काठमाडौं । गुगलले आफ्ना ३.२ अर्ब क्रोम प्रयोगकर्ताका लागि आपतकालीन सुरक्षा अपडेट ल्याएको छ । सुरक्षा जोखिमलाई सम्बोधन गर्दै गुगलले क्रोमको ९९.०.४८४४.८४ अपडेट ल्याएको हो ।

 

यसअघि पत्ता लागेको ‘जेराे-डे’ सुरक्षा कमजोरीलाई ‘सीभीई-२०२२-१०९६ : टाइप कन्फ्युजन ईन भी८’ को नाम दिइएको थियो, जसको सामाधान नयाँ अपडेटमा गरिएको छ ।

 

समाचारमा जनाइए अनुसार क्रोमको जाभास्क्रिप्ट इन्जिनमा सुरक्षा कमजोरी फेला परेको थियो, जसबाट ह्याकरहरूले प्रयोगकर्ताको ब्राउजरमा आफ्नो कोड इन्जेक्ट गर्न सक्थे ।

 

यस्तो प्रकृतिको सुरक्षा कमजोरी यसअघिका साइबर आक्रमणका घटनामा समेत प्रयोग भएको बताइएको छ । तर कस्ता आक्रमण भए र असर के के पुग्यो भन्ने विषयमा गुगलले केही खुलाएको छैन ।

 

विण्डोज, म्याक र लिनक्स प्रयोगकर्ताका लागि गत शुक्रबारदेखि नयाँ अपडेट दिन सुरू गरिएको छ । आफ्नो वेब ब्राउजरमा यो काेडिङ बग (सुरक्षा कमजोरी) व्यापक रूपमा फैलिएपछि कम्पनीले स्टेबल भर्सनसहितको अपडेट जारी गरेको हो ।

 

त्यसैले सबै क्रोम प्रयोगकर्तालाई आफ्नो ब्राउज अपडेट भएको छ कि छैन सुनिश्चित गर्न गुगलले आग्रह गरेको छ ।

आफ्नो क्रोम सुरक्षित रहेको वा नरहेको जाँच गर्न क्रोमको सेटिङमा गएर ‘हेल्प’ अप्सनमा क्लिक गरेर ‘अबाउट गुगल क्रोम’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।

https://unelma.io/Cfr38