अब चाँडै नै नेटफ्लिक्स, अमेजन प्राइम लगायतका मासिक सब्स्क्रिप्सनमा आधारित सेवा जसरी आईफोन प्रयोग गर्न सकिने भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम ब्लुमबर्गका अनुसार एप्पलले आईफोनमा पनि सब्स्क्रिप्सन योजना ल्याउने तयारी गरेको हो । जसअन्तर्गत प्रयोगकर्तालाई आईफोन खरिद गर्नुभन्दा मासिक शुल्क बुझाउँदा हुने भएको छ ।

यसअघिसम्म आईक्लाउड, एप्पल म्युजिक, एप्पल टिभी तथा फिटनेश सर्भिसलाई मासिक सब्स्क्रिप्सनमा उपलब्ध गराएको कम्पनीले अब भने हार्डवेयर नै त्यसरी उपलब्ध गराउने तयारी गरेको हो ।

यो हुँदा प्रयोगकर्ताले एकै पटक पैसा बुझाउनुको साटो मासिक शुल्क बुझाएर आईफोन चलाउन सक्नेछन् । तर, यसरी चलाउँदा जबसम्म तपाईंले आईफोन चलाउनुहुन्छ, तबसम्म उक्त रकम भुक्तानी गरिराख्नुपर्ने हुन्छ ।

हालसम्म यो योजनाले कसरी काम गर्छ भन्ने विषयमा भने उल्लेख गरिएको छ । तर, पनि कम्पनीले प्रयोगकर्तालाई मासिक शुल्क बुझाउने शर्तमा भाडामा आईफोन उपलब्ध गराएर सम्झौता सकिए पश्चात फिर्ता लिने पनि हुन सक्छ ।

यदि यो भएको खण्डमा विश्वमा बढ्दो विद्युतीय फोहोरलाई कम गर्न निकै मद्दत पुग्ने भन्दै एप्पलको यो कदमलाई स्वागत गर्न सकिने धेरैले बताएका छन् । साथै जो कोहीलाई पनि नयाँ आईफोन प्रयोग गर्न सहज हुने अपेक्षा गरिएको छ ।