वर्ष २०७८ मा क्रिप्टोकरेन्सीको चर्चा मज्जाले चुलियो । एकातिर विश्वबजारमा नै क्रिप्टोकरेन्सीको प्रयोगलाई लिएर विवाद चलिरहेको छ भने अर्कोतिर केही देशले यसको प्रयोगलाई वैधानिकता दिइसकेका छन् ।

छिमेकी देश भारतले पनि क्रिप्टोकरेन्सी नियमनका लागि करको दायरा निर्धारण गरेकाे छ । नेपालमा भने क्रिप्टोकरेन्सी प्रतिबन्धित छ ।यो वर्ष नेपालमा क्रिप्टोकरेन्सीको चर्चा निकै नै चल्यो । नेपालभित्र बस्ने नेपालीमात्र नभई, विदेशमा रहेका नेपालीका लागि पनि क्रिप्टोकरेन्सी काराेबारलाई प्रतिबन्ध लगाइयो ।

०७८ भदाै २४ गते नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै कुनै पनि प्रकारका क्रिप्टोकरेन्सी गैरकानूनी रहेको स्पष्ट पारेकाे थियो ।

क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङजस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने गतिविधि भएको भन्दै राष्ट्र बैंकले सम्बन्धित व्यक्तिलाई सचेत रहन पनि आग्रह गरेको थियो ।

नेपालमा रहेका नेपालीलाई मात्र होइन, विदेशमा रहेका नेपालीलाईं पनि क्रिप्टोकरेन्सी प्रयोग नगर्न अथवा क्रिप्टोसँग सम्बन्धित कुनै पनि काममा संलग्न नहुन राष्ट्र बैंकले चेतावनी दियो ।

विदेशमा रहेका नेपालीले क्रिप्टोसँग सम्बन्धित क्षेत्रमा लगानी गर्दा नेपालमा विप्रेषणमा असर परेको राष्ट्र बैंकको बुझाइ छ ।

छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाइ भर्चुअल करेन्सीहरूको कारोबार तथा त्यस्ता करेन्सीसँग सम्बन्धित हाइपर फन्डजस्ता कोषमा लगानी गर्न र जोसियल, क्राउड वान, सोलेम्याक्स ग्लोबलजस्ता पिरामिडमा आधारित नेटवर्किङ मार्केटिङमा आवद्ध हुन प्रोत्साहित गर्ने गराउने कार्य नगर्न राष्ट्र बैंकले आग्रह गरेको थियो ।यस्तो कामले देशको विदेशी मुद्रा संचितिमा पनि असर गरेको राष्ट्र बैंकले बताएको छ । यसलगत्तै राष्ट्र बैंकले माघ ९ गते पुनः सूचना जारी गर्दै क्रिप्टोकरेन्सी तथा भर्चुअल करेन्सीले कानूनी मान्यता नपाएको भन्दै कारोबार नगर्न चेतावनी दिएको थियो । यो वर्ष राष्ट्र बैंकले यस्ता सूचना निकै निकाल्यो ।

राष्ट्र बैंकले बारम्बार जारी गरेको सूचनालाई उधृत गर्दै नबिल बैंक, खल्ती लगायतका बैंक तथा डिजिटल वालेटहरूले पनि आफ्ना ग्राहकलाई कुनै प्रकारको क्रिप्टो सम्बन्धित गतिविधिमा संलग्न नहुन भन्दै सूचना जारी गरेका थिए ।

माघ २५ गते जारी गरिएको सूचनामा राष्ट्र बैंकले क्रिप्टोकरेन्सी माथिको लगानी अत्यधिक जोखिमपूर्ण हुने भन्दै सबैलाई सचेत रहन आग्रह गरेको थियो । मूल्यमा उच्च उतारचढाव हुने देखिएको र विशेष गरेर सट्टेबाजी गर्ने लगायतका लगानीकर्ताले किनबेच गर्ने गरेको भन्दै यसमा गरिने लगानि अत्यधिक जोखिमपूर्ण हुने बताएको थियो ।

त्यसैगरी क्रिप्टोकरेन्सीसँग सम्बन्धित लगानी आतङ्कवादी क्रियाकलापमा प्रयोग हुन सक्ने र आपराधिक गतिविधिबाट प्राप्त सम्पत्ति शुद्धीकरण गर्न तथा कर छली गर्नका लागि प्रयोग गर्ने माध्यम हुने गरेको समेत बताएको थियो ।

क्रिप्टोकरेन्सी एउटा उदीयमान प्रविधि भएको कुरा स्वीकार गरे मुद्राको भविष्य नै यही हो भन्ने यकिन नभएकाले यसमा लगानी गरेर जोखिम लिन नहुने राष्ट्र बैंकको भनाइ छ ।

यो पटक क्रिप्टोकरेन्सी नियन्त्रणमा नेपाल प्रहरी पनि सक्रिय रुपमा अगाडि बढ्यो । माघ ७ गते नेपाल प्रहरीले क्रिप्टोकरेन्सीमा संलग्न रहेको तीन नेपालीलाई पक्राउ गरेको थियो ।

महानगरिय अपराध महाशाखाले पर्वत फलेबास घर भएका २१ वर्षीय राजन भट्टराई, सुनसरी इटहरी घर भएका वर्ष २५ का विशाल श्रेष्ठ र काठमाडौं थापाथलीका २७ वर्षीय दीपेन श्रेष्ठलाई पक्राउ गरेको थियो ।

साथै फागुन २ गते सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गैरकानूनी कारोबारमाथि निगरानी भइरहेको र संलग्न भएको पाइए कडाइका साथ कारबाही गर्ने भन्दै चेतावनी दिएको थियो ।

