पछिल्लो समय इन्टरनेट प्रयोगको दायरमा परिवर्तन भएको छ । कुनै समय इन्टरनेटमा त्यसको डेटा महत्वपूर्ण हुन्थ्यो भने अब गतिले इन्टरनेटलाई निर्धारण गर्न थालेको छ ।

त्यसैले अहिले सेवा प्रदायकले अनलिमिटेड इन्टरनेट उपलब्ध गराउन थालेका छन् । भने, स्पिडलाई बजारीकरणको प्रमुख केन्द्रको रुपमा लिइरहेका छन् ।

यस्तोमा अब प्रयोगकर्ताले आफूलाई कति गतिको इन्टरनेट आवश्यक छ भन्ने विषय आफैंले निर्धारण गर्नुपर्ने हुन्छ । त्यो हुँदा आफूलाई आवश्यकता अनुसारको प्याकेज खरिद गर्न सकिन्छ ।

तर, यसरी छनोट गर्ने विषय त्यति सहज भने पक्कै छैन । किनभने तपाईंलाई कति इन्टरनेट आवश्यक पर्छ भन्ने कुरालाई धेरै कुराले निर्धारण गर्छ ।

यहाँ हामी तपाईंलाई घरमा कति स्पिडको इन्टरनेट राख्दा हुन्छ भन्ने विषयमा जानकारी दिँदैछौं । त्यसका लागि हामीले विभिन्न माध्यमलाई आधार मानेका छौं, जसले तपाईंको आवश्यकता निर्धारण गर्ने काम गर्नेछ ।

५० एमबीपीएस गतिको इन्टरनेट

यदि तपाईंको घरमा दुईदेखि तीन ओटासम्म डिभाइसमा मात्रै इन्टरनेट प्रयोग हुन्छ भने ५० एमबीपीएस गतिको इन्टरनेट सबैभन्दा उपयुक्त हुनेछ । जसमार्फत ईमेल, ब्राउजिङ, सोसल मिडिया तथा भिडिओ मोडरेट गर्ने जस्ता काम गर्न सकिन्छ ।

१०० एमबीपीएस गतिको इन्टरनेट

यदि तपाईं ओटीटी प्लेटफर्ममार्फत उच्च गुणस्तरीय कन्टेन्ट हेर्नुहुन्छ भने १०० एमबीपीएस गतिको इन्टरनेट उत्तम हुन्छ । यो स्पिड एकै पटक ५ ओटा डिभाइस प्रयोग हुनेहरूका लागि पनि उपयुक्त छ ।

साथै अनलाइन कक्षामा सहभागी हुन, अनलाइन गेमिङ, फोरके स्ट्रिमिङका लागि पनि १०० एमबीपीएस गतिको इन्टरनेट हुँदा धेरै सजिलाे हुन्छ ।

२०० एमबीपीएस गतिको इन्टरनेट

यो संयुक्त परिवारका लागि उपयुक्त इन्टरनेट गति हो । यदि तपाईंको घरमा एकै पटक सात ओटासम्म डिभाइसमा इन्टरनेट चल्छ भने त्यस्तोमा २०० एमबीपीएसको गति उपयुक्त हुनेछ । जुन अनलाइन कक्षा, अनलाइन गेमिङ, फोरके स्ट्रिमिङ सबैका लागि उपयुक्त हुनेछ ।

३०० एमबीपीएस गतिको इन्टरनेट

३०० एमबीपीएस गतिको इन्टरनेट १० जनाभन्दा बढी सदस्य भएको परिवारका लागि उपयुक्त हुनेछ । जसले १० ओटै डिभाइसमा अनलाइन कक्षा, अनलाइन गेमिङ, फोरके स्ट्रिमिङ जस्ता ठूला कन्टेन्ट हेर्दा पनि धान्न सक्छ ।

तपाईंलाई कति इन्टरनेट आवश्यक पर्छ ?

हाल नेपाली बजारमा १ जीबीपीएस गतिसम्मको इन्टरनेट उपलब्ध छ । यस्तोमा तपाईंको आवश्यकता कति हो त ? त्यो कनेक्ट हुने डिभाइस र खपत हुने कन्टेन्टका आधारमा निर्धारण गरी प्लान छनोट गर्न सकिन्छ । त्यो सँगै राम्रो इन्टरनेट पनि हेर्न आवश्यक हुन्छ ।

सामान्यतया जुम, गुगल मिटजस्ता भिडिओ कलका लागि ३ देखि ४ एमबीपीएस गतिको इन्टरनेटले एचडी भिडिओ सपोर्ट गर्न सक्छ ।

तर, तपाईं कम्पनीहरूले उपलब्ध गराएको स्क्रिन शेयरिङ, मिडिया शेयरिङजस्ता फिचर प्रयोग गर्नुहुन्छ भने त्यसका लागि थप क्वालिटीको आवश्यकता पर्छ । त्यसैले यस्ता विषयलाई दिमागमा राख्न आवश्यक छ ।

अर्कोतर्फ यदि तपाईं अनलाइन गेम खेल्नुहुन्छ भने यो ब्याण्डविथ खपत गर्ने प्रमुख स्रोत हो भन्ने कुरा बुझ्न आवश्यक छ । तर, सँगै इन्टरनेटको पिङ र ल्याटेन्सीलाई पनि हेर्न आवश्यक हुन्छ ।

किनभने पिङ र ल्याटेन्सीले नै गेम हुनेनहुने निर्धारण गर्छ । गुगललाई आधार मान्ने हो भने ४ के गेम रिजोलुशनका लागि थोरैमा पनि ३५ एमबीपीएस इन्टरनेट आवश्यक पर्छ । भने, १५० मिलिसेकण्ड भन्दा कम पिङ आवश्यक पर्छ ।

इन्टरनेट प्लान खरिद गर्दा हेर्नुपर्ने अको पक्ष भनेको अपलोड स्पिड पनि हो । धरै जसो सेवा प्रदायकले डाउनलोड स्पिड बढी र अपलोड स्पिड कम दिन गरेका छन् । तर, इन्टरनेट प्लान खरिद गर्दा अपलोड स्पिडलाई पनि ध्यानमा राख्न आवश्यक छ । त्यो भएको खण्डमा ठूलो फाइल अपलोड गर्नु परेको खण्डमा तपाईंलाई सहज हुनेछ ।   
https://unelma.io/X156l