एप्पलले २०२२ को आफ्नो पहिलो कार्यक्रम यही मार्च ८ अर्थात् मंगलबार आयोजना गर्ने भएको छ । प्रायः सेप्टेम्बर र अक्टोबर महिना जस्तो मार्च महिनाका कार्यक्रम त्यति रोचक हुने गरेका छैनन् ।

तर यस पटक भने एप्पलले आफ्नो अहिलेसम्मकै सस्तो फोन सार्वजनिक गर्ने चर्चा बजारमा निकै चलेको छ । त्यसैले पनि यस पटकको मार्च इभेन्ट विशेष हुनसक्छ ।

यस वर्षको एप्पलको पहिलो इभेन्टमा आईफोन एसई थ्री, नयाँ आईप्याड एयर र एप्पलको नयाँ सिलिकन म्याक सार्वजनिक हुने बताइएको छ । आज हामी तपाईँलाई मङ्गलबारको कार्यक्रममा सार्वजनिक हुनसक्ने सम्भावित उत्पादनहरू बताउँदै छौँ ।

 

आईफोन एसई फाइभजी

 

यस वर्ष सार्वजनिक हुने आईफोन एसई र सन् २०२० मा सार्वजनिक भएको आईफोन एसईबीच धेरै भिन्नता नहुने बताइएको छ । आईफोन एसई आईफोन एटपछि सार्वजनिक गरिएको फोन हो ।

 

जसमा ४.७ इन्चको एलसीडी डिस्प्ले, धेरै बेजल्स, टच आईडी, होम बटम जस्ता फिचरहरू रहेका छन् । यस पटक पनि आईफोन एसईमा फेसआईडी फिचर उपलब्ध हुनेछैन ।

ए १५ चिपमा आधारित हुने यो फोन ६४ जीबी, १२८ जीबी र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । यो फोन एप्पलको अहिले सम्मकै सस्तो फोन हुने बताइएको छ ।

आईप्याड एयर

मार्च ८ इभेन्टको अर्को आकर्षण हुनेछ, आईप्याड एयरको नयाँ भर्सन । आईफोन एसईमा जस्तै यसको डिजाइनमा केही नयाँ परिवर्तन भने हुनेछैन । यद्यपि यो नयाँ रङ्गहरूमा सार्वजनिक हुने अनुमान छ ।

एप्पलले आईप्याड एयरलाई पनि ए१५ चिपमा अपग्रेड गर्दैछ । साथै यसमा फाइभजी नेटवर्कको सपोर्ट दिइएको छ । यसको मूल्य ५९९ अमेरिकी डलर हुने अनुमान छ ।

म्याक मिनी

एम १ चिप सहित यस पटक एप्पलले म्याकको मिनी भर्सन पनि सार्वजनिक गर्ने बताइएको छ । म्याक मिनीमा एम १ प्रो  र एम१ म्याक्स चिप प्रयोग गरिने बताइएको छ ।

जसमा १० कोर सीपीयू, आठ हाई पावर कोर र दुई हाइ इफिसियन्सी कोरहरू उपलब्ध हुनेछन् । प्रो चिपले ३२ जीबीसम्मको र्‍याम सपोर्ट गर्छ भने एम१ म्याक्सले ६४ जीबी सम्मको र्‍याम सपोर्ट गर्न सक्छ । यो पटकको म्याक मिनी नयाँ रङ्ग र नयाँ डिजाइनमा उपलब्ध हुने बताइएको छ ।
१३ इन्चको म्याकबुक प्रो

बजारमा चलिरहेका चर्चा अनुसार यस पटक एप्पलले १३ इन्चको म्याकबुक प्रोको अपडेटेड भर्सन पनि सार्वजनिक गर्दैछ । यसमा एप्पलले एम २ चिप प्रयोग गर्ने बताइए पनि अहिलेसम्म यस विषयमा कुनै निश्चित कुरा भने बाहिरिसकेको छैन ।

यो पटक एप्पलले १३ इन्चको म्याकबुक प्रोमा १२० हर्जको रिफ्रेश रेट उपलब्ध गराउने पनि बताइएको छ । यद्यपि यस विषयमा धेरै जानकारी भने बाहिरिएको छैन ।