १२१ बिलियन अमेरिकी डलर रहेको छ । https://unelma.io/jjeqm