अख्तियार दुरूयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका जनप्रतिनिधिविरूद्ध भ्रष्टाचार मुद्दा लगाएको छ।

गाउँपालिका अध्यक्ष स्वर्गीय नवलसिंह रावल, उपाध्यक्ष पूजादेवी बुढा मगर, वडाअध्यक्षहरू र प्रमुख प्रशासकीय अधिकृत तथा निर्माण व्यवसायीसमेत १४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा लगाइएको अख्तियारले जनाएको छ।

उनीहरूविरूद्ध नदीजन्य पदार्थको ठेक्का लगाउँदा भ्रष्टाचार गरेको आरोप छ।

कैलाली भएर बग्ने पथ्थरगढ, सेतो, सालघारी, गोडे, खण्डे, बादे, साउडे र कान्द्रा खोलाको नदीजन्य पदार्थको विक्रीकर संकलन सम्बन्धी सूचनाको आधारमा बोलपत्र बिक्री भएकोमा मोहन्याल गाउँपालिकाका पदाधिकारी तथा कर्मचारी र न्यू वडिमालिका निर्माण सेवाका ठेकेदारबीच मिलेमतोमा सम्झौता भएको आरोप छ।

यसबारे अनुसन्धान हुँदा मोहन्याल गाउँपालिका कैलालीका तत्कालीन उपाध्यक्ष हाल कार्यबाहक अध्यक्ष पूजादेवी बुढा मगर, वडा नम्बर २ का वडा अध्यक्ष देवीदत्त उपाध्याय, वडा नम्बर १ का वडा अध्यक्ष नविन पुन मगर, वडा नम्बर ७ का वडा अध्यक्ष खरप्रसाद अधिकारी, वडा नम्बर ५ का वडा अध्यक्ष छविलाल हौजाली मगर, वडा नम्बर ४ का वडा अध्यक्ष टेकबहादुर बोगटी, वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम भण्डारी, वडा नम्बर ३ का वडा अध्यक्ष नन्दराम गिरीविरूद्ध भ्रष्टाचार मुद्दा लागेको छ।

साथै गाउँकार्यपालिका सदस्यहरु राधिका दमाई, तारा शर्मा र विशालकुमार पहराई समेतले गाउँ कार्यपालिकाबाट मिनाहाको निर्णय गरी ठेकदारलाई मिनाहा गरेको रकम र सो रकमको मूल्य अभिबृद्धि कर बापतको रकम गरी जम्मा ५४ लाख १८ हजार पाँच सय ६८ रूपैयाँ सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको देखिएकोले मुद्दा लगाइएको अख्तियारको भनाइ छ।

 

उनीहरूविरूद्ध ५४ लाख १८ हजार पाँच सय ६८ रूपैयाँ बिगो कायम गरी सजाय गर्न र जरिवाना लिनसमेत माग गरिएको छ।

यस्तै घरेलु तथा साना उद्योग कार्यालय धनगढी कैलालीमा दर्ता भएको न्यू वडिमालिका निर्माण सेवा र सोका प्रोप्राइटर मकरबहादुर शाहसमेतलाई पनि मुद्दा लागेको छ। 

गाउँपालिका अध्यक्ष स्वर्गीय रावलसमेतले गाउँकार्यपालिकाबाट मिनाहाको निर्णय गरी ठेकेदारलाई मिनाहा गरेको रकम र सो रकमको मूल्य अभिबृद्धि कर बापतको रकम गरी ५४ लाख १८ हजार पाँच सय ६८ बराबर हानीनोक्सानी गरेको देखिएको मुद्दामा उल्लेख छ।

अध्यक्ष रावलको मृत्यु भएको भए पनि मरेको व्यक्तिको हकमा समेत सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानूनी व्यवस्था रहेकोले रावलको मृत्यु भइसके पनि निजको हकमा प्रचलित कानुनबमोजिम निजको हक खाने अंशियारबाट बिगो ५४ लाख १८ हजार पाँच सय ६८ असुलउपर गर्न माग गरिएको छ।

https://unelma.io/huqdH