तपाईँले कहिल्यै सोच्नुभएको छ, अरु कम्पनीको मोबाइललाई फोन मात्रै भन्ने तर एप्पलको मोबाइललाई चाहिँ आईफोन किन भनिन्छ होला ? त्यति मात्र होइन, एप्पलका हरेक उत्पादन अगाडि ‘आई’ अक्षर आउँछ ।

जस्तो कि आईम्याक, आईप्याड, आईपड, आईक्लाउड, आईओएस यस्तैयस्तै । विगत तीन दशकमा एप्पलले सुरुमा ‘आई’ राखेर आफ्ना करिब २३ वटा उत्पादनको नामाकरण गरिसकेको छ । आखिर के हो त यो ‘आई’ को पुरा रूप ?

आज हामी तपाईँलाई आईफोनको ‘आई’ को विषयमा बताउँदैछौँ । एप्पल कम्पनी इकोसिस्टम (पारिस्थितिक पद्धति) मा काम गर्ने कम्पनी हो । यसका हरेक उत्पादनहरू एकअर्कासँग गाँसिएको हुन्छन् ।

यही इकोसिस्टमको उद्देश्य अनुरूप एप्पलका अन्य उत्पादनहरूसँग नाम गाँस्नको लागि कम्पनीको स्मार्टफोनलाई पनि आईफोन भनेर नाम दिइएको हो ।

नामको अगाडि ‘आई’ भएका सबै उत्पादनहरूको सुरुवात एप्पलको ल्यापटप ‘आईम्याक’ बाट हुन्छ । सन् १९९८ मा आईम्याक सार्वजनिक भएको थियो । जसलाई सजिलै इन्टरनेटमा जोड्न सकिन्थ्यो ।

एप्पलको नयाँ ल्यापटपको यही विशेषतालाई दर्शाउन यसको ल्यापटपको नाम ‘म्याक’ को अगाडि ‘आई’ थपियो । यसै कारणले इन्टरनेटको छोटो रूप हो ‘आई’ । जसलाई एप्पलले अङ्ग्रेजीको सानो अक्षरको रुपमा अगाडि बढायो ।

यसरी एप्पलको कम्प्युटरको पूर्ण रूप ‘म्याकिन्टोस’ र ‘इन्टरनेट’ को अंग्रेजी नामको पहिलो शब्द ‘आई’ लाई मिलाएर आईम्याक नामाकरण गरियो । अहिलेको समयमा इन्टरनेटको पहुँच निकै सहज भएकोले यो कुरा सामान्य लाग्न सक्छ ।

तर सन् १९९८ को दशकमा इन्टरनेट सहजै प्राप्त गर्न सकिने कम्प्युटर बजारमा सार्वजनिक हुनु भनेको धेरै ठूलो कुरा थियो । तर ‘आई’ले इन्टरनेटलाई मात्र प्रतिनिधित्व गर्दैन । यसले अन्य शब्दहरूको पनि प्रतिनिधित्व गर्छ ।

तत्कालीन समयमा आईम्याक सार्वजनिक हुँदा उक्त ‘आई’ भन्ने अक्षरले अन्य कुरालाई पनि प्रतिनिधित्व गर्छ भन्ने कुरा कम्पनीका संस्थापक स्टिभ जब्सले बताएका थिए ।

यसमा ‘आई’ ले इन्टरनेट सँगै ‘इन्डिभिजुअल’ अर्थात व्यक्तिगत, ‘इन्स्ट्रक्ट’ (निर्देशन), ‘इन्फर्म’ (सूचित गराउनु) का साथै ‘इन्सपायर’ (प्रेरित गर्नु) पनि हो । यसरी एप्पलले इन्टरनेटलाई जोडेर आईम्याक नाम राखेपछि अन्य उत्पादनहरूमा पनि सोही नाम जोड्दै लगियो ।

त्यसैले अन्य उत्पादनको हकमा पनि ‘आई’ले इन्टरनेट मात्र नभई प्रयोगकर्ताले चाहने हरेक शब्दलाई आफ्नो हिसाबले जोड्न सकुन् र उत्पादनको स्वामित्वमा आफ्नो अधिकार महसुस गरून् भनेर ‘आई’ को अर्थ जुनसुकै पनि हुनेसक्ने उनले बताएका थिए । यसरी एप्पलका हरेक उत्पादनहरूमा आज ‘आई’ जोडिएको छ ।
https://unelma.io/2MWFC