आजदेखि नागरिक एपबाटै ब्लुबुक नवीकरण गर्न सकिने भएको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भुक्तानी सेवाप्रदायकलाई स्वीकृति प्रदान गरेसँगै ब्लुबुक नवीकरण अनलाइनबाटै गर्न मिल्ने भएको हो ।

यातायात व्यवस्था सेवा कार्यालय र यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमतिपत्रहरूबाट यातायात क्षेत्रको राजस्व संकलन गर्न ग्लोबल आईएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरिएको छ ।

ती बैंकबाट राजस्व हिसाब मिलान गर्नेगरी ई-सेवा (फोन पे प्रालि) र खल्ती (स्प्यारो पे प्रालि) को मोबाइल वालेटलाई यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) मा आवद्ध गरिएको छ ।

त्यसै आधारमा सवारीसाधन कर र नवीकरण शुल्क संकलन गर्न श्रम, रोजगार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरिय निर्णयका आधारमा ई-सेवा र खल्तीलाई स्वीकृति प्रदान गरेको हो । त्यसो त नागरिक एपमा बागमती प्रदेश सरकारको यातायात व्यवस्थापन सूचना प्रणाली यस अघि नै आवद्ध भइसकेको छ ।

जसबाट सवारी करको विवरण र ब्लुबुक नवीकरणको अवस्थाको विषयमा जानकारी लिन सकिन्छ । तर भुक्तानीका लागि डिजिटल वालेटले स्वीकृति नपाएका कारण नागरिक एपले ब्लुबुक नवीकरण सेवा दिन सकेको थिएन ।

अब भने ई-सेवा र खल्तीले प्रदेश सरकारबाट त्यसको स्वीकृति पाएसँगै नागरिक एपबाटै ब्लुबुक नवीकरण गर्न सकिने भएको हो । त्यसो त सोझै प्रदेश सरकारको टीएमआईएस प्रणालीको वेबसाइटमा गएर समेत यो सेवा लिन सकिन्छ ।

नागरिक एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।
https://unelma.io/qVzDA