हामीले आफ्नो घर वा संस्थामा राखेको वाई-फाईको पासवर्ड क्यूआर कोडको माध्यमबाट सहजै अरूलाई शेयर गर्न सक्छौं । आज हामी वेबसाइटको माध्यमबाट वाई-फाई पासवर्डको क्यूआर कसरी बनाउन सकिन्छ भन्ने विषयमा चर्चा गर्छौं ।

विशेषगरी वाई-फाई पासवर्डको क्यूआर कोड ठूला-ठूला संस्थालाई धेरै आवश्यक पर्छ । कतिपय अवस्थामा कोही आफन्त घरमा आउँदा सोझै वाई-फाईको पासवर्ड माग्न असहज मान्छन् ।

त्यस्तो अवस्थामा घरभित्र कतै देखिने ठाउँमा वाई-फाई पासवर्डको क्यूआर प्रिन्ट टाँसेर राख्न सक्छौँ । अहिलेका प्रायः फोनमा क्यूआर कोड त्यहीबाट सहजै क्रियट गर्न सकिन्छ ।

सबैभन्दा पहिले वाई-फाई नेटवर्कसँग फोन कनेक्ट भएको हुनुपर्छ । यदि त्यो फोनमा क्यूआर कोड जेनेरेट हुने सिस्टम छ भने वाई-फाईको नेटवर्कको नामको तल ट्याप टु शेयर पासवर्ड (Tap to share password) लेखिएको हुन्छ ।

त्यसमा ट्याप गर्‍यो भने क्यूआर कोड देखिन्छ । त्यसमा देखिएको क्यूआर कोडलाई अन्य फोनको क्यूआर कोड स्क्यानरबाट स्क्यान गरी नेटवर्कमा कनेक्ट गर्न सकिन्छ ।

त्यस्तै केही फोनमा कनेक्ट भइसकेको वाई-फाईको क्यूआर कोड हेर्न सो नाममा ट्याप गरी भित्र सेटिङमा हेर्न सकिन्छ । विन्डोज प्रयोगकर्ता वा केही पुरानो जेनेरेसनका फोनमा भने क्यूआर कोडको सिस्टम  हुँदैन ।

यदि तपाईंको डिभाइसमा क्यूआर कोडको विकल्प छैन भने द नेक्सट  वेबले उपलब्ध गराएको यो लिंकमा जानुहोस् । त्यसमा गइसकेपछि नयाँ इन्टरफेस खुल्छ ।

त्यहाँ भएको एसएसआइडी (SSID) मा तपाईंको वाई-फाईको नाम टाइप गर्नुहोस् । त्यसपछि इनक्रिप्सनमा (Encryption) तपाईंको वाई-फाई कुन प्रकारको हो त्यो छान्न पर्ने हुन्छ ।

तपाईंको वाई-फाई नेटवर्क डिफल्ट रूपमा नै त्यहाँ हुने भएकाले त्यसलाई केही गर्न पर्दैन । त्यसपछिको अन्तिम अप्सनमा सो नेटवर्कको पासवर्ड टाइप गर्नुपर्ने हुन्छ ।

त्यसपछि ‘जेनेरेट’ (Generate) मा क्लिक गर्नुभयो भने तपाईंको वाई-फाई पासवर्डको क्यूआर कोड तयार हुन्छ । कोड क्रियट भइसकेपछि त्यहाँ भएको अर्को अप्सन एक्सपोर्ट (export) मा क्लिक गर्नुभयो भने त्यसलाई फोटोका रूपमा आफ्नो डिभाइसमा सेभ गरेर राख्न सक्नुहुन्छ ।

त्यस्तै त्यहाँ भएको अर्को अप्सन प्रिन्टमा क्लिक गर्नुभयो भने क्यूआर कोडलाई प्रिन्ट गरेर निकाल्न पनि सकिन्छ । यसरी तपाईं आफ्नो कम्प्युटर अथवा फोनबाट सहजै वाई-फाई पासवर्डको क्यूआर कोड बनाउन सक्नुहुन्छ ।
https://unelma.io/XvT8l