त्यस्तै यस्तो क्रियाकलापमा संलग्न व्यक्ति वा कुनै संस्थाका बारेमा जानकारी भए प्रहरीलाई सूचना दिन पनि सीआईबीले अनुरोध गरेको थियो ।

अर्थमन्त्रीले समेत अर्थतन्त्रमा ठूलो असर पर्ने भन्दै क्रिप्टोमा संलग्न नहुन आह्वान गरेको थियो । अर्थमन्त्री जनार्दन शर्माले हाइपर फन्ड, बेटिङ, गेमिङ, क्रिप्टोकरेन्सी लगायतका माध्यमबाट मुलुकबाट पूँजी बाहिरिन थालेको भन्दै त्यसलाई कसरी नियमन तथा नियन्त्रण गर्ने भनेर सरकारले विभिन्न काम गरिरहेको बताएका थिए ।

यद्यपि डिजिटल करेन्सी प्रति सकारात्मकता देखाउदैँ अर्थमन्त्री जनार्दन शर्माले देश पूर्णरुपमा डिजिटल कारोबारमा अभ्यस्त भइसकेपछि डिजिटल करेन्सीको बारेमा सोच्न सक्ने अभिव्यक्ति दिएका छन् ।

हुन त क्रिप्टोकरेन्सी नेपालमा मात्र होइन, नेपाल लगायत अन्य आठवटा देशमा कानूनत: पूर्णरुपमा प्रतिबन्ध छ । पूर्णरुपमा प्रतिबन्ध लगाउने देशमा नेपालसहित अल्जेरिया, बङ्गलादेश, चीन, इजिप्ट, इराक, मोरक्को, कतार र ट्युनिसिया रहेका छन् ।

नेपालमा क्रिप्टोकरेन्सीलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको मुद्रा वा विदेशी मुद्रा वा विदेशी विनिमयको मान्यता दिइएको छैन ।

नेपाल राष्ट्र बैंकको सिफारिसअनुसार अर्थ मन्त्रालयले यस्ता प्लेटफर्ममाथि प्रतिबन्ध लगाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई अनुरोध पनि गरेको छ । जसअनुसार मन्त्रालयको आग्रहमा नेपाल दूरसञ्चार प्राधिकरणलाई त्यस्ता वेबसाइट बन्द गर्न लगाएको थियो । 

यही निर्देशन अनुसार प्राधिकरणले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन बेटिङ जस्ता साइट नेपालमा चल्न नपाउने गरी प्रतिबन्ध गर्न इन्टरनेट तथा मोबाइल सेवा प्रदायकलाई फागुन ३० गते पत्राचार गर्दै त्यस्ता साइटहरूमाथि रोक लगाउन निर्देशन दिएको थियो ।

सरकारले क्रिप्टोकरेन्सी, हाइपर फन्ड तथा अनलाइन कारोबारबारे विस्तृत अध्ययन तथा अनुसन्धान गर्न समिति पनि गठन गरेको थियो । सरकारले यो वर्ष आफ्नो तर्फबाट भरपुर प्रयास गरेको छ । राष्ट्र बैंकको बारम्बारको ताकेता, अर्थमन्त्रीको आह्वान, प्रहरीको चेतावनीका बाबजुद नेपालबाट क्रिप्टोकरेन्सीको कारोबारमा कुनै प्रभाव भने पर्न सकेको छैन । 

सिंगापुरको क्रिप्टो पेमेन्ट गेटवे ‘ट्रिपल ए’ ले विश्वभर भएका क्रिप्टोकरेन्सी प्रयोगकर्ताहरूको विषयमा सार्वजनिक भएको प्रतिवेदन अनुसार नेपालको कूल जनसंख्यामध्ये १.४५ प्रतिशतले क्रिप्टोकरेन्सीमा लगानी गरेका छन् ।

यसको अर्थ हो, नेपालमा पनि क्रिप्टोकरेन्सीमा लगानी गर्नेहरूको संख्या करिब चार लाख २४ हजार छ । अर्कोतिर क्रिप्टोकरेन्सी बिटक्वाइनको आधिकारिक श्वेतपत्रलाई दुई युवा कृष्ण दाहाल र विवेक कोइरालाले नेपाली भाषामा अनुवाद गरेका छन् ।

क्रिप्टोकरेन्सीप्रति सरकारको प्रतिबन्ध र बुझाइ सामाजिक सञ्जालमा पनि चर्चाको विषय बन्न पुग्यो । केहीले सरकारको यो कदम ठीक भएको भन्दै प्रोत्साहन गरेका थिए भने अधिकाशंले सरकारले प्रविधिलाई रोक्न खोजेको र ब्लकचेन प्रविधिलाई नबुझेको टिप्पणी गरेका थिए । सरकारले यसलाई रोक्न अथवा नियन्त्रण गर्ने प्रयास गरेपनि यसप्रतिको चासो झन् बढ्दै गएको छ ।

ब्लकचेनमा आधारित डिजिटल मुद्रा क्रिप्टोलाई पूर्णरुपले नियन्त्रण गर्न असम्भव भएपछि धेरै देशले यसलाई वैधानिकता दिँदै नियमन गरिरहेका छन् । विश्वबजारमा ब्लकचेनमा अभ्यस्त हुँदै गर्दा नेपालमा भने यसको भविष्य अझै अन्यौल नै छ ।

नयाँ प्रविधिसँगै कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल तथा अध्ययन हुनु जरुरी देखिन्छ । यसको सकारात्मक र नकारात्मक पक्ष आ-आफ्नो ठाउँमा होल, तर कानूनले प्रतिबन्ध गरेपनि २०७८ सालमा यसको प्रचारका कारण धेरैजना यस विषयमा जानकार भएका छन् ।
https://unelma.io/63X1E