विश्वमा सबैभन्दा बढी प्रयोग हुने इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएपले एन्ड्रोइड प्रयोगकर्ताका लागि नयाँ फिचर उपलब्ध गराउने भएको छ ।

लामो समयदेखि आईओएस भर्सनमा उपलब्ध ‘ब्लर टुल’ अब एन्ड्रोइड प्रयोगकर्तालाई समेत उपलब्ध गराउने भएको हो । कम्पनीले मिडिया इडिटरका लागि आईओएसमा यो टुल उपलब्ध गराएको थियो ।

अब भने कम्पनीले एन्ड्रोइड प्रयोगकर्तालाई पनि यो फिचर उपलब्ध गराउने तयारी गरेको छ ।

ह्वाट्सएपको बेटा भर्सनबारे जानकारी दिने ‘डब्लूए बेटा इन्फो’ का अनुसार ह्वाट्सएपले हालै जारी गरेको बेटा भर्सन २.२२.७.१ मा ‘ब्लर टुल’ फेला परेको छ ।

तर, त्यो प्रयोगकर्तालाई उपलब्ध गराउने भन्दा पनि परीक्षणका लागि राखिएको बताइएको छ । त्यो हुँदा नयाँ भर्सनको एप डाउनलोड गर्दा समेत प्रयोगकर्ताले उक्त टुल पाउने छैनन् ।

प्रयोगकर्तामाझ यो फिचर कहिलेबाट उपलब्ध हुनेछ भन्ने विषयमा भने कुनै जानकारी उपलब्ध छैन । ह्वाट्सएपको आगामी भर्सनमा याे फिचर समावेश हुने आँकलन गर्न सकिन्छ ।

यो टुल मार्फत प्रयोगकर्ताले अरुलाई कुनै पनि मिडिया फाइल पठाउनुअघि फोटोमा भएका अनावश्यक विषयलाई ब्लर गरेर पठाउन सकिन्छ ।
https://unelma.io/XnmQ