नेपाल दूरसञ्चार प्राधिकरणले वाई-फाईको अनुगमन गर्ने भएको छ । यसअन्तर्गत सेवा प्रदायकहरुले विभिन्न स्थानमा निःशुल्क रुपमा उपलब्ध गराएको वाई-फाईको अनुगमन हुनेछ ।

त्यसका लागि प्राधिकरणले परामर्शदाता छनोटको काम अघि बढाएको छ । केही समयअघि प्राधिकरणले राष्ट्रिय रुपमा वाई-फाई अनुगमनका लागि परामर्शदाताबाट आवेदन माग गरेको थियो ।

त्यसैमा आएका आवेदनबाट पहिलो चरणमा प्राधिकरणले पाँच कम्पनी छनोट गरेको छ । छनोट भएका कम्पनीमा ग्रीन टेक नेपाल, मालाकाई मेखी टेक्नोलोजी एण्ड सप्लायर्स, इन्क्लुसिभ एभ्रेस्ट (जेभीमा महारुद्र सिनर्जी), ट्यान्ज्यान्ट कन्सलट्यान्ट ग्रुप एण्ड सप्लायर्स रहेका छन् ।

 

छनोट भएको यी कम्पनीबाट आर्थिक र प्राविधिक प्रस्ताव माग गरी अन्तिम चरणमा एउटा कम्पनी छनोट गरिने छ ।

छनोट भएको कम्पनीले सेवा प्रदायकले सार्वजनिक स्थानमा उपलब्ध गराएको निःशुल्क वाई-फाईको अनुगमन गर्नेछ ।

‘कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको वाई-फाई हट्स्पट अपरेसन विनियमावली अनुसार काम मापदण्ड पुरा भएको नभएको अनुगमन गर्नेछ,’ प्राधिकरणका निर्देशक विजयकुमार रोयले भने, ‘अनुगमनको क्रममा मापदण्ड पुरा नगरेको खण्डमा आवश्यक कारबाही हुनेछ ।’

https://unelma.io/bZfID