काठमाडौं । ग्लोबल आईएमई बैंकले नेपाल र भारतमा रहेका आफ्ना ग्राहकलाई भारतपे, पेटीएम र गुगल पेमा कारोबार गर्ने सुविधा उपलब्ध गराउने भएको छ ।

क्यूआरमार्फत भुक्तानी गर्न मिल्ने गरी बैंकले पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रालि) सँग सम्झौता गरेको हो । सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र पेमेन्ट नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकको मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोग गरी भारतमा सामान खरिद गर्दा क्यूआर मार्फत भारतपे, पेटीएम, गुगल पे लगायतका विभिन्न भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न सकिने जनाइएको छ ।

सेवा सञ्चालनमा आएपश्चात यस सुविधाबाट नेपाल र भारतबीचको क्रस बोर्डर (सीमा वारपार) भुक्तानी सम्भव हुने जनाइएको छ । जसमार्फ भारतपे, पेटिएम, गुगल पे आदिबाट नेपाली र भारतीय व्यापारीबीच क्युआर पेमेन्ट मार्फत भुक्तानी गरी व्यापारिक कारोबार गर्न सकिने उल्लेख छ ।

साथै, बैंकका ग्राहकहरूले पनि भारतीय व्यापारीलाई यसै सुविधाको प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् । त्यसैगरी, ग्राहकले भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी सेवा प्रदायकबाट ग्लोबल आइएमई बैंकको खातामा रकम स्थानान्तरण गर्न पनि सक्ने उल्लेख छ ।

https://unelma.io/R3y2W