सरकारले अहिले देशव्यापी रूपमा राष्ट्रिय परिचयपत्रका लागि नागरिकको विवरण संकलन गरिरहेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार हरेक नागरिकले यस्तो परिचयपत्र अनिवार्य बनाउनुपर्छ ।

पछि यही परिचयपत्रका आधारमा विभिन्न सरकारी तथा अन्य सेवा लिन मिल्ने बताइएको छ । तर भिडभाड र समय अभावका कारण कतिपय सेवाग्राहीले सही विवरण पेश नगरिकनै राष्ट्रिय परिचयपत्र नम्बर लिएको पाइएको छ ।

पछिल्लाे समय ई-पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य बनाइएकाे छ । तर कतिपय नागरिकले सही विवरण समावेश नगरिकनै यस्ताे नम्बर लिने गरेकाे पाइएकाे छ ।

विशेषगरी बाहिरी जिल्लाबाट काठमाडौं आएका नागरिकले सक्कल कागजात नहुँदा यसरी झुठो विवरण दिएर राष्ट्रिय परिचयपत्र नम्बर लिने गरेका छन् ।

सक्कल कागजात लिन टाढा भएको र समयको कमीले विवाहित हुँदाहुँदै पनि केही नागरिकले अविवाहित भएको विवरण टिपाउने गरेका छन् ।

राष्ट्रिय परिचयपत्रका लागि सक्कली नागरिकताका साथै बसाइँसराई गरेको भए सो सम्बन्धित कागजपत्र आवश्यक पर्छ ।

साथै विवाहित व्यक्तिका लागि नागरिकतामा पति वा पत्नीको नाम नभए विवाह दर्ताको प्रमाणपत्र बुझाउनुपर्ने व्यवस्था छ ।

तर कतिपय सेवाग्राहीले आफूसँग सक्कल विवरण नहुँदा अविवाहित भनेरै राष्ट्रिय परिचयपत्र नम्बर लिइरहेका छन् ।

यसबाट तत्काल ई-पासपोर्ट बनाउने बाटो खुलेपनि भविष्यमा सेवाग्राहीलाई नै कानूनी झमेला पर्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक सुवास ढकाल बताउँछन् ।

‘गलत जानकारी उपलब्ध गराउँदा पछि सच्याउने बेलामा झमेला र सास्तीको शिकार हुनुपर्ने पनि सेवाग्राही नै हुन्,’ ढकालले भने ।

अर्कोतर्फ विवाहको सम्बन्धमा नाता लुकाएको आरोपसमेत लाग्नसक्ने उनको भनाइ छ ।

अहिले व्यक्तिको हरेक विवरण राष्ट्रिय परिचयपत्रमा समावेश गर्ने प्रक्रिया चलिरहेको छ । भविष्यमा यही परिचयपत्र र नम्बरका आधारमा नागरिकले विभिन्न सेवा पाउने बताइएको छ ।

तर झुठो विवरण पेश गर्दा त्यस्ता नागरिक राष्ट्रिय परिचयपत्रबाट लिनसक्ने लाभबाट वञ्चित हुनसक्ने ढकालले बताए । परिचयपत्रमा समावेश हुने जैविक विवरण फरक पर्न गएमा अन्य जानकारी विवादित हुने उनको भनाइ छ ।

‘अहिलेका लागि नागरिकले उपलब्ध गराएको कागजातका आधारमा कार्ड उपलब्ध गराउने हुँदा उक्त जानकारीलाई नै आधिकारिक मान्ने गरिन्छ । नागरिकले जानकारी लुकाएमा अथवा झुठको साहरा लिएमा सेवाग्राहीले नै झमेला बेहोर्नुपर्छ,’ उनले भने ।

राष्ट्रिय परिचयपत्रका लागि के के चाहिन्छ ?

– नेपाली नागरिकताको सक्कल प्रमाणपत्र

– नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेकोमा सो खुल्ने प्रमाणपत्र

– बसाइँसराइ गरेको हकमा सोको सक्कल प्रमाणपत्र

– विवाहितको हकमा नागरिकतामा पति वा पत्नीको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्र वा नाता खुल्ने प्रमाणको सक्कल

– राहदानी लिएकाको हकमा सक्कल राहदानी (सकल संभव भएसम्म)

याे पनि पढ्नुहाेस्: राष्ट्रिय परिचयपत्र के हाे र कसरी लाभ लिने ?

https://unelma.io/bwSu6m