गुगलले साइबर सुरक्षा कम्पनी म्यान्डियन्ट खरिद गर्ने भएको छ । आफ्नो क्लाउड कम्प्युटिङलाई अझ सुरक्षित राख्न गुगलले ५.४ अर्ब डलर, अर्थात ६ खर्ब ६६ अर्ब रुपैयाँमा म्यान्डियन्ट खरिद गर्न लागेको हो ।

प्रतिशेयर २३ डलरका दरले उक्त कम्पनी खरिद गर्ने निर्णय भएको गुगलले जानकारी दिएको छ । म्यान्डियन्ट खरिदको विषय नियामकबाट स्वीकृत भएमा यो गुगलको दोस्रो ठूलो लगानी हुनेछ ।

यसअघि सन् २०१२ मा कम्पनीले १२.२ अर्ब डलरमा ‘मोटोरोला मोबिलिटी’ खरिद गरेको थियो । पछि गुगलले सन् २०१४ मा २.९ अर्ब डलरमा यो कम्पनी लेनोभोलाई बिक्री गरेको थियो ।

गुगलको अर्काे ठूलो लगानीको रुपमा स्मार्ट होम निर्माता ‘नेस्ट’ लाई लिइन्छ । सन् २०१४ मा उसले नेस्टलाई ३.२ अर्ब डलरमा खरिद गरेको थियो ।

यो हिसाबले यदि नियामकबाट स्वीकृत भएको खण्डमा म्यान्डियन्ट गुगलको दोस्रो ठूलो लगानी हुनेछ ।

गुगल क्लाउड कम्प्युटिङ डिभिजन अन्तर्गत रहने गरी कम्पनीले यसलाई खरिद गर्ने तयारी गरेको हो । पछिल्लो समय क्लाउड सर्भिस विस्तारमा ठूलो लगानी गरिरहेको गुगलले त्यसको सुरक्षाका लागि म्यान्डियन्ट खरिद गर्ने तयारी गरेको जनाइएको छ ।

त्यो भन्दा पनि कम्पनीलाई क्लाउड बिजनेशमा माइक्रोसफ्ट र अमेजनसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । त्यो हुँदा पनि ग्राहकको सुरक्षालाई कम्पनीले महत्वका साथ हेरेकाे विश्लेषण गरिएकाे छ ।
https://unelma.io/tFAlF