वनप्लसका सह-संस्थापक कार्ल पेईको कम्पनी नथिङको पहिलो स्मार्टफोन यसै अङ्ग्रेजी वर्षको तेस्रो त्रैमासिक अर्थात सेप्टेम्बरसम्ममा सार्वजनिक हुने भएको छ ।

यो फोन सार्वजनिक हुने विषय लामो समयदेखि चर्चामा छ । साथै फोनका फिचर समेत लिक हुन थालेका छन् । यो स्मार्टफोन एउटा कस्टम एन्ड्रोइड भर्सनका साथ आउने र त्यसलाई नथिङ ओएस नाम दिइने बताइएको छ ।

कार्ल पेईले एउटा भर्चुअल किनोट स्पिचमा फोन सार्वजनिक गर्ने विषयको खुलासा समेत गरेका छन् । ‘नथिङ फोन वान’ नाम रहने बताइएको उक्त स्मार्टफोन क्वालकम स्न्यापड्रागन एसओसीमा चल्नेछ ।

बुधबार नथिङको कार्यक्रममा कार्ल पेईले नथिङ फोन वान आगामी समर सिजनमा सार्वजनिक गरिने बताए । उनले बताएको समर सिजन नेपाल वा दक्षिण एसियाको नभई बेलायतको हो ।

जुलाई तथा अगस्टमा उक्त सिजन सुरु हुने गर्दछ ।  यसका लागि कम्पनीले एउटा ट्वीट समेत गरेको छ । जसमा भनिएको छ, ‘तपाईँले अनुमान गर्नु भएको छ र अब तपाईँ जानकार समेत हुन सक्नुहुन्छ । नथिङ फोन वान आधिकारिक रुपमा आउँदैछ ।’

कम्पनीले स्मार्टफोनको विषयमा अपडेट प्राप्त गर्नका लागि साइन गर्न एउटा लिङ्क समेत शेयर गरेको छ । नथिङ फोन वानमा रहने फिचर सम्बन्धी यकिन जानकारी भने आइसकेको छैन । 

https://unelma.io/dSucf