स्याङ्जा : नागरिकता बनाउनका लागि किर्ते सिफारिस गरेको आरोपमा आँधीखोला गाउँपालिका-३ का वडाध्यक्ष र सचिव लगायत ५ जना पक्राउ परेका छन्।

 

नेपाली नागरिकताका लागि झुटा विवरण सिफारिस गरेको भन्दै स्थानीयले कारबाहीको माग गरेपछि वडाध्यक्ष विष्णुबहादुर खत्री, सचिव बालकृष्ण शर्मा, सोही वडाका नवराज पौडेल, सीता पौडेल र कुश्माका सोनु पौडेल भन्ने सोनु अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।

झुटो काममा संलग्न भएको भन्दै कारबाहीको माग गरी जिल्ला प्रशासन कार्यालय स्याङ्जामा स्थानीयले उजुरी गरेपछि यो घटना बाहिरिएको हो। पर्वतको कुश्मा नगरपालिका-२ बस्ने कृष्ण अधिकारी र डोम अधिकारीका छोरी सोनु अधिकारीले स्याङ्जाको आँधिखोला गाउँपालिका-३ बस्ने कृष्णप्रसाद पौडेल र सीता पौडेलको छोरी बनेर वंशजको आधारमा नागरिकता लिएको नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। 

२० वर्षीया सोनुले यही चैत १ गते जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएकी छन्। नागरिकता बनाउन सहयोग गर्ने वडा अध्यक्ष खत्री, सचिव शर्मासहित पाँचै जनालाई झुटा विवरण पेश गरी नागरिता बनाएको मुद्धा दर्ता गरिएको छ। बिहीबार साँझ म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अधिकारीको भनाइ छ।  
 https://unelma.io/44xm0