निर्वाचन आयोगले स्थानीय चुनावमा पहिलो पटक  विद्युतीय भोटिङ मसिन प्रयोग गर्ने भएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाले टेकपानासँगको कुराकानीमा यसको जानकारी दिएका हुन् ।

उनका अनुसार काठमाडौंका केही स्थानीय तहमा विद्युतीय भोटिङ मसिन प्रयोग हुनेछ । सरकारले आगामी वैशाख ३० गते एक साथ देशभरका सबै ७५३ ओटै स्थानीय  तहको निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।

निर्वाचन मिति आउन धेरै समय बाँकी नरहेको भन्दै आयोगले केही सीमित स्थानमा भए पनि विद्युतीय भोटिङ मसिन प्रयोग गर्ने तयारी थालेको हो । ‘निर्वाचनमा सकेसम्म बढीभन्दा बढी सूचना प्रविधिको प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा हामीले छलफल थालिसकेका छौँ,’ उनले भने, ‘छोटो समय भएकाले विदेशबाट विद्युतीय भोटिङ मसिन ल्याएर प्रयोग गर्न सकिने सम्भावना छैन ।

यस्तोमा नेपालमै बनेको विद्युतीय भोटिङ मसिन प्रयोग गर्ने विषयमा सोचिरहेका छौँ । ’ नेपालमा भोटिङ मसिन बनाउने कम्पनी राम लक्ष्मण इनोभेसन प्रालिले निर्वाचन अघि सम्म १५०० देखि २००० सङ्ख्यामा भोटिङ मसिन तयार पार्न सक्ने जनाएको छ ।

यस्तोमा ३ लाख हाराहारी मतदातालाई मात्र विद्युतीय भोटिङमा सहभागी गराउन सकिने सम्भावना रहने आयोगको आँकलन छ । निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिका सहित सम्भव भएका अन्य नगरपालिकामा समेत विद्युतीय भोटिङ मसिन प्रयोग गर्ने तयारी भइरहेको छ ।

यद्यपि यसका लागि ठोस निर्णयमा पुग्न भने बाँकी नै रहेको आयोगका प्रमुख आयुक्त थपलियाले बताए । सरोकारवालाहरूसँगको छलफल पछि केही दिनमै यो विषय टुङ्गोमा पुग्ने बताइएको छ ।

आयोगले आगामी निर्वाचनमा अधिकतम रुपमा सूचना प्रविधिको प्रयोग गर्ने उद्देश्यका साथ देशभरका सबै १० हजार ७५३ ओटै स्थानीय तहमा इन्टरनेट सेवा पुर्‍याउन नेपाल दूरसञ्चार प्राधिकरणलाई यस अघि नै आग्रह गरिसकेको छ ।

*शीर्षक परिवर्तन गरिएको छ । स.
https://unelma.io/t0tLn