अब सार्वजनिक यातायातमा समेत कार्डबाटै भाडा भुक्तानी गर्न मिल्ने सुविधा आउने भएको छ । विभिन्न कारोबारमा विद्युतीय भुक्तानीको प्रयोग बढिरहेको सन्दर्भमा सार्वजनिक सवारी चढ्ने यात्रुकाे सहजताका लागि कार्डबाट भाडा तिर्न मिल्ने सुविधा आउन लागेको हो ।

यसका लागि बागमती सरकारले सवार भाडा भुक्तानीलाई नगदरहित बनाउने निर्णय गरेकाे छ । बुधबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले कार्डबाट सवारी यातायातको सवारी भाडा तिर्ने व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।

यात्रुको सहजता, सरलता र चुस्तताका लागि नगदरहित (क्याशलेस) प्रविधि सुरु गर्न लागिएको सरकारका प्रवक्ता एवम् प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बताए ।

यात्रुले खुद्रा पैसा नहुँदा ताेकिएकाे भाडाभन्दा पनि बढी भाडा भुक्तानी गर्नुपर्ने अवस्था रहेको भन्दै मन्त्री खनालले यात्रुको सहजता र पारदर्शिताका लागि यस्तो भुक्तानी प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको बताए ।

‘यसका लागि कार्यविधि बनाएर प्रस्ताव आह्वान गरिने छ,’ मन्त्री खनालले भने ।

निश्चित मापदण्ड अनुसार सो प्रविधि भित्र्याइने र प्रदेशमा चल्ने सबै सार्वजनिक सवारीमा कार्यान्वयन गरिने उनले बताए ।
https://unelma.io/RY70B