बैंक तथा वित्तीय संस्था डिजिटलाइज हुने क्रम तीव्र रूपमा अघि बढेको छ । पहिले चेकबुकबाट मात्र नगद निकाल्न सकिने व्यवस्था थियो भने त्यो सेवा परिष्कृत हुँदै जाँदा एटीएम प्रणाली सुरु भयो ।

त्यस्तै अब बैंकबाट क्यूआर कोड स्क्यान गरी नगद निकाल्न सकिने भएको छ । पछिल्लो समय यस्तो सेवा नेपालका अधिकांश बैंकहरुले सञ्चालनमा ल्याएका छन् ।

क्यूआर कोडको माध्यमबाट नगद निकाल्न ग्राहक आफ्नो खाता भएको बैंकमा जानुपर्छ । टेलरमा आफ्नो मोबाइल बैंकिङ एपबाट क्यूआर स्क्यान गरी नगद निकाल्न सकिने सुविधा दिइएकाे छ ।

ग्राहकले निकाल्न चाहेको रकम सो टेलरमा बस्ने कर्मचारीले कम्प्युटरबाट स्वीकृत गरी ग्राहकलाई नगद दिनेछन् । यसले गर्दा बैंकमा एटीएम कार्ड वा चेक नलगी नगद निकाल्न सकिन्छ ।

नेपाल राष्ट्र बैंकले प्रत्येक बैंकलाई क्यूआर कोडका माध्यमबाट दिनमा बढीमा दुई लाख नगद दिने मिल्ने व्यवस्था ल्याएको छ भने महिनामा १० लाख नगद दिन सक्नेछन् । दैनिक नगद निकाल्ने सन्दर्भमा भने सबै बैंकका आ-आफ्नै नियम छन् ।

टेकपानासँग कुरा गर्दै नबिल डिजी बैंक (नबिल बैंक) का प्रमुख निरज शर्माले बैंकमा उपलब्ध भएको क्यूआर कोड स्क्यान सेवाले ग्राहकको चेक वा एटीएम बिर्सिएको वा हराएको खण्डमा ग्राहकले सहजै नगद निकाल्न सक्ने बताए ।

कतिपय अवस्थामा बैंकको एटीएम मसिनले काम गर्दैन भने कतिपय अवस्थाममा ग्राहकको एटिएम कार्डमा समस्या आएको हुनसक्छ । कतिपय अवस्थामा आफ्नो खाता भएको बैंकबाट चेक प्रयोग गरी नगद निकाल्न जाँदा हस्ताक्षर नमिल्ने हुनसक्छ ।

नगद तुरून्त आवश्यकता परेको अवस्थामा ग्राहकले सहजै क्यूआर कोड स्क्यान गरी केही मिनेटमै नगद निकाल्न सक्छन् । हाल आफूले जुन बैंकको मोबाइल बैंकिङ सेवा प्रयोग गरेको छ, त्यसैबाट मात्र क्यूआर कोड स्क्यान गरी नगद निकाल्न सक्नेछन् ।

शर्माले भने, ‘ग्राहकले जुनसुकै बैंकबाट केही शुल्क तिरी क्यूआर कोड स्क्यानबाट नगद झिक्न सक्ने व्यवस्थाका लागि राष्ट्र बैंकसँग पहल गरिरहेका छौं ।’