सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले ६ महिनामै झण्डै चार अर्ब खुद नाफा कमाएको छ । टेलिकमले सार्वजनिक गरेको पछिल्लाे वित्तीय प्रतिवेदन अनुसार यो अवधिमा कम्पनीले तीन अर्ब ८९ करोड ७८ लाख ७५ हजार रूपैयाँ मुनाफा कमाएको हो ।

यो गत आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधि (पुस मसान्त) सम्मको खुद मुनाफाभन्दा १८.४९ प्रतिशत अर्थात् ६० करोड ८४ लाख ८१ हजार रुपैयाँ बढी हो । कम्पनीले गत आवको सुरुको ६ महिनासम्म तीन अर्ब २८ करोड ९३ लाख ९४ हजार मुनाफा कमाएको थियो ।

टेलिकमले सञ्चालन आयतर्फ चालू आवको दोस्रो त्रैमासिकसम्म रु. १९ अर्ब २० करोड ७२ लाख १६ हजार आम्दानी गरेको छ । गत आवको सोही अवधिसम्म कम्पनीले १७ अर्ब ७२ करोड ४९ लाख १३ हजार आम्दानी गरेको थियो । सञ्चालन आयमा यसपटक एक अर्ब ४८ करोड २३ लाख ३ हजार (अर्थात ८.३६ प्रतिशत) ले वृद्धि भएको टेलिकमले जनाएकाे छ ।

कम्पनीले चालू आवको दोस्रो त्रैमासिक अवधिमा मात्रै सञ्चालन आयतर्फ नौ अर्ब ४३ करोड १९ लाख २३ हजार आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले नौ अर्ब ८ करोड ९५ लाख ७३ हजार आम्दानी गरेको थियो । टेलिकमले याे शीर्षकमा गत आवकाे साेही अवधिभन्दा ३४ करोड २३ लाख ४९ हजार (३.७७ प्रतिशत) बढी आम्दानी गरेको छ ।

चालू आवको दोस्रो त्रैमासिक अवधिसम्म कम्पनीको कूल आय २१ अर्ब ९८ करोड ९१ लाख ८८ हजार पुगेको छ । गत आवको सोही अवधिमा कूल आय रु. २० अर्ब ५७ करोड ५९ लाख २५ हजार रहेको थियो । यसपटक एक अर्ब ४१ करोड ३२ लाख ६३ हजार (अर्थात, ६.८७ प्रतिशत) ले वृद्धि भएको हो ।
https://unelma.io/al23